Comments Add Comment

रामेछापका सडक किनारमा नौ लाख बिरुवा रोपिने

१२ साउन, रामेछाप । जिल्लाका ३ वटा सडक किनारा र त्यस आसपासका क्षेत्रमा नौ लाख बिरुवा लगाइने भएको छ । सुख्खाग्रस्त रामेछाप जिल्लाका सडक किनारामा यस वर्ष मात्रै ३ लाख बिरुवा रोपिने छ ।

वृक्षरोपण महाअभियान नाम दिइएको सो कार्यक्रम जर्मन सरकारको सहयोगमा रामेछापका विभिन्न ३ वटा सामाजिक संस्थाहरुले सुरु गरेका हुन् । अभियानअन्तर्गत खुर्काेट मन्थली, मन्थली रामेछाप, मन्थली सुनारपानी, सालु, मन्थली कठजोरलगायतका सडक किनार र त्यसको आसपासको क्षेत्रमा वृक्षरोपण गरिने सामुदायिक विकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलन घिसिङले जानकारी दिए ।

स्थानीय कृषक तथा समुदाय, सामुदायिक वन उपभोक्ता समिति, राजनीतिक दलका कार्यकर्ता, विद्यालय, सुरक्षा निकाय, उद्योगी व्यवसायीलगायतसँगको सहाकर्यमा सो अभियान सञ्चालन हुने सृर्जनशील युवा समाजका कार्यक्रम संयोजक लव श्रेष्ठले बताए ।

सो अभियान अन्तर्गत अहिले मन्थली–कठजोर, मन्थली–खुर्काेट, मन्थली–रामेछाप लगायतका सडक किनारमा खाडल खन्ने र विरुवा लगाउने काम भइरहेको छ । जसमा राजनीतिक दल, व्यवसायी, स्थानीय समुदायलगायतको सहभागिता रहेको छ । ‘वातावरण संरक्षण सबैको साझा विषय भएकोले यो कामलाई हामीले सहयोग गरेका हौँ’, वृक्षारोपण अभियानमा संलग्न नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले भने ।

सो अभियानअन्तर्गत वन क्षेत्रमा विभिन्न जातका जंगलमा हुने बिरुवा लगाइने छ भने व्यक्तिको जग्गामा उनीहरुको माग अनुसार विभिन्न जातका फलफूल तथा अन्य बिरुवाहरु लगाइने योजना रहेको सामुदायिक विकास समाजका कार्यकारी निर्देशक घिसिङले बताए ।

रामेछाप जिल्लाका साविकका २५ भन्दा बढी गाविस सुक्खाग्रस्त छन् । ती क्षेत्रमा जंगल मासिँदा यो अवस्था आएको निष्कर्षसहित पुनः हरियाली क्षेत्र विकास गर्ने उद्देश्यका साथ सो अभियान सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment