Comments Add Comment

तामाकोसी-३ लाई ८८० बाट २०० मेगावाटमा झारिँदै

चिनियाँ कम्पनीहरुले लगानी गर्ने

११ साउन, काठमाडौं । तामाकोसी-३ जलविद्युत आयोजनाको क्षमता तेस्रोपटक घटाइने भएको छ ।

अब यो आयोजना सुरुआतको सर्भेमा ८८० मेगावाट बनाउन सकिने भनिएको आयोजनाको क्षमता ६८० मेगावाट घटाएर २ सयमा कायम गर्ने तयारी छ । यसले  स्रोतको सम्भाब्य क्षमता उपयोग नहुनेे अवस्था सिर्जाना भएको छ ।

योजनाअनुसार काम भएको भए नर्वेको स्ट्याटक्राफ्ट कम्पनीको लगानीमा आयोजनाले २ वर्षअघि नै दोलखामा विजुली उत्पादन गथ्र्यो । एसएन पावरले गरेको अध्ययनले यो आयोजना ८८० मेगावाटमा बनाउन सकिने देखाएको थियो । २०१२ देखि निर्माण कार्य सुरु गरेर सन् २०१६ भित्र २ सय २० मेगावाट र अर्को एक बर्षभित्र पुरै विजुली उत्पादन गरिसक्ने उसको योजना थियो ।

नर्वेजियन कम्पनीले निर्माण सम्पन्न गराउने वातावरण बनाउन भन्दै आयोजनालाई ६५० मेगावाटमा झार्न लगायो । उसले त्यसअनुसार सर्भे पनि गरेको थियो ।

तर बजार सुनिश्चित नभएको भन्दै आयोजना विकास सम्झौता गर्नेबेला  २०७२ पुसमा नर्बेली कम्पनी आयोजनाबाट बाहिरियो । झण्डै दुई वर्षपछि ऊर्जा मन्त्रालयले २०७४ असोजमा टीबीआई होल्डिङ्सलाई आयोजना सुम्पियो । तत्कालीन समयमा ५ सय मेगावाट बढीका आयोजना लगानी बोर्डको कार्यक्षेत्रमा भएपछि मन्त्रालयले सर्भे अनुमति दिएपछि मतभेद समेत भएको थियो ।


लामो समय अलमलपछि टीबीआई होल्डिङ्सले बिहीबार दुई चिनियाँ कम्पनीसँग संयुक्त लगानीमा आयोजना २ सय मेगावाटमा बनाउने गरी समझदारी गरेको छ । चीनको वाईआईजी इन्टरनेसनल र सांघाइ इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिचर्स इन्स्टीच्युट कर्पोरेसनसँग ‘जोइन्ट भेन्चर डेभलपमेन्ट फ्रेमवर्क’मा हस्ताक्षर गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सम्झौताअनुसार आयोजनामा दुई चिनियाँ कम्पनीले ५ सय मिलियन डलर अर्थात् ५५ अर्ब रुपैयाँ रकम लगानी गर्नेछन् ।

हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका उपगभर्नर जाङ ग्वाहुआ पनि सहभागी भएको सिन्ह्वाले बताएको छ । कार्यक्रममा ऊर्जामन्त्रीको सहभागिताले आयोजनाको क्षमता  घटाएर बनाउन स्वीकृति पाउने अनुमान गरिएको छ ।

आयोजना निर्माण २०२० मा सुरु हुने र साढे तीन वर्षमा सम्पन्न हुने बताइएको छ ।

सुरुमा यो आयोजना दोलखाको नाम्दु वुस्तीमा ९६ मिटर बाँध उठाएर साढे किलोमिटर सुरुङमार्फत मालु वा शहरेमा झारेर विद्युत उत्पादन गर्ने योजना थियो । यसअनुसार सिंगटीदेखि वुस्तीसम्म करिब १५ दशमलव ७५ किलोमिटर जलाशय बन्ने थियो । सुरुको योजना अनुसार बनाउने हो भने हिउँदमा पनि कम्तीमा दुई सय ५० मेगावाट विजुली उत्पादन हुने अवस्था थियो ।

तर तामाकोसीको सम्भावित स्रोतलाई नै घटाएर आयोजना बनाउने बाटोमा सरकार छ ।

एनआरएन अध्यक्ष भवन भट्टको कम्पनी टीबीआई होल्डिङ्सले तामाकोसी-३ जलविद्युत आयोजनाको क्षमता घटाउन सरकारसँग अनुमति मागेको छ ।

सिंगटीको बजार र वरपरका वस्तीका कारण ६५० मेगावाटमा आयोजना बनाउन जटिल हुने भएपछि क्षमता घटाउनु परेको उसको तर्क छ । यस्तै लगानी उठाउने पक्ष र निर्यातको समभावनाका हिसावले पनि आयोजना २ सय मेगावाटमै बनाउनु उपयुक्त देखिएको टीआईबीको दाबी छ ।

टीआईबीले आयोजनाको क्षमता घटाउनुपर्ने भन्दै अध्ययनबारे जानकारी दिएको विभागकी प्रवक्ता निशा रिजालले बताइन् । ‘उहाँहरुले केका आधारमा क्षमता घटाउने भन्नुभएको हो हेर्नुपर्छ । साँच्चिकै लगानी र अन्य अवस्थाका कारण घटाउनुपर्ने हो भन्ने ठहर भयो मात्रै क्षमता घटाउने निर्णय हुन्छ,’ उनले भनिन्, ‘अहिलेसम्म यसबारे निवेदन पनि आएको छैन, निर्णय पनि भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment