Comments Add Comment

इंग्ल्याण्डसँग हार्‍यो भारत, रोहितको शतक र शमीको ५ विकेट ओझेलमा

Photo Credit : ICC

१६ असार, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ ।

यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।

इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो । उसका लागि जोनी बेयरस्टोले १११ रन योगदान गरे । उनी म्यान अफ द म्याच भए ।

यस्तै बेन स्टोक्सले ७९ र जो रुटले ४४ रन बनाए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए ।

३३८ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेट गुमाउँदै ३०६ रन मात्र बनाउन सक्यो । भारतका लागि रोहित शर्माले १०२ र बिराट कोहलीले ६६ रन योगदान गरे । कप्तान बिराट कोहली र रोहित शर्माले दोस्रो विकेटका लागि १३८ रनको साझेदारी गरे ।

रोहित शर्मा । फोटो : आईसीसी

त्यसपछि ऋषभ पन्तले ३२, हार्दिक पाण्ड्याले ४५ र महेन्द्र सिंह धोनीले ४२ रन बनाए । इंग्ल्याण्डका लागि लियाम प्लंकेटले ३ र क्रिस वोक्सले दुई विकेट लिए ।

इंग्ल्याण्डको ब्याटिङ जबर्जस्त थियो । जेसन राय र जोनी बेयरस्टोले पहिलो विकेटका लागि २२ ओभरमा १६० रनको साझेदारी गरे । त्यसपछि जोय रुटले पनि ४४ रन जोड्दै इंग्ल्याण्डलाई मजबुत स्थितिमा पुर्‍याए । इंग्ल्याण्डको स्कोर २०५ हुँदा बेयरस्टो आउट भए ।

त्यसपछि कप्तान इयान मोर्गनलाई पनि मोहम्मद शमीले पेभिलियन फर्काएर भारतीय टिमलाई खेलमा फर्काएका थिए । तर बेन स्टोक्सले ७९ रनको अर्धशतकीय पारी खेल्दै इंग्ल्याण्डलाई सात विकेटको क्षतिमा ३३७ रनको विशाल स्कोरमा पुर्‍याए ।

इंग्ल्याण्डलाई विश्वकपमा सन् १९९२ पछि भारतविरुद्ध पहिलो जित मिलेको हो । जारी विश्वकपमा भारतको भने यो पहिलो हार हो । अब सेमिफाइनलमा पुग्नका लागि इंग्ल्याण्डले ३ जुलाईको खेलमा न्युजिल्याण्डलाई हराउनु पर्नेछ ।

यदि इंग्ल्याण्डविरुद्धको खेलमा भारत विजयी भएको भए अष्ट्रेलियापछि सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्थ्यो । तर, अब उसले अर्को खेल कुर्नुपर्ने छ । भारतको आगामी प्रतिस्पर्धा २ जुलाईमा बंगलादेशविरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment