Comments Add Comment

आजका पत्रिका : डाबरका औषधिमा उच्च आर्सेनिक

१५ साउन, काठमाडौं । आजका पत्रिकाहरुमा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न सिंगापुर जान लागेकोलगायतका समाचार आजका पत्रिकामा पढ्न पाइन्छ ।

कान्तिपुरले एनसेलले पुँजीगत लाभ करभन्दा बाहेक अर्कै शीर्षकमा समेत करिब २ अर्ब रुपैयाँ कर छलेको समाचार लेखेको छ । कान्तिपुरको भित्री पृष्ठमा डाबर इन्डियाका औषधिमा उच्च मात्रामा आर्सेनिक पाइएको समाचार छ ।

भारतकै भेलोरस्थित क्रिस्चियन मेडिकल कलेज (सीएमसी) र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टले गरेको परीक्षणबाट डाबर इन्डियाबाट उत्पादित औषधिमा आर्सेनिक र हेभी मेटलको मात्रा अत्यधिक देखिएको हो ।

जसबाट झापाका ३६ वर्षे वेदप्रसाद शर्मा पीडित छन् । उनी आफैं कविराज पनि हुन् । ढाड दुख्ने समस्याका कारण लामो समयदेखि डाबर इन्डियाका औषधि उनले सेवन गरेका थिए । तर, पछि छालामा समस्या देखियो । त्यसपछि उनी भेलोरस्थित सिएमसी अस्पताल पुगे । त्यहाँ जँचाउँदा शरीरमा अधिकतम ०.५ मिलिग्राम आर्सेनिकको मात्रा हुनुपर्नेमा १ सय ९९ मिलिग्राम देखियो । पिसाबमा १ हजार १२ मिलिग्राम देखियो । विभिन्न किसिमका प्राविधिक परीक्षणपछि अस्पतालले उनको रोग बोनम्यारो डिप्रेसन रहेको पत्ता लगायो । यसको पछाडि आर्सेनिक विषाक्तता मुख्य कारण रहेको चिकित्सकहरुको ठहर थियो । यसको कारण पत्ता लगाउन इतिहास केलाउँदै जाँदा उनले सेवन गरेका डाबरको औषधि पनि परीक्षण गरियो । यो परीक्षणमा डाबरको औषधिमा आर्सेनिक र हेभी मेटल पाइएको समाचारमा उल्लेख छ ।

डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिका कारण आर्सेनिक विषाक्तता भएर आफूमा बोनम्यारो डिप्रेसन भएको दाबीसहित शर्माले सम्बद्ध निकायसँग क्षतिपूर्ति मागेको कान्तिपुरमा समाचार छ ।

नागरिक दैनिकले प्रधानमन्त्री केपी शर्मा ओली साउन १८ गते आराम गर्न सिंगापुर जान लागेको समाचार छापेको हो । ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिना गर्ने मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीले अख्तियार र सिआईबीमा बयान दिएको समाचार पनि नागरिकमा छ ।

राजधानी दैनिकमा अधिकांश मन्त्रालयले कार्यसम्पादन सम्झौता नगराएको, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य सरकारको स्वीकृतिविना जम्बो टोली लिएर विदेश गएको लगायतका समाचार छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा ठेक्काको म्याद थपिए पनि सडक नबन्ने गरेको बेथितीको समाचारमा छ । त्यससँगै तातोपानी भन्सार नाका खुले पनि भूकम्पअघि जसरी चल्न नसकेको समाचार पनि छ ।

कारोबार दैनिकमा १० वर्षमा ३ सय प्रतिशतले ब्यापार घाटा बढेको मुख्य समाचार छ ।

गोरखापत्र दैनिकले आज साउन १५ को सन्दर्भमा खिर खानु हरेक हिसाबले फाइदाजनक रहेको समाचार छापेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment