Comments Add Comment

संसद अबरुद्ध पार्ने राजपाको चेतावनी

Photo Credit : फाइल तस्वीर

१३ साउन, काठमाडौं । प्रतिपक्षी दल राजपाले आजको संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ । सर्लाहीको सडक प्रदर्शनको क्रममा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको हो ।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ ।

विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले यसअघि पनि संयुक्त रुपमा संसदमा अवरोध गरेका थिए ।

राजपाका नेता राजकिशोर यादवले आफूहरुले उठाएका मागको विषयमा आजसम्म कुनै प्रगति नभएकाले संसद बैठक चल्न नदिने चेतावनी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘यी दुवै हत्या गैरन्यायीक हुन् । त्यसको संसदीय छानविन हुनुपर्छ । तर, अहिलेसम्म केही प्रगति भएको छैन । त्यसैले हामी वेलमै हुन्छौं ।’

सरकारले आत्मरक्षाको लागि गोली हानेको दाबी गरे पनि कुमार पौडेलको शवको प्रकृति हेर्दा त्यसमा विश्वास गर्न नसकिने यादवको भनाइ छ । ‘मारिएको व्यक्तिको तीन–तीन ठाउँमा हात भाँचिएको छ, दाँत झरेको छ । स्थानीयले फेक इन्काउन्टर हो भनेका छन् । त्यसैले घटना शंकास्पद छ ।’

सरोजनारायण सिंहको मृत्युलाई यादवले ‘मधेसीलाई देख्नेवित्तिकै गोली हान्ने मनोविज्ञान’ भनेर टिप्पणी गरे ।

राजपाले मधेस आन्दोलनको घटना छानविन गर्न गठित गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सर्लाही घटनाको संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ ।

तर, सरकारले जहिले पनि आश्वासनमात्र दिने गरेको राजपाको आरोप छ ।

नेता यादवले भने, ‘हामीले जरुरी सार्वजनिक महत्वको विषय दर्ता गराएर सरकारलाई ध्यानाकर्षण गराऔं । तर, जहिले पनि छल्न खोज्ने, आश्वासन मात्र दिने काम नगर्ने सरकारको प्रवृत्ति छ, यसबाट हामी वाक्कदिक्क भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment