Comments Add Comment

त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा सञ्चालन

१५ असार, काठमाडौं । धावनमार्ग पुनस्र्थापना गर्न १४ घण्टामात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ ।

करीव ४० वर्ष पुरानो धावनमार्ग मर्मत गर्न गत १८ चैतदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्र सञ्चालन गरिएको थियो । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द थियो । यस अवधिमा त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण करीव २० प्रतिशतले कटौती भएको थियो ।

आन्तरिक उडानतर्फ लुक्ला उडान रामेछाप सारिएको थियो । वायुसेवा कम्पनीलाई क्षेत्रीय विमानस्थलमै रात्री विसानमार्फत उडान व्यवस्थापन गरिएको थियो ।

सोमबारबाट २१ घण्टा सञ्चालन गर्ने गरी तयारी भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । ‘अहिले धावनमार्गको काम करीब सकिएको छ’, उनले भने, ‘अब ट्याक्सी वे र अन्य काम भने वर्षाको समय सकिएपछि मात्र शुरु हुन्छ ।’

यस अवधिमा पुरानो धावनमार्गको पीच उप्काएर नयाँ बनाइएको छ । अब भने विमानस्थलको क्षमता पनि वृद्धि भएको छ । धावनमार्ग स्तरोन्नति र पुनस्र्थापना भएकाले सबै प्रकारका जहाजको उडान–अवतरण सम्भव हुने विमानस्थल कार्यालयको भनाइ छ ।

दैनिक करीव ४ सय उडान–अवतरण हुने यो विमानस्थल संसारका व्यस्त विमानस्थलमध्ये एक हो । मुख्य पर्यटकीय सिजन र चाडबाडका बेला यो विमानस्थलबाट करीव २ मिनेटमा एक उडान हुन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रत्येक यात्रुबाट उठाउने विमानस्थल शुल्कबाट संकलन भएको रकम धावनमार्ग पुनस्र्थापनामा खर्च गरेको छ । यस आयोजनामा करीव ३ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको छ ।

सन् १९७५ मा निर्माण भएको धावनमार्ग बीचबीचमा पीच टाल्दै सञ्चालन हुँदै आए पनि पहिलो पटक पुरै पीच उप्काएर नयाँ बनाइएको हो । चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यसको जिम्मेवारी पाएको थियो ।

यहाँ ३ हजार ५० मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग रहेको छ । राती ३ बजेसम्म खुल्ने विमानस्थल बिहान ६ बजेटबाटै सञ्चालनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment