Comments Add Comment

नेपाली इन्जिनियरले नै गर्ने भए वाइडबडीको लाइन मर्मत

१३ असार, काठमाडौं । वाइडबडी जहाज ए ३३० को ‘लाइन मर्मत’ नेपाल वायुसेवा निगमका इन्जिनियरहरुले नै गर्ने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेवानिलाई जहाजको इन्जिनियरिङसम्बन्धी सम्पूर्ण काम नेपाली इन्जिनियरबाटै गराउने गरी स्वीकृति दिएको हो । निगमले लामो समयदेखि ‘पार्ट १४५’ का लागि अनुमति दिन प्राधिकरणसँग माग गर्दै आएको थियो । ‘पार्ट १४५’ भन्नाले जहाजको मर्मत सम्भार गर्ने संस्थालाई दिइने एक प्रकारको प्राविधिक स्वीकृति हो ।

निगमका अनुसार अब वाइडबडी जहाज ए ३३० को लाइन मर्मतको काम वायुसेवा निगमकै इन्जिनियरबाट हुने भएको छ । जहाज उड्नु अघि र अवतरणपछि हुने अनुगमन, मर्मत र उडानका लागि दिइने स्वीकृति नै लाइन मर्मत हो ।

अहिले यो काम बीसीटी नामक संयुक्त अधिराज्यको अन्तरराष्ट्रिय संस्थाले गरिरहेको छ । जुलाई २०१९ देखि भने यो काम नेपाली प्राविधिकबाटै हुने भएको छ । यसले यसले निगमको मासिक ५०–६० लाख रुपैयाँँ स्वदेशमै रहने र नेपाली दक्ष जनशक्तिल अवसर पाउने निगमले जनाएको छ ।

वाइडबडीबाहेक न्यारोबडी जहाज ए३२०–२०० मा भने यो काम नेपाली इन्जिनियरबाटै भइरहेको छ ।

त्यसैगरी, पार्ट १४५ अन्तर्गत नै नेवानिले एमए ६० र वाई १२ जहाजको बेस मेन्टिनेन्स (लाइन मर्मतको भन्दा माथिल्लो स्तर) को कामको स्वीकृति समेत नेवानिले पाएको छ ।

यसबाट दुई मोडलका जहाजमा समस्या आउँदा चीनबाट जहाज मर्मत गर्न इन्जिनियर बोलाई राख्नुपर्ने बाध्यताको अन्त्य भएको निगमले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment