Comments Add Comment

राजेशपायल राई : ट्रेन्डिङमा विश्वास छैन !

‘म एकछिन चर्चामा आएर भोलि सेलाउने खालको होइन’

१३ असार, काठमाडौं । ‘राई इज किङ’ अंकित सेतो टिसर्ट र हाफफाइन्ट लगाएर नक्सालस्थित करिब तीनआनामा बनेको पुरानो घरको मर्मत–सम्भारमा खटिएका थिए, चर्चित गायक राजेशपायल राई । उनी कामदारलाई अराइखटाइ गरिरहेका थिए ।

‘आजभोलि तपाईंको गीत–संगीत त्यति सुनिँदैन नि’ यो प्रश्नले उनी नराम्ररी झोंक्किए । प्रश्न अप्रिय लागेछ, तात्तातो जवाफ फर्काइहाले, ‘म हिजोभन्दा आज व्यस्त छु, हिजोभन्दा आज बढी गाइरहेको छु । हिजोभन्दा आज धेरै कन्सर्ट भ्याइरहेको छु । हिजोभन्दा आज बढी कमाइरहेको छु ।’

तर, ‘के यो सबै कुरा तपाईंलाई भन्नुपर्छ र ?’ भन्ने शैलीमा प्रस्तुत भए उनी । ‘म एकछिन चर्चामा आएर भोलि सेलाउने खालको होइन’ उनले थपे ‘संगीतमा मेरो आफ्नै स्थान छ । मलाई कसैले उछिन्छ, ओझेलमा पार्छ भन्ने छैन ।’

पछिल्लोपटक सार्वजनिक आफ्नो एल्बम ‘दर्शन नमस्ते– ४’ निकै लोकप्रिय रहेको बताउँदै राजेशले सुनाए, ‘स्टेज शोमा पनि म उत्तिकै व्यस्त छु । चलचित्रको गीत पनि गाइरहेकै छु । पछिल्लो समयचाहिँ चलचित्र बन्ने क्रम नै घटेको छ । चलचित्रको संख्या घटेपछि गाउने कुरा पनि घटिहाल्छ ।’

‘भर्सटायल गायक’ भनिने राजेश एक समय स्टेजमा पनि धुम मच्चाउँथे । शंकै छैन, उनको आवाजमा जादु छ । बेग्लै झंकार छ । ‘फैलियो माया दुबोसरी’, ‘बसैको हरन, घुम्न जाउ धरान’, ‘दर्शन नमस्ते’ जस्ता दर्जनौं गीत छन्, जसले राजेशपायल राईको गायकीको शक्ति कति छ भन्ने देखाउँछ ।

१३ वर्षमा रेडियो नेपाल छिर्दा

कुरा ०४५ साल तिरको हो । खोटाङमा जन्मिएका राजेशपायल राई ९ कक्षामा पढिरहेका थिए । उनमा त्यो समय नै संगीतको भोक जागिसकेको थियो ।

स्कुल विदा भएका बेला उनी दाइसँग काठमाडौं घुम्न आए । काठमाडौं हेर्नु बाहना मात्रै थियो, मुख्य उद्देश्य त उनलाई ‘रेडियो नेपाल’मा छिरेर ‘भ्वाइस टेस्ट’ दिनु थियो ।

म एकछिन चर्चामा आएर भोलि सेलाउने खालको होइन । मलाई कसैले ओझेलमा पार्छ भन्ने छैन । संगीतको कक्षा नलिई सबैथरि गीत गाउन सक्नु भगवानले दिएको उपहार हो ।

काठमाडौं आएपछि उनी रेडियो नेपालमा गए । तर, १३ वर्षका राजेशलाई सुरुमा रेडियो नेपालभित्र छिर्न दिइएन । कारण, उनी गाउँबाट भर्खर काठमाडौं आएका थिए । ड्रेसअप राम्रो थिएन । उमेर पनि कम थियो । भ्वाइस टेस्ट दिन आएको भन्दा कसैले पत्याएन ।

राजेश सम्झिन्छन्, ‘मेरा बुबाका कारण पाण्डव सुनुवार अंकलसँग चिनजान थियो, उहाँलाई भेट्न आएको भनेर म भित्र गएँ ।’

राजेशले भित्र पुगेपछि सिधै आधुनिक गीतको भ्वाइस टेस्ट दिन फर्म भरे । टेस्ट दिएर फर्किए । राजेश ढुक्क थिए कि, ‘नाम निस्किन्छ ।’

आखिर राजेशको नाम निस्कियो । उनी भन्छन्, ‘म गाउँ फर्किहालें । ६ महिनापछि आएको रिजल्टमा मेरो नाम पनि रहेछ ।’

फेरि उनी काठमाडौं आए र रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराए । गीतको बोल थियो, ‘सम्झनाको कुरा नगर’ ।

दोस्रो गीत एसएलसीपछि रेकर्ड गराए । जुन गीतमा नातिकाजीले संगीत दिएका थिए । तर, नातिकाजीको संगीतमा राजेशले गीत गायो भनेर विश्वास गर्नेहरु कमै थिए । राजेशलाई धेरैले प्रश्न गर्थे, ‘कसरी गाउन पाइस् ?’ उनले उत्तर फर्काउने गर्थे, ‘मैले स्वर सुनाएँ । उहाँलाई मन पर्‍यो । ’

साइकलमा क्यासेट बेच्न हिँड्दा

आइए पढ्दै गर्दा राजेश पायलले ‘फैलियो माया दुबो सुरी’ गीत रेकर्ड गराए, जुन गीत एकदमै हिट भइदियो ।

तर, यो गीत पहिल्यै कुन्ती मोक्तानको स्वरमा रेकर्ड भइसकेको थियो । राजेशलाई गीत मन परेकाले रि(एरेन्ज गरेर रेकर्ड गराए, जहाँ पुरुष स्वर राजेशको रह्यो भने महिला स्वर कुन्ती मोक्तानको रह्यो ।

त्यसबेलाको लोकप्रियता सम्झँदै उनी भन्छन्, ‘त्यसपछि त रेकर्डका लागि पनि अफरहरु आए । स्टेजबाट पनि धेरै अफर आए ।’

राजेश पायलको उचाइले एकाएक आकाश चुम्यो । जताततै राजेशपायल सुनिन थाले । त्यही गीतको सफलतापछि राजेशपायल राईले विदेश भ्रमणको पहिलो अवसर पाए ।
०५२ सालमा राजेशपायलले आफ्नो करिअरको पहिलो एल्मब सार्वजनिक गरे । रेडियो नेपालमा गाएका गीतहरुलाई संकलन गरेर उनले ‘मुर्छना’ नामक एल्बम निकालेका थिए ।

एल्बम निस्किएपछि राजेशले आफैं घरघरमा पुगेर पनि एल्बम बेचे । ‘कम्पनीले एक एल्बम बिक्री हुदाँ जम्मा १ रुपैयाँ ५० पैसा दिन्थ्यो’, राजेश भन्छन्,’ तर मैले १०० रुपैयाँ लिएर घर घरमा पुर्‍याइदिन्थे ।’

उनले ०५४ सालमा पहिलो पटक अशोक शर्माको चलचित्र गरिवमा गीत गाउने अवसर पाए । गीत एकदमै हिट भयो । त्यसपश्चात् उनले पार्श्व संगीतमा फर्केर हेर्न परेन । उनले चलचित्रका गीतहरुमा बढी स्वर दिएका छन् ।

कुनै समय राजेशपायल दिनमै ८/१० वटा गीत रेकर्ड गराउँथे । तर, अहिले त्यो अवस्था छैन । तर, यो कुरालाई राजेशपायल स्वीकार्न तयार छैनन् । ‘अहिले त चलचित्र नै कम बनिरहेका छन् । कहाँबाट गीत गाउनु ?’, उनी भन्छन्, ‘तर, ठूला ब्यानरका चलचित्रहरुमा भने मैले गाइरहेको छु ।’

अहिले संगीतकारहरु आफैंले चलचित्रको गीतहरु गाइरहेकाले पनि आफ्ना गीतहरु कम भएको राजेशले महशुस गरेका छन् । उनी भन्छन्, ‘अहिले त संगीतकार आफैंले गीत गाउन सुरु गर्नुभएको छ । तर, उहाँहरुले गाउनुभएको चलचित्रमा मेरो पनि स्वर हुन्छ नै ।’

अहिले गायकी पेशाबाट आयआर्जन बढेको उनको भनाइ छ । ‘पहिला हप्तामा ५ वटा गाइन्थ्यो भने अहिले महिनामा गाइन्छ । तर, कलेक्सन एल्बमको रेकर्डिङ र स्टेज कार्यक्रमहरु बढेको छ । सर्वाधिक बढी भिसा बोक्ने गायक म नै होला ।’

अहिले राजेशपायल वल्र्ड टुरका क्रममा छन् । अप्रिल १२ बाट सुरु भएको वर्ल्ड टुर तिहारसम्म चल्छ । उनी भन्छन्, ‘५ वटा देशमा गरिसकें । अब युकेको भिसा प्रोसेसमा छु । मेरो सेड्युल तिहारसम्म बुक भइसकेको छ ।’

राजेशले जुन रफ्तारमा काम गरिरहेका छन्, त्यसमा उनी खुसी छन् । नाइजेरिया, रियल मड्रिडजस्ता नेपालीहरु एकदमै कम भएको ठाउँहरुमा पनि पुगेर आफ्नो प्रस्तुती दिन पाएकोमा उनी गर्व गर्छन् ।

दर्शकले राजेश पायलको स्वर धेरै सुनिसके, अब त उनको स्वरको स्वाद पुरानो भएन र ? राजेश यो प्रश्न स्वीकार्न तयार छैनन् । उनी भन्छन्, ‘मेरो स्वाद पुरानो भएको छ जस्तो लाग्दैन । नारायण गोपाल दाइको गीत कहिल्यै पुरानो भएको छ र ?’

ट्रेन्डिङ र सस्तो लोकप्रियतामा विश्वास छैन

अहिलेको लहडमा राजेश पायल राई हिँड्दैनन् । ट्रेन्डिङको कुरामा पनि राजेशलाई उत्ति विश्वास लाग्दैन । अहिले बुस्ट गरेर ट्रेण्डिङमा ल्याउने गरिएको बताउँदै उनले भने, ‘ट्रेण्डिङ भनेको सफलताको मापन होइन । त्यहाँ पैसा तिरेर पनि भिडियो पारिएको हुन्छ, ट्रेन्डिङमा प¥यो भन्दैमा त्यो हिट मान्दिनँ ।’

सस्तो लोकप्रियताका लागि गीतहरु चोर्ने काम भइरहेको राजेशको गुनासो छ । तर, आफू उक्त कुराबाट निकै टाढा रहेको उनी बताउँछन् । आफूले गाएको गीत अरुले कपी गरेको भए पनि आफूले कपी गरेर गाउन नपरेको उनको भनाइ छ ।

राजेशपायल राईलाई ट्रेन्डिङमा खासै विश्वास लाग्दैन । अहिले गीतहरु बुस्ट गरेर ट्रेन्डिङमा ल्याउने गरिएको बताउँदै उनी भन्छन्– ट्रेण्डिङ भनेको सफलताको मापन होइन । त्यहाँ पैसा तिरेर पनि भिडियो पारिएको हुन्छ, ट्रेन्डिङमा पर्‍यो भन्दैमा त्यो हिट मान्दिनँ ।’

अहिलेसम्म राजेश पायलले ८ हजार बढी गीत रेकर्ड गराएका छन् । हरेक गीतमा उनले विधिधता देखाउन खोजेका छन् । उनले पूर्वको मारूनीदेखि पश्चिमको देउडासम्म आफ्नो स्वर दिएका छन् । यस कुरामा उनी आफूलाई भाग्यमानी मान्छन् । ‘मैले नेपाली मात्रै हैन विदेशी पनि धेरैवटा गीतमा स्वर दिएको छु ।’

तर, उनै राजेशपायल संगीतको साधना गर्दैनन् भन्छन् नि ? यो प्रश्नमा उनले भने, ‘सिक्न मन हँुदाहुँदै संगीत सिक्न पाइनँ । अब त सिक्न जान पनि नमिल्ला कि ?’ आफूले कुनै संगीतको कक्षा नलिई सबैथरि गीत गाउन सक्नु भगवानको उपहार भएको उनले बताए ।

‘घर सम्हाल्ने केटी पाइएन’

हामीले विषयान्तर गर्‍यौं । घरजमबारे गरिएको कुराकानीमा उनी अनलाइनखबरसँग खुलेर प्रस्तुत भए ।

सम्भवतः राजेशपायल राईले धेरै सामान गरेको एउटा प्रश्न हुनुपर्छ, ‘किन विवाह नगरेको ?’ उनीसँग यसको रेडिमेड जवाफ छ, ‘अहिलेसम्म पाइएको छैन ।’

दुनियाँमा सबैले विवाहका लागि जोडी पाउँछन्, राजेशपायल राईले किन पाउँदैनन् ? त्यसमाथि उनीसँग नेम र फेम छ । विश्वभरका नेपालीले चिन्छन् । हेर्दा लक्का जवान छन् । धनदौलतकै कुरा गर्ने हो भने नक्सालको घरलाई जोड्दा उनी काठमाडौंमा तीनवटा घरका एक्ला स्वामी हुन् ।

तर, यत्तिका घर सम्हाल्ने जीवनसंगी छैन । नाम छ, दाम छ, ज्यान छ । आखिर जीवनसंगीनी किन पाइएन ?

हुनेवाला जीवनसाथीको मापदण्ड नै नपुगेर पो हो कि ? ‘होइन, होइन’ उनले तुरुन्तै यो अनुमान खारेज गरिदिए । ‘यस्तो, उस्तो, यति पढेकी, यति राम्री, यत्तिका हाइट भएकी भन्ने नै छैन ।’

यति भनेर उनी पुरानै शैलीमा एक राउन्ड गज्जबले हाँसे । ‘हेर्नुहोस्, मैले केटीका लागि क्राइटेरिया तोकेको छैन । चाहे अनपढ होस्, चाहे गरिब होस् । धनी भन्ने त मलाई चाहिँदैन । मैले ऐश्वर्य रायजस्तै खोजेको पनि होइन’ उनी रोकिए ।

प्रश्न उठ्छ, ‘त्यसोभए कस्तो त ?’

‘बुझ्ने हुनुपर्‍यो’ उनले गम्भीरतापूर्वक जवाफ फर्काए, ‘समझदार हुनुपर्छ’ उनले थपे ‘मलाई पनि दिदीहरुले बिहेकै बारेमा भनिरहनुहुन्छ । तर, खै के भएर हो, बिहे गर्ने अवसर नै प्राप्त भएको छैन । मलाई मात्र होइन, अरुलाई पनि यस्तो हुन्छ ? सलमान खानले पनि त बिहे गरेका छैनन् । उनलाई के अपुग छ ? धन भने धन छ, नाम भने नाम छ, मान्छे त्यति ह्यान्डसम छन् । तर, खै त ?’

यद्यपि गायक राजेशले आश्वस्त पार्न खोज्दै भने, ‘अब बिहे गर्ने योजना छ । तर, केटी भेटिएको छैन ।’

मदिराको संगत छुट्यो

राजेशपायल राई विगतमा अलि बढी नै पिउँथे । तर ७/८ वर्षयता मदिराको संगत त्यागेको उनी बताउँछन् । एक समय उनीसँग मदिरा पिउने साथी थिए, गायक खेमराज गुरुङ । जहाँ जाँदा पनि उनीहरु सँगै हुन्थे ।

खेमराज गुरुङसँग बसेर ३ दिन ३ रातसम्म मदिरा पिएको अनुभव राजेशपायलसँग छ । त्योबेला उनीहरुको गफ के भयो, अहिले राजेशलाई याद छैन । तर, त्यो घटनालाई जीवनको अविश्मरणीय क्षण मान्छन् उनी । त्यहाँ ३ दिन ३ रातको बिल उनीहरुले ६० हजारको हाराहारीमा तिरेका थिए ।

एकपटक समय हङकङमा राजेशपायलको शो थियो । त्यहाँ पुगेका राजेशलाई शो सुरु हुनपूर्व एकजनाले मदिरा पिलाए । उनलाई मदिराको मात यति धेरै लाग्यो कि उनले स्टेजमा चढेर गीत गाउन सकेनन् । राजेशकै लागि भनेर कार्यक्रममा आएमा दर्शकहरु निराश भएर फर्किए । यो कुराले राजेशको मनमा झस्का पस्यो । पछि उनले आयोजक तथा दर्शकसँग माफी मागे ।

त्यसैको दोस्रो वर्ष राजेशलाई पुनः हङकङमा बोलाइयो । उक्त कार्यक्रममा भने उनले निकै राम्रोसँग गाए । त्यसयता उनी हङकङ पुगेको २५ चोटि भइसक्यो ।

‘राई इज किङ’

राजेशपालयलाई अचेल ‘राई इज किङ’ भनेर समेत चिन्न थालिएको छ । तर, आफूले स्वघोषित रुपमा यस्तो उपनाम नराखेको उनी बताउँछन् ।

अनलाइनखबरसँगको कुराकानीमा राजेशले भने, ‘अब यो बारे बोल्ने मेरो कुनै शब्द छैन । मलाई यो नाम सरकारले दिएको होइन, यो भनेको मलाई दर्शकहरुले दिनुभएको स्नेह हो । बलिउडमा पनि कतिपय कलाकारहरुलाई ‘निक नेम’ दिइएको छ । त्यस्तै गरी मलाई पनि दिनुभएको हो ।’

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment