Comments Add Comment

तत्काल सुरु नहुने भयो काठमाडौंमा रात्रि बस सेवा

१४ असार, काठमाडौं । काठमाडौंमा तत्कालै ‘रात्री बस सेवा’ सञ्चालनमा नआउने भएको छ । व्यवसायीको विरोधका कारण तत्कालै यात्रु बस सेवा सञ्चालन गर्न नसकिने अवस्था आएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले गत असार १ गतेदेखि रात्री बस सेवा सुरु गर्न सबै तयारी सकाएको थियो । तयसअनुसार रुट र भाडादर समेत तोकिएको थियो । तर, सार्वजनिक यातायातको भाडा बढाउने निर्णय रोक्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएपछि योसँगै रात्री बस चलाउनेसहित मालबाहक सवारीलाई काठमाडौं उपत्याका दिउँसो प्रवेश नदिने निर्णय पनि एकैसाथ स्थगित भएको थियो ।

सरकारी अधिकारीहरुले भने रात्री बस सेवा सुरु नहुनुको दोष व्यवसायीहरुमाथि लगाएको छ । यातायात विभागका महानिर्देशक कुमार दाहाल व्यवसायीहरुले असहयोग गरेका कारण तत्काल रात्रीबस चलाउन नसकिने अवस्था आएको बताए । ‘रात्री बस चलाउँदा व्यासायीहरु आर्थिक रुपमा डुब्नु हुन्छ भन्ने कुरा आयो । हामीलाई कतार जाने अवस्था नबनाइदिनुस् भन्नुभयो,’ उनले भने, ‘यसकौ कारण हामीले अहिले रात्री बस चलाउन सकेनौं ।’

विभागले जेठ ३२ मा सूचना निकालेर १२ वटा कम्पनीलाई १८ रुटमा रात्री बस चलाउन अनुमति दिइएको थियो भने न्युनतम् भाडा २५ रुपैयाँ तोकिएको थियो । साझा, महानगर, रिद्धि सिद्धि, शुभकामना, रचना, मयुर, अन्नपूर्ण, गोकर्णेश्वर र ललितपुर मिनिबस यतायात प्रालिले फरक-फरक रुटमा अनुमति पाएका थिए ।

तर अब यो योजना अनिश्चित भएको छ । ‘विभाग फेरि पनि बस चलाउने वातावरण बनाउन प्रयत्नरत छ,’ दाहालले भने, ‘सबै पक्षको सहयोग मिल्यो भने सम्भव छ ।’

यातायात व्यवसायीहरु भने सरकारले तोक्न खोजेको न्युनतम् २५ रुपैयाँ भाडादरमा बस चलाउन नसकिने बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासंघका महासचिव सरोज सिटौला वैज्ञानिक किसिमको भाडा तय भए रात्री बस सेवा सुरु गर्न सकिने बताउँछन् । ‘कोटेश्वरमा ७ जना यात्रु भेटेको बस महाराजगञ्ज पुग्नुपर्‍यो भने प्रस्तावित भाडादरमा कसरी सम्भव हुन्छ ?’ उनी भन्छन्, ‘राति भौतिकसहित आर्थिक जोखिम लिएर सेवा दिनुपर्छ । त्यसलाई सम्बोधन गरियो भने रात्री बस चल्न सक्छ ।’

काठमाडौंमा अधिकांश रुटमा रातको ८ बजेपछि गाडी पाउन मुस्किल पर्छ । बस छुट्दा चर्को भाडा तिरेर ट्याक्सीमा जानु वा हिडेर जानुको विकल्प छैन । व्यवसायीहरु साविकको भन्दा बढी भाडा लिएर राति १२ बजेसम्म बस चलाउन सहमत पनि थिए तर, सरकार एकाएक आˆनो निर्णयबाट पछि हटेको थियो ।

काठमाडौंमा रात्री बस चलाउने योजना असफल भएको यो पहिलो घटना भने होइन ।

केही समयअघि साझा बसले राति ९ बजे सम्म सेवा दिन सुरु गरेको थियो तर आर्थिक रुपमा फलदायी नभएको भन्दै स्थगन गर्‍यो । यसअघि रात्री बस सेवा पनि सञ्चालन गरिएको थियो । तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को पहलमा ०६९ को भदौमा रात्रीकालिन बस सेवा प्रारम्भ भएको थियो ।

त्यसबेला राति ३ घण्टा गाडी गुडाउन काठमाडौं महानगरपालिकाले यातायात समितिहरुलाई ४५ लाख दिएको थियो । ६ महिनाका लागि १४ वटा बस अनुदान दिएरै चलाइएको थियो । विभिन्न रुटहरु तोकेर बस चलाइए पनि व्यवसायीले अनुदान लिएर केही समयपछि यात्रु नपाएको भन्दै सेवा बन्द गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment