Comments Add Comment

७८ वर्षीया वृद्धाले दिइन् चितवनमा रंगशाला बनाउन ५० हजार

११ साउन, चितवन । भरतपुर महानगरपालिका वडा नं. १० की ७८ वर्षीया एक वृद्धाले चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ५० हजार नगद सहयोग गरेकी छन् । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई डम्बर कुमारीले सो रकम दिएकी हुन् ।

उनले रकम मात्रै दिइनन्, अध्यक्ष कट्टेललाई सधैं खुसी र निरोगी रहन र समयमा नै रंगशाला निर्माण गर्न आर्शिवाद पनि दिइन् ।

केही बर्षअघि वितेका श्रीमानको नाममा राखेको कोषबाट प्राप्त ब्याजको रकम जम्मा पारेर रंगशाला निर्माणका लागि दिएको डम्वरकुमारीको भनाइ छ । ‘कसैले पनि रंगशालाका लागि रकम दे भनेर दिएको हैन,’ डम्बरकुमारीले भनिन्, ‘मेरो मनबाटै आयो रंगशालाका लागि पैसा दिनुपर्दछ भनेर ।’

उनका छोरीका छोरा अनिल अधिकारी क्रिकेटर हुन् । उनले हालै भारतबाट कोचको समेत तालिम लिएर आएका छन् । अधिकारीले रंगशालाका बारेमा हजुरआमाले पहिल्यैबाट चासो देखाएको बताए । ‘म पनि सहयोग गर्छु भन्नुहुन्थ्यो,’ अनिलले भने, ‘आमालाई सुगर प्रेसरको रोग छ औषधी खाने पैसा पनि थपेर दिनुभएको छ ।’

धुर्मस सुन्तली फाउण्डशेनका अध्यक्ष सिताराम कट्टेलले ७८ वर्षीया आमाले क्रिकेट रंगशालाका लागि सम्झेर सहयोग गरेकोमा आफूलाई निकै खुसी लागेको बताए । ‘मैले त सोचेको पनि थिइनँ यतिको उमेरको आमाले पनि सहयोग गर्नुहुन्छ भनेर,’ धुर्मुसले भने, ‘५० हजार दिएर आमाले दिएको सन्देशले निकै ठूलो अर्थ राख्छ मलाई ऊर्जा थपेको छ ।’

रंगशाला निर्माणका लागि सबैभन्दा जेठो सदस्यका रूपमा डम्बरकुमारी नै सहयोग गर्ने पहिलो व्यक्ति भएको धुर्मुसले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment