Comments Add Comment

मेयर शाक्यले भने- गुठी विधेयकमा सहजीकरण गर्छु

१० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विवादित गुठी विधेयकमा सहजीकरण गर्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिको आयोजनामा आज भएको एक अन्तक्रिर्या कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमको व्यवस्थापन ज्यापु महागुथि नेपाः येँ महानगर समितिले गरेको थियो । मेयर शाक्यले काठमाडौं महानगरपालिका स्थानीय जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले नै सञ्चालन गर्ने निकाय भएको र यसको प्रमुख काम भनेकै महानगरभरिका सम्पूर्ण सम्पदा, संस्कृति र गुठीगानाको संरक्षण गर्ने भएको उल्लेख गरे । गुठी र संस्कृतिका सवालमा उत्पन्न भएका कुनै पनि समस्यालाई समाधान गर्ने महानगरपालिकाको दायित्व समेत भएको पनि मेयर शाक्यको भनाइ छ ।

कार्यक्रममा ज्यापु महागुठीसँग आवद्ध कानूनविद्हरूले प्रस्तुत गरेका गुठी सम्बन्धी अवधारणाहरू अत्यन्त सकारात्मक भएको बिचार राख्दै शाक्यले अब यो अवधारणालाई अरू जातीय समुदायहरूका बीचमा पनि पुर्‍याई सर्वसम्मत बनाउन आग्रह गरेे ।

उनले भने, ‘सर्वसम्मत अवधारणा तयार गर्न अहिले सहजीकरणको भूमिका खेल्न मात्र महानगरपालिका अगाडि आएको हो । सम्पूर्ण प्रक्रियाको नेतृत्व लिन हामी आएका होइनौँ ।’

कामपा संस्कृति तथा पर्यटन समितिका संयोजक एवं वडा नंं. १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको अध्यक्षतामा भएको उक्त अन्तक्रिर्यामा ज्यापु महागुथिसँग आवद्ध कानूनविद्हरू जुजुकाजी महर्जन, रीना डंगोल, बुद्धरत्न प्रजापति र युद्धमान महर्जनले गुठी विधेयकमा गरिनुपर्ने संशोधनका बारे बिचार राखेका थिए । उनीहरूले विद्यमान गुठी संस्थान खारेज भइसकेपछि त्यसको सट्टामा जात्रा-पर्व सञ्चालन गर्न छुट्टै निकाय गठन गरिनुपर्ने र त्यस्तो निकायको काम गुठीलाई नियन्त्रण गर्ने नभई निरीक्षण मात्रै गर्ने हुनुपर्ने बिचार राखे ।

कार्यक्रममा ज्यापु महागुथि केन्द्रीय समितिका अध्यक्ष राजभाई जकःमि र महानगर समितिका कावा अध्यक्ष नानीहेरा महर्जनले पनि मन्तव्य राखेका थिए । काठमाडौं महानगरपालिकाले गुठी विधेयकका सवालमा अरु पनि विभिन्न समुदाय र समूहसँग अन्तक्रिर्या गर्दै जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment