Comments Add Comment

भन्सार राजश्व १४ प्रतिशत बढ्यो, तर लक्ष्यभन्दा कम

राजस्व आम्दानीमा भन्सारको हिस्सा ४२ प्रतिशत

१३ साउन, काठमाडौं । आन्तरिक उत्पादन वृद्धि गरी भन्सार राजस्व क्रमशः कम गर्ने सरकारको लक्ष्य रहे पनि अहिले कूल राजस्वको ठूलो हिस्सा भन्सारले नै ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कूल ३ खर्ब ६२ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ भन्सार राजस्व संकलन गर्‍यो ।

नेपालमा उक्त आवमा कूल १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ वैदेशिक व्यापार भएको छ । सोही व्यापारबाट सरकारले भन्सार राजस्व संकलन गरेको हो । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार उक्त आवमा कूल राजस्व संकलन ८ खर्ब ५९ अर्ब ५९ करोड ८८ लाख रह्यो । त्यसमध्ये भन्सार राजस्वले मात्र ४२ प्रतिशत हिस्सा ओगटेको छ । भन्सार राजस्व अन्तरगत भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशूल्कमार्फत उक्त रकम संकलन भएको हो ।

अघिल्लो आवमा भन्सार राजस्व १४.५० प्रतिशतले वृद्धि भएको छ । आव २०७४/७५ मा ३ खर्ब १६ अर्ब ६५ करोड ९१ लाख रुपैयाँ उठेको थियो । राजस्व संकलन साढे १४ प्रतिशतले बढे पनि यो लक्ष्यभन्दा कम नै हो । अर्थ मन्त्रालयले आव २०७५/७६ मा ९ खर्ब ४५ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो ।

उक्त लक्ष्यअनुसार आर्थिक वर्षको अन्त्यसम्म ८ खर्ब ५९ अर्ब ५९ करोड अर्थात ९०.९० प्रतिशत कूल राजस्व संकलन भएको छ । त्यसमध्ये सरकारले उक्त आवमा ४ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य तोकेको थियो । लक्ष्यको ८६.७३ प्रतिशत मात्र संकलन हुन सक्यो । यस आवमा व्यापार घाटा १३.५५ प्रतिशतले बढ्दा भन्सार राजस्व १४.५० प्रतिशतले वृद्धि भएको हो ।

अहिले नेपालमा ३४ वटा प्रमुख भन्सार कार्यालय स्थापना भएका छन् । त्यसमध्ये २५ वटा भारतीय सीमा नाका र ९ वटा चीनसँगको सीमा नाकामा छन् । नेपाल र भारतको प्रमुख भन्सार कार्यालयअन्तर्गत रहने गरी १३५ वटा छोटी भन्सार कार्यालय स्थापना गरिएका छन् ।

पछिल्लो समय व्यापार घाटा उच्च दरमा बढे पनि भन्सार राजस्वमा अधिक भर पर्दा लक्ष्य भेटाउन भने हम्मेहम्मे पर्दै आएको छ । सरकारले आव २०७४/७५ मा पनि भन्सार राजस्व लक्ष्य अनुसार उठाउन सकेको थिएन । उक्त आवमा ३२५.७२ अर्ब संकलनको लक्ष्य राखेकोमा ३१६.६६ अर्ब मात्र उठेको थियो ।

तथ्यांकमा राजस्व

कूल राजस्व लक्ष्य  : ९ खर्ब ४५ अर्ब ५५ करोड ८० लाख
कूल राजस्व संकलन : ८ खर्ब ५९ अर्ब ५९ करोड ८८ लाख
लक्ष्यको तुलनामा उठेको राजस्व : ९०.९० प्रतिशत
भन्सार राजस्वको लक्ष्य : ४ खर्ब १८ अर्ब ५ करोड
भन्सार राजस्व संकलन : ३ खर्ब ६२ अर्ब ५७ करोड ४८ लाख
लक्ष्यको तुलनमा उठेको भन्सार राजस्व : ८६.७३ प्रतिशत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment