+
+
Shares

मन्त्री यादवको आरोप-प्रदेश २ मा विकासको बाधक प्रदेश सरकार

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते १९:०७

१० साउन, जनकपुरधाम । उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले प्रदेश २ को विकासको बाधक प्रदेश सरकार नै भएको आरोप लगाएका छन् ।

उनले संघीय सरकार बन्द रहेका उद्योगहरु संचालन गर्नका लागि प्रकृया अगाडि बढाए पनि प्रदेश सरकार नै यसको बाधक बनेको बताए ।

जनकपुरधाम विमानस्थलमा रिफ्युलिङ्ग स्टेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री यादवले प्रदेश सरकार जनकपुर चुरोट कारखानालाई कब्जा जमाएर बसिरहेको बताए ।

मन्त्री यादवले प्रदेशको विकासका लागि आफूहरु तत्पर रहेको र यसै सन्दर्भमा उक्त कारखाना संचालन गर्ने प्रकृया अगाडि बढाएपनि प्रदेश सरकार यसमा बाधक बनेको बताए । ‘विकास गर्ने हो भने, कब्जा गर्ने नीतिलाई छाड्नुपर्छ’ मन्त्री यादवले भने, ‘संघ र प्रदेश सँगै सहकार्य गरेर अगाडि बढ्नु जरुरी छ ।’

मन्त्री यादवले केही दिन अगाडि जनकपुर चुरोट कारखानाको निरीक्षण गर्दै पुराना उपकरणहरुबारे समेत जानकारी लिएका थिए ।

उनले जनकपुर चुरोट कारखाना संचालनको कुरा गर्दा प्रदेशका मन्त्रीहरुले धम्कीपूर्ण भाषाको प्रयोग गरिरहेको बताउँदै उनले धम्की नदिन चेतावनी दिए । ‘प्रदेश सरकार बिना बन्दुकको आवाज लगाइरहेको छ, यो ठीक होइन्,’ उनले भने, ‘यस किसिमको धम्कीको भाषा प्रयोग नहोस् ।’

धम्कीपूर्ण भाषाले प्रदेश समृद्व बन्न नसक्ने बताउँदै उनले सबै मिलेर अगाडि बढे मात्रै प्रदेश र समग्र देशको विकास हुन सक्ने बताए ।

मन्त्री यादवले बुद्ध एयरको जहाजमा हवाई इन्धन भरेर रिफ्युलिंग स्टेशनको उद्घाटन गरे ।

हवाई इन्धन जनकपुर विमान स्थलमै भर्ने व्यवस्था नहुँदा जहाजहरुलाई काठमाडौं, भैरहवा, विराटनगरसम्म पुग्नुपर्ने बाध्यता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?