Comments Add Comment

चुरोटको स्टिकर गुट्खामा टाँसेर राजस्व छली, साढे ८७ करोडको मुद्दा

१२ असार, काठमाडौं । चुरोटको अन्तशुल्क स्टिकर गुट्खामा टाँसेर उद्योगी र व्यवसायीले राजस्व छली गरेको पाइएको छ ।

राजस्व अनुसन्धान विभागले लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योग र त्यसका उत्पादन बिक्री गर्ने व्यापारीविरुद्ध ८७ करोड ५५ लाख रुपैयाँ विगो दाविसहित नक्कली स्टिकर टाँसेर राजस्व छलीको आरोपमा मुद्दा दर्ता गरेको छ ।

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा उक्त कम्पनीका सञ्चालक अब्दुल्लाह मुसलमान उनको उत्पादन बेच्ने व्यापारीविरुद्ध विभागले बुधबार जिल्ला अदालत बारामा मुद्दा दायर गरेको हो ।

लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योगबाट उत्पादन भएको ‘पानकिङ गुट्खा’ साइन ट्रेडर्सले बिक्री गर्ने गरेको थियो । यस टे«डर्सले बालाजी मार्केटिङलाई बिक्री गरेको ४ सय बोरा (३२ हजार पाउच) गुट्खामध्ये २४ हजार पाउचमा अन्तःशुल्क स्टिकर नै टाँस नभएको अवस्थामा फेला परेको छ ।

३ हजार ८ सय ६८ पाउचमा आन्तरिक राजस्व विभागबाट चुरोटमा प्रयोग हुने अन्तशुल्क टाँसेको र बाँकी ४ हजार १ सय ३२ पाउचमा खैनी÷गुट्खा÷पानमसलामा टाँस गर्ने अन्तःशुल्क टिकट टाँस गरेको अवस्थामा फेला परेको विभागले उल्लेख गरेको छ ।

अन्तःशुल्क टिकट टाँस गर्ने तथा गुट्खा निश्कासनका बेला नै अन्तःशुल्क र स्वास्थ्य जोखिम कर भुक्तानी गर्ने दायित्व कम्पनीको रहन्छ । विभागले उद्योगका मालिक अब्दुल्लाह मसुलमानलाई राजस्व चुवाहटको कसुरमा १६ करोड ५३ लाख १६ हजार विगो दावी गर्दै गर्दै विगोको दोब्बरसम्म (३३ करोड ६ लाख ३३ हजार) जरिवाना हुनुपर्ने माग दावी गरी अदालतमा मुद्दा दर्ता गरेको हो ।

उता, साइट ट्रेडर्सलाई गुट्खा बिक्री गर्ने जिम्मा पाएको न्यू पश्चिमाञ्चल ट्रेडर्सले अन्तःशुल्कलगायत नियमित कर नतिरेको र सो वापत राजस्व छली गरेको दावी गर्दै कम्पनीका मालिक मोहम्मद रेहानलाई ११ करोड ४७ लाख ३० हजार विगो र दोब्बर जरिमाना अर्थातः २२ करोड ९४ लाख रुपैयाँ माग दावी गर्दै मुद्दा दायर गरिएको छ ।

आफ्नो फार्मबाट कर विजक जारी गरी अन्तशुल्क टिकट नटाँसेका र नक्कली टिकट टासेका गुट्खा बेच्ने साइन ट्रेडर्सका प्रोप्राइटर भरत अधिकारीविरुद्ध १ करोड १८ लाख रुपैयाँ विगो र दोब्बर जरिवानावापत २ करोड ३६ लाख २२ हजार रुपैयाँ माग दावी गर्दै मुद्दा दर्ता गरिएको विभागले उल्लेख गरेको छ ।

विदेशी मुद्रा अपचलनमा भारतीय महिलाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलनको आरोपमा भारतीय महिला बन्दता सोनीसहित उनलाई सहयोग गर्नेहरुविरुद्ध मुद्दा दर्ता गरेको छ ।

उनी स्रोत नखुलेको १ लाख अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी थिइन् । उनीसहित विदेशी मुद्रा सटहीमा संलग्न नेपालीविरुद्ध कूल १० करोड ७६ लाख रुपैयाँ दाविसहित मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment