Comments Add Comment

सडकको दुरावस्थाले रामेछापको यात्रा जोखिमपूर्ण

११ साउन, रामेछाप । असारको अन्तिम हप्दादेखिको वर्षाले रामेछापका अधिकांस सडकहरु बिग्रिएका छन् । सडकको दुरावस्थाले रामेछापको सडक यात्रा जोखिमपूर्ण बनेको छ ।

गएको असार २६ गते र त्यसपछि पटकपटकको वर्षाको कारण काठमाडौँ तथा तराईबाट रामेछाप प्रवेश गर्ने र जिल्ला सदरमुकाम मन्थलीबाट गाउँ जाने अधिकाँस सडकहरुमा क्षति पुगेको छ । यी सडकहरुको उचित मर्मत नहुँदा सर्वसाधारणहरु ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।

तराई तथा काठमाडौँबाट रामेछाप र दोलखा जिल्ला प्रवेश गर्ने खुर्काेट-मन्थली सडक मन्थली नगरपालिकाको लामो प्रयासबाट एकतर्फी गाडि गुड्ने गरी खोलिएको छ । खुर्काेटको पुलदेखि मन्थली बजारसम्मको करिब १५ किलोमिटर सडकमा अधिकांस ठाउँमा पहिरो झरेको छ भने केही ठाउँमा सडक भासिएको छ । सडक पानी नपर्दासम्मको लागि मात्र अस्थायी रुपमा खोलिएको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताए ।

उनले भने, ‘सेलेघाटदेखि मन्थलीसम्म पहिरो खसेको छ । अहिलेलाई एकतर्फी गाडी गुड्न सक्ने गरी माटो फालिएको छ । माथिबाट खसेको माटो सडकमा त्यतिकै थुपारिएको छ । पानी पर्नेबित्तिकै माटो बगेरआई सडक थुनिई हाल्छ ।’

मन्थली-खुर्काेट सडक पूरै सफा गर्न अहिलेदेखि नै काम थाले पनि दशैँअघि काम नसकिने नेकपाका रामेछाप जिल्ला इञ्चार्ज एवं प्रतिनिधिसभाका पूर्वसांसद देवशंकर पौडेल बताउँछन् ।

सडक डिभिजन कार्यालय सिन्धुलीको जिम्मामा रहेको सो सडक मर्मतको लागि कुनै काम थालेको छैन । सडक डिभिजन कार्यालयका कर्मचारीको असहयोगको कारण सडक नियमित गर्ने समस्या भएको नगर प्रमुख बस्नेतको भनाइ छ ।

खुर्काेटबाट मन्थली आउने सडकमा तराईबाट सामान लिएर आउने दोलखाका मालबाहक साधनहरुसमेत गुड्ने गर्दछन् । अति चल्तिको सो बाटोमा जोखिम मोलेर सवारी साधन गुडिरहेका छन् । तर पनि यसको मर्मतमा सडक डिभिजन कार्यालयले चासो देखाएको छैन ।

मन्थलीबाट रामेछाप बजार जाने पक्की सडक पनि ठाउँ-ठाउँमा धसिएको छ । २ वर्षअघि निर्माण सम्पन्न भएको सो सडक निर्माणको गुणस्तरलाई लिएर पटक-पटक कुरा उठ्ने गरेको छ । गुणस्तरहीन काम भएको कारण वर्षाले सडकलाई थप क्षति पुर्‍याएको रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कल्याण बुढाथोकीले बताए । सो सडक मर्मतमा पनि सडक डिभिजन कार्यालय लागेको छैन ।

जिल्ला सदरमुकाम मन्थलीबाट ग्रामिण भेगमा सञ्चालन भएको सबै सडकहरुमा बाढी पहिरोले ठूलो क्षति पुर्‍याएको छ । मन्थलीबाट नगरपालिकाका पुरानागाउँ, गेलु, फुलासी, चनखु, भटौलीलगायतका स्थानमा जाने सडकहरुमा पनि क्षति पुगेको छ । अहिले अधिकांस सडकहरु तत्कालका लागि खोलिए पनि ती सडकहरु पूर्ण रुपमा सुरक्षित नरहेको मन्थली नगरपालिका प्रमुख बस्नेतले बताए ।

यसैगरी जिल्लाका लामो दुरीका सडकहरु मन्थली-दोरम्बा-टोकरपु, मन्थली-रस्नालु-बाम्ती, मन्थली-पि्रति, मन्थली-धोवी-सिरिसे-ढाँडे, मन्थली-सालु-साँघुटार, मन्थली-गोठगाउँ सडकको पनि दुरावस्था छ । ती सडकहरुमा जवरजस्ती यातायातका साधनहरु चलिरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने डर बढेको नेकपाका नेता आनन्द श्रेष्ठले बताए ।

कच्ची ग्रामिण सकडमा जवरजस्ती चलाइएको सवारी साधनहरु पानी पर्नेवित्तिकै चिप्लिएर घण्टौँ बीच बाटोमा आलपत्र पर्ने गर्दछन् । यसले गर्दा यात्रीहरुलाई गन्तव्यमा पुग्नसमेत मुस्किल पर्ने गरेको छ ।

जिल्लाका अधिकाँस ग्रामिण सडकहरु वषर्ाको बेलामा सवारीसाधन चल्न लायकको नभएको जिल्ला पूर्वाधार कार्यालयका सवारी चालक आत्माराम गौतम बताउँछन् । उनले भने, ‘हाम्रा फोर हृविल भएका गाडीहरु त जोगाउन मुश्किल छ, ठूला बस र ट्रकहरु के गरी सुरक्षित हुनु ?’

– नवराज पथिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment