Comments Add Comment

गुरुलाई शशांकको सुझावः ९० प्रतिशत साहित्यकार हुनुस्

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरे साहित्य क्षेत्रमा होमिएका छन् । विद्यार्थीबाट कांग्रेसको मुलधारको राजनीतिमा आएका घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह शनिबार सार्वजनिक भएको छ ।

कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरुले सक्षम नेता भएर पनि गुरुलाई संरक्षण गर्न नसकिएको स्वीकार गरे ।

महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा ९० र राजनीतिमा १० प्रतिशत समय दिन सुझाव दिए । ‘गुरुराजजी, तपाइर्ँलाई संरक्षण गर्ने नेतृत्व भएन । न मैले सकेँ, न शेरबहादुर जीले सक्नुभो, न रामचन्द्र दाईले सक्नु भो’ उनले भने, ‘उहाँ चुनावमा लड्ने मान्छे हो तर टिकट पाउनुभएन । किनभने हामीले संरक्षण दिन सकेनौं ।’

उनले अघि भने, ‘त्यसैले म के भन्न चाहन्छु भने ९० प्रतिशत साहित्यकार हुनूस्, १० प्रतिशत मात्रै राजनीति गर्नूस् ।’

महामन्त्री कोइरालाले नै राजनीति कम गर्न भन्दा कार्यक्रम स्थल हाँसोले गुञ्जायमान बनेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा पाएको ठक्करले प्रतिभा प्रष्फुटन भएको टिप्पणी गर्नुभयो । उनले भने, ‘विशेष प्रकारका घटनाहरुको संघारबाट प्रतिभाको प्रस्फुटन हुन्छ । उहाँलाई पनि निर्णयको घटनाको संघारबाट प्रतिभा प्रस्फुटन भएको हो । कहिले काही नराम्रो कुराले पनि राम्रो हुने गर्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि घिमिरेमाथि अन्याय भएको स्वीकार गरे । उनले भने, ‘वास्तवमा अन्याय भएको छ । एउटा सिट हुन्छ, ५० जना चाहन्छन् । कसरी हुन्छ ? राजनीतिबाट टाढा नरहनू । अब अन्याय नगर्ने किसिमले जाउला । राजनीति र साहित्यलाई संगसंगै लैजानुहोस् ।’

लेखक एवं नेता घिमिरेले आफू पूर्णकालीन राजनीतिकर्मी भएकाले ९० प्रतिशत राजनीति र १० प्रतिशत समय साहित्यलाई दिने गरेको बताए । घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रहमा १४ वटा कथा संगहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment