Comments Add Comment

सागको क्रिकेट मूलपानीमा खेलाउन मुश्किल

१३ साउन, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) ले नेपाललाई घरेलु मैदानमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता ठूला टिमसँग खेल्ने अवसर जुराएको छ ।

सन् २०१० पछि पहिलो पटक सागमा क्रिकेट राख्नु र नेपालमा प्रतियोगिता आयोजना हुनु दुबैले यो संयोग जुरेको हो । तर प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई कुनकुन मैदानमा क्रिकेट खेल खेलाउने भन्ने चिन्ताले सताएको छ ।

महिला र पुरुष क्रिकेटका लागि दुई वटा मैदान चाहिन्छ । त्रिवि र मूलपानी मैदानमा क्रिकेट खेलाउने राखेपको योजना छ । सदस्य सचिव रमेश सिलवालले हालसालै दुबै मैदानको स्थलगत निरीक्षण पनि गरेका छन् । तर मूलपानी क्रिकेट मैदान तयार हुनेमा भने शंका छ ।

त्रिवि क्रिकेट मैदान तयार हुन्छ

राखेप सदस्य सचिव सिलवालसहितका अधिकारीहरुले सोमबार त्रिवि क्रिकेट मैदानको स्थलगत अवलोकन गरेका छन् । मैदानमा झार उत्रिएको छ भने पिच पनि विग्रिन सुरु भइसकेको छ । आउट फिल्डमा पनि खाल्टाखुल्टी छ ।

सिलवालसँगै मैदानमा पुगेका क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले पिच मर्मत गनुपर्ने अवस्थामा रहेको बताए । तर प्रतियोगिता सुरु हुन चार महिना रहेकाले मैदानको मर्मत सम्भार सम्भव छ । प्रशिक्षक जगत टमाटाले भने, ‘सागको लागि त्रिवि क्रिकेट मैदान खासै समस्या होइन । पिच निर्माण र अन्य पक्षलाई जोड दिए तयार हुन्छ ।’

मूलपानीमा मुश्किल

तर मूलपानी क्रिकेट मैदान भने सागका लागि तयार पार्न त्यति सजिलो छैन । सरकारले कराडौं खर्चिएर मूलपानीमा दुई वटा मैदान बनाएको छ तर दुबै पूर्ण भएका छैनन् ।

पछिल्लो पटक प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट मूलपानीको तल्लो मैदानमा खेलाइयो तर, पिच तयार नभएका कारण म्याटमा ।

प्रधानमन्त्री कपका बेला बनाएको पिच काम नलाग्ने भइसक्यो । मैदानको बीच भागमै रहेको घर समेत हटाइएको छैन । मिडिया सेन्टर, खेलाडी बक्सदेखि अन्य भौतिक संरचना पनि छैन ।

माथिल्लो मैदानमा भौतिक पूर्वाधार छ । तर पिच र आउट फिल्डका काम गर्नुपर्छ । क्यानका पूर्व अध्यक्ष पाण्डे भन्छन्, ‘मूलपानी मैदान पनि तयार गर्नै नसकिने होइन । किनकी हामीसँग अझै चार महिना समय छ । तर त्यसका लागि भोलिबाटै निकै मेहनतका साथ काम गर्नुपर्ने हुन्छ ।’

अधिकारीहरुका अनुसार मूलपानीमै मात्र कम्तिमा पनि ३०/४० लाख खर्चिनुपर्ने हुन्छ । उसो त भक्तपुरस्थित सैनिक महाविद्यालय र पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको मैदान पनि छ । तर दुबै मैदान पनि मर्मत नगरी हुन्न ।

राखेपको साग सचिवालयका प्रमुख कमल खनाल भने त्रिविसँगै मूलपानी क्रिकेट मैदान सागका लागि दाबी गर्छन् । ‘मैदान निर्माण सम्पन्न नभए हामीले खेल खेलाउनै सक्दैनौं । त्यसैले सम्पन्न हुन्छ, ढुक्क हुनुहोस्’ उनले भनेका छन् ।

मैदान तयार गर्न राखेपले निर्देशन दिइसकेको सुनाउँदै उनले अघि भने, ‘हामीले ठेकेदारसँग बसेर कुराकानी गरेका छौं । काम सुरु गर्नुस् भनेका छौं । पिच बनाउनेदेखि अन्य सबै काम सुरु भइसकेको छ । शंका गर्नु पर्ने ठाउँ छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment