Comments Add Comment

बेन स्टोक्सले बनाए विश्व च्याम्पियन, पिताले खाए गाली !

३० असार, काठमाडौं । लर्ड्समा विश्वकप क्रिकेटको उपाधि जित्दै घरेलु टोली इंग्ल्यान्डले ऐतिहासिक सफलता हात पा¥यो । यो ऐतिहासिक उपलब्धि दिलाउने श्रेय अलराउण्डर बेन स्टोक्सलाई जान्छ ।

शीर्ष ब्याट्सम्यान पभेलियन फर्किसकेको अवस्थामा स्टोक्सले अविजित ८४ रनको पारी सम्हालेका थिए । फाइनल खेलको ५० ओभरमा इंगल्याण्ड र न्युजिल्याण्ड दुबै टोलीले समान २४१ रन बनाएपछि खेल सुपर ओभरमा धकेलियो तर त्यसमा पनि दुबै टोलीले १५/१५ रन बनाए । बाउन्ड्रीको आधारमा इंग्ल्याण्ड विजयी भयो ।

स्टोक्सले दुई छक्कासहित सात बाउन्ड्री प्रहार गरेका थिए । जितमा सबैभन्दा बढी योगदान पनि उनकै रह्यो । त्यसैले नै इंग्ल्याण्डका कप्तान इयान मोर्गानले स्टोक्सलाई ‘अलमस्ट सुपर ह्युमन’को संज्ञा दिएका छन् ।

रोचक के छ भने स्टोक्सको जन्म न्युजिल्यान्डको क्राइस्टचर्चमा भएको थियो र, उनका पिता न्युजिल्यान्डका राष्ट्रिय रग्बी टिमबाट खेलेका खेलाडीसमेत हुन् । जब स्टोक्स १३ वर्षका थिए, त्यसबेला उनको परिवार इंग्ल्यान्डमा आएर बस्न थाल्यो । शायदै उनको परिवारले यो सोचेको थिएन होला बेन स्टोक्स ठूलो भएर न्युजिल्यान्डलाई नै विश्वकपमा हराउँछन् ।

तर भयो यस्तै ।

स्टोक्सका पिता गेर्राड स्टोक्स केही वर्ष इंग्ल्याण्ड बसेपछि आफ्नो देश, आफ्नो शहर क्राइस्टचर्च फर्किए । उनले आइतबार विश्वकपको फाइनल खेल हेरिरहेका थिए र, न्युजिल्यान्डले जितोस् भनेर प्रार्थना गरिरहेका थिए । खेल चलिरहेकै बेला कमेन्टेटर नासिर हुसेनले पटकपटक भनिरहेका थिए कि पिता न्युजिल्यान्डको जित चाहन्छन् तर, छोरा इंग्ल्यान्डलाई जिताउन अघि बढिरहेका छन् ।

पिता स्टोक्सलाई छोराको शानदार प्रदर्शनप्रति गर्व छ । तर न्युजिल्यान्डको वेबसाइट स्टफ मा एक रोचक कहानी छापिएको छ कि कसरी बेन स्टोक्सका पिता फाइनल प्रतिस्पर्धापछि न्युजिल्यान्डमा सबैभन्दा धेरै तिरस्कृत बाबु बनेका छन् भनेर ।

उसो त वेन स्टोक्सले फाइनलमा खेल जिताउने पारी खेलेका होइनन् । यो विश्वकपमा कम्तीमा पाँच मौकामा इंग्ल्यान्डको लागि आवश्यक अवस्थामा उनले मैदानमा टिकेर ब्याटिङ गरे ।

२८ वर्षीय स्टोक्स दायाँ हाते तीब्र गतिका बलर हुन् । उनले ५२ टेष्टमा १२७ विकेट लिएका छन् भने ६ शतक बनाएका छन् । त्यस्तै ९५ एकदिवसीयमा ७० विकेट लिएका छन् भने तीन शतक र २० अर्धशतक बनाएका छन् । उनले टेष्ट क्रिकेटमा सर्वाधिक २५८ रन बनाएका छन् ।

ब्याड ब्वाई

बेन स्टोक्सको रोचक कुरा यो छ कि विश्वकप उपाधि दिलाउन भन्दा पहिले उनी इंग्लिस क्रिकेटरमा ‘ब्याड ब्वाई’ नामले परिचित थिए ।

सन् २०१६ मा ब्रिस्टलमा एक नाइट क्लबको बाहिर उनले झगडा गर्दै गरेको भिडियो सार्वजनिक भएपछि ‘ब्याड ब्वाई’ को पहिचान बनेको थियो । उनी गिरफ्तार पनि परे । यो मुद्दा अदालतसम्म पर्‍यो ।

कुनै पनि इंग्लिस तथा अष्ट्रेलियन क्रिकेटरको लागि एसेज सिरिज सबैभन्दा अहम मानिन्छ । तर यो विवादले गर्दा बेन स्टोक्सले २०१६ को एसेज गुमाए । २०१६ जुन मा बेन स्टोक्स चार पटक इंग्ल्यान्डमा तीव्र गतिमा गाडी चलाएकोमा दोषी ठहरिएका थिए ।

सन् २०११ मा पनि मद्यपान गरेर ट्राफिक पुलिससँग झगडा गरेका थिए । सन् २०१२ मा पनि पुलिसले उनलाई मद्यपान गरी मातेको अवस्थामा पक्राउ गरेका थिए तर त्यतिबेला भने उनलाई चेतावनी दिएर छोडेका थिए ।

उनी मैदान बाहिर मात्रै होइन, मैदानभित्र पनि विवादमा तानिन्थे । भारतीय क्रिकेटर विराट कोहली र बंगलादेशका क्रिकेटर सब्बिर रहमानसँग स्टोक्सको विवाद क्रिकेटप्रेमीले कहिल्यै नभुल्ने घटना बनेको छ ।

बेन स्टोक्सका नराम्रो ब्यवहार यतिमा सीमित छैन । सन् २०१५ मा लर्ड्समा अष्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेट खेलमा मिचेल स्टार्कले थ्रो गरेको बल हातले रोकेका थिए ।

तर विश्वकपको उपाधि दिलाएसँगै बेन स्टोक्स इंग्लिस क्रिकेटका लागि नयाँ सुपरस्टार बनेका छन् ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment