Comments Add Comment

ऐतिहासिक दरबार बबरमहल नभत्काइने

१४ साउन, काठमाडौं । सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहल नभत्किने भएको  छ ।

यो भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर सम्झौता पनि गरेको छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिबहरि सापकोटाले बबरमहल पुनर्निर्माण २ वर्षमा सकिने बताए ।

भवनको प्रवलीकरणका लागि विभागले पहल गर्दै आएको थियो । ‘यो भवनमा सडक विभाग २००७ सालबाट बसेको हो, त्यसैले यो भवनलाई जस्ताको तस्तै रहने गरी जोगाएर राख्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘विभागको इतिहाससँग जोडिएको यो भवनमा फेरि हामी फर्किने कुरा सुनिश्चित हुँदा निकै खुसी छौं ।’

उनका अनुसार भूकम्पअघिसम्म यो भवनको स्वामित्वका विषयमा सडक विभाग आफैं अन्यौलमा थियो । ‘भूकम्पपछि हामीले यसबारे खोजी गर्‍यौं’ उनले भने, ‘अदालतमा यसबारे कुनै मुद्दा भेटाएनौं, नेपाल सरकारकै नाममा जग्गा आइसकेको रहेछ, हालै करिब २१ रोपनी जग्गा विभागको नाममा ल्याएका छौं । प्रवलीकरणपछि यो ऐतिहासिक दरबार कायमै रहने भएको छ ।’

यो भवन राणाकालमा बबरशम्शेरले निर्माण गरेको अनुमान छ । यसमा ‘श्री ३ चन्द्रशमशेर १९०३’ लेखिएका इर्ंटहारु पनि भेटिएका छन् ।

१२ वैशाख २०७२ को भूकम्पले कार्यालयमा क्षति पुर्‍याएपछि सडक विभागको कार्यालय पाटनबाट सारिएको छ ।

विभागका कागजात भने यही भवनमा छन् । अब रेट्रो फिटिङका लागि भवन खाली गर्ने विभागको तयारी छ ।

यो भवनमा महालेखा परीक्षाको कार्यलय पनि छ । महालेखा बसेको भागतर्फ भने कम क्षति पुर्‍याएको छ । महालेखा अहिले पनि सोही भवनमा बसेको छ । विभाग बसेको तर्फको भाग र छानासम्मै क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment