Comments Add Comment

उत्पादन मिति उल्लेख नभएको घ्यु गर्भवती र सुत्केरीलाई

बजार मूल्यभन्दा बढीमा खरिद, असारमा सक्नुपर्ने कार्यक्रम साउनमा

१३ साउन, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकाले उत्पादन मिति नै उल्लेख नभएको घ्यु गर्भवती र सुत्केरीलाई वितरण गरेकाे पाइएको छ ।

बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत   तरकारीको बिउ, अम्बा र मेवाको बिरुवासहित वितरण गरेकाे  घ्युमा उत्पादन मिति र ब्याच नम्बर उल्लेख नभएको भेटिएको हो । शिवम् घ्यु उद्योग, राजविराजले उत्पादन गरेको घ्यु नगरपालिकाले बर्दिवासस्थित डोकानिया ब्रदर्समार्फत खरीद गरेको थियो ।

नगरपालिकाले पोषण कार्यक्रमअन्तर्गत आफ्ना १४ वटै वडाका ७ सय गर्भवती र सुत्केरीहरूलाई पोषण वितरण गर्न लागेको छ । ५०० प्याकेट घ्यु खरिद गर्ने सम्झौताअनुसार १५० प्याकेट बुझिसकेको नगरपालिकाले जनाएको छ । बाँकी घ्यु डोकानियाको गोदाममा तयार अवस्थामा छन् ।

आइतबार वडा नम्बर १ का ५० गर्भवती महिलालाई उक्त सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । वितरणको क्रममा घ्युको प्याकेटमा उत्पादन मिति र ब्याच नम्बर नै उल्लेख नभएको भेटिएपछि स्थानीयले विरोध गरेका छन् । विरोधपछि नगरपालिकाले तत्कालका लागि घ्यु वितरण कार्यक्रम नै स्थगित गरेको छ ।

वितरण गरिएकामध्ये केहीले घ्यू प्रयोग गरिसकेको जनाइएको छ । वितरण गरिएकाहरुलाई फोनमार्फत फिर्ता गर्न सूचना जारी गरिए पनि आइतवार साँझसम्म कसैले पनि फिर्ता नगरेको नगरपालिकाले जनाएको छ ।

वितरणका लागि ल्याइएका घ्युबारे गुनासो आएपछि तत्कालका लागि कार्यक्रम स्थगन गरिएको नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार, घ्यु प्याकेट संकलन गरेर परीक्षणका लागि जिल्ला प्रशासन, कार्यालय जलेश्वर पठाउने तयारी गरिएको छ । परीक्षणका क्रममा गुणस्तरहीन रहेको प्रमाणीत भए कानुनबमोजिम संलग्नहरूलाई कारबाही गर्ने बताए ।

असारमा सक्नुपर्ने कार्यक्रम साउनमा
नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ अन्तर्गत बहुक्षेत्रीय पोषण योजना कार्यक्रमका लागि भन्दै २० लाख बजेट छुट्याएको थियो । अघिल्लो आर्थिक वर्षको कार्यक्रम भएकाले असारभित्रै लक्षित वर्गलाई वितरण गरिसक्नुपर्ने थियो ।

तर, नयाँ आर्थिक वर्ष सुरु भएको १२ दिनपछि साउन १२ गतेबाट नगरपालिकाले वितरण थालेको छ । तैपनि उत्पादनमा प्रश्न उठेपछि कार्यक्रम प्रभावित भएको छ ।

घ्यु उद्योग भन्छ–  मिति राखेरै पठाएका हौं

नगरपालिकाले घ्यु खरिद गरेको उत्पादन कम्पनी शिवम् डेरी उद्योगका सञ्चालक देवचन्द्र मण्डल भने उत्पादन मिति र व्याच नम्बर छापेर नै पठाइएको दाबी गर्छन् । घ्युको प्याकेटमा स्टिकर टाँसिएको र जो व्यक्तिले आपूर्ति गरेको हो, उसैले मेटाएको उनको भनाइ छ । घ्यु शिवम् डेरी उद्योग राजविराजसँग बर्दिवासस्थित डोकानिया बदर्शले खरिद गरेको गरेर नगरपालिकालाई उपलब्ध गराएको थियो ।

बजार मूल्यभन्दा बढीमा खरिद

नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत खरिद गरेको घ्यू बजार मूल्यभन्दा बढीमा खरिद गरेको पाइएको छ । शिवम् डेरी उद्योग राजविराज सप्तरीले स्थानीय बजारमा खुद्रा मूल्य ८ सय २० रुपैयाँमा बिक्री गर्दै आएको घ्यु नगरपालिकाले स्थानीय बिक्रेता डोकानिया ब्रदर्शसँग ९ सय ९७ रुपैयाँमा खरिद गरेको हो ।

खरिद भएको घ्युको सम्पूर्ण भुक्तानी भइसकेको कार्यक्रमका फोकल पर्सन रामबावु साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment