Comments Add Comment

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला…

असार १५ मनाउनेमा रोपाई गर्ने किसानदेखि हिलो खेल्ने युवासम्म

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला

बनाई कुलो लगाई पानी आएर गोडौंला ।

रोपाईंको समयमा ‘किसानको रहर’ शीर्षकमा दैवज्ञराज न्यौपानेले लेखेको यो गीत धेरैले सम्झन्छन् । प्राथमिक विद्यालयको पाठ्यक्रममा समावेश यो गीत धेरै किसानको छोराछोरीले गीतकै रुपमा गाएका छन् । आज असार १५ को दिनमा पनि नेपाली किसानहरुले यो गीतको सम्झना गरेका छन् ।

असार १५ गते राष्ट्रिय धान दिवस धेरै जिल्लामा रोपाई गरेर र हिलो खेलेर मनाइएको छ । किसानहरुले धान फलाउने उद्देश्यले रोपाईं गरेका छन् भने त्यसै रोपाईंमा हिलो खेलेर युवा युवती र बालबालिकाले रमाइलो गरे ।

काठमाडौंको खुमलटारमा आयोजित एक रोपाईंमा धान रोप्नेदेखि हिलो खेलेर रमाइलो गर्नेसम्म भेला भए । महिलाहरु खेतका गरामा लहरै बसेर रोपाई गरिरहेका थिए भने त्यसै गरामा युवायुवती र बालबालिका हिलो खेल्दै थिए । खेत सम्याउने, बेर्ना पुर्‍याउने, धान रोप्ने काममा महिला पुरुषहरु सहभागी थिए । कृषि अनुसन्धान परिषदले मेसिनद्वारा पनि धान रोपेको छ ।

धान दिवसमा यस वर्षको नारा छ ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्युनीकरण ।’नेपालमा वार्षिक प्रतिव्यक्ति चामलको खपत १३८ केजी रहेको छ । जस अनुसार नेपालको जनसंख्यालाई एक वर्षमा ४७.३ लाख टन चामल आवश्यक पर्छ ।

त्यसमध्ये ३२.५ टन नेपालमा नै उत्पादन हुन्छ भने १४.८ टन आयात गर्नुपर्ने सरकारी तथ्यांक छ । धान उत्पादन वृद्धि गरी चामल आयात घटाउन धान खेती हुने क्षेत्रको विस्तार र यान्त्रीकरण गर्नुपर्ने नेपाल कृषि अनुसन्धान परिषद नार्कको भनाइ छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment