Comments Add Comment

परिवारै रक्सी तस्करीमा

१४ साउन, जनकपुरधाम । आफ्ना छोराछोरी गलत काममा नफसुन् र गलत काम नसिकुन् भन्ने मनसाय अभिभावकको हुन्छ । तर, नेपालसँगै सिमाना जोडिएको भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाका एक अभिभावकले आफ्ना दुई छोरालाई रक्सी तस्करीमा लगाएको खुल्न आएको छ ।

भारतको बिहार राज्यमा रक्सी बिक्रीवितरण र प्रयोगमा समेत रोक लागेपछि अहिले बिहारका रक्सीप्रेमीहरु नेपाललाई आफ्नो गन्तव्य बनाएका छन् । यो सँगसँगै बिहारका कतिपय बासिन्दा नेपालबाट रक्सी तस्करी गर्ने काममा लागेका छन् ।

बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाको फुलहर बेलापर्सा वडा नम्बर ९ निवासी एकै परिवारका दाजुभाइ नेपालबाट बिहारतर्फ रक्सी तस्करी गर्दैगर्दा नेपाल प्रहरीबाट समातिएका छन् । पक्राउ पर्नेमा १७ वर्षीय राजकिशोर र १६ वर्षीय जयराम मुखिया छन् ।

यी दुवै जनालाई १२ वटा कार्टुनमा प्याक गरिएको सौफी रक्सी बोकेर जाँदै गर्दा धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका ५ जमुनीघाटस्थित नेपाल-भारत सीमाबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

‘पक्राउ परेकाहरुको परिवारै रक्सी तस्करीमा लागेको खुल्न आएको छ,’ कार्कीले भने, ‘यी दुईका आमाबुवा पनि नेपालबाट बिहारतर्फ रक्सी लगेर महँगोमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

बिहारमा रक्सी बन्द गरिएसँगै प्रदेश २ का आठ जिल्लाबाट रक्सीको अत्यधिक तस्करी हुने गरेको पाइएको छ । यी आठ जिल्लाका प्रहरीहरुले प्रायः दिनहुँ बिहारतर्फ लग्न खोजिने रक्सीहरु बरामद गर्दै आएका छन् । सीमामा खटिने प्रहरीसँगै प्रदेश प्रहरी कार्यालय, जिल्ला र बिभिन्न इलाका प्रहरी कार्यालयले रक्सी तस्करप्रति निगरानी बढाए पनि यो कम हुन सकेको छैन ।

सोमबार पनि प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा, सीमा प्रहरी चौकी लगमाजटही र प्रहरी चौकी बहेडाबेलाबाट खटिएको संयुक्त टोलीले यी दुई किशोरलाई रक्सी बोकेर लग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यी दुई किशोरको बयानका आधारमा धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका ५ बस्ने अरुण मदिरा पसलमा छापा मार्दा १७ कार्टुन सोफी नामक रक्सीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment