Comments Add Comment

अमेरिकाविरुद्ध क्युवाको संघर्षमा प्रचण्डको ऐक्यवद्धता

११ साउन, काठमाडौं । शनिबारीय अंकसहित प्रकाशित आजका दैनिक पत्रिकाहरुमा नेपाल र चीनबीच भएको हवाई सम्झौताको समाचारले प्राथमिकता पाएको छ । त्यसबाहेक अन्य समाचारहरु पनि पहिलो पृष्ठमा प्राथमिकताका साथ छापिएका छन् ।

नागरिक दैनिकले अमेरिकाविरुद्ध क्युवाको संघर्षमा नेकपा अध्यक्ष प्रचण्डले ऐक्यवद्धता जनाएको समाचारलाई प्राथमिकताका साथ स्थान दिएको छ ।

यसअघि भेनेजुएलामा अमेरिकी हस्तक्षेपविरुद्ध विज्ञप्ति निकाल्दा विवादमा तानिएका प्रचण्ड शुक्रबार काठमाडौंमा आयोजित क्युवाप्रतिको ऐक्यबद्धतासम्बन्धी नवौं एसिया-प्रशान्त क्षेत्रीय सम्मेलनमा सहभागी भए ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अमेरिकाको आर्थिक प्रतिबन्धविरुद्ध क्युवाली जनताले देखाएको साहसको प्रशंसा गरे । क्युवामा अमेरिकाले लगाएको प्रतिबन्ध मानवअधिकारको मूल्य र मापदण्डविपरीत भएको पनि प्रचण्डले बताएको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकको मुख्य समाचार भने काठमाडौंका सडकको बेथितिसँग सम्बन्धित छ । चाबहिल-साँखु, कपन, टोखा, जोरपाटी-सुन्दरीजल, त्रिपुरेश्वर-कलंकी-नागढुंगा, सितापाइला, बालाजु लगायत काठमाडौं उपत्यकाका विभिन्न सडकखण्डको दुर्दशालाई समाचारको रुप दिइएको छ । सडकमा ठेक्काको म्याद सकिएको तर काम नसकिएको समाचारको सार छ ।

अन्नपूर्ण पोष्ट दैनिकले पनि बिभिन्न जिल्लामा ठेकेदारले गरेको लापरवाहीलाई मुख्य समाचार बनाएको छ । प्रतिनिधिमूलक घटनाका रुपमा रौतहट, दैलेख, पाँचथर र भैरहवामा भएका बेथितिलाई समाचार बनाइएको छ । रौतहटको गौर-इशनाथ जोड्ने पुल समयमै निर्माण नहुँदा जोखिम मोलेर डुंगामा यात्रा गरिरहेकाहरुको तस्वीरलाई अन्नपूर्णले मुख्य स्थान दिएको छ ।

कान्तिपुर दैनिकले चीन र नेपालबीच यातायात सन्जाल विस्तार भएको समाचार लेखेको छ । चीनका १४ विमानस्थलमा नेपालको पहुँच पुगेको र सम्भावित रेल मार्गको पहिचान भएको समाचारमा लेखिएको छ ।

गोरखापत्र दैनिकले अर्गानिक तरकारी तथा फलफूल उत्पादनको अभियान घरको कौसीबाट सुरु हुने उल्लेख गरेर मुख्य समाचार बनाएको छ । समाचारमा लेखिएको छ, ‘बजारमा बढ्दो विषादीयुक्त तरकारीको बिबिगीलाई निरुत्साहित गर्ने हो भने कौसी या करेसाबारीमा तरकारी फलाउन केही जाँगर चाहिन्छ । तब भान्छालाई विषादीमुक्त बनाउन सकिन्छ ।’

राजधानी दैनिकले चिकित्सकले परामर्श शुल्कको नाममा मनपरी गरिरहेको विषयलाई उठाएको छ । तोकिएभन्दा ६० प्रतिशत बढी रकम लिइरहेको समाचारमा उल्लेख छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment