Comments Add Comment

एक वर्षको सेयर बजार : नेप्सेको पहिरो थामियो

१५ साउन, काठमाडौं । केही वर्षदेखि सेयर बजारमा निरन्तर आइरहेको पहिरो पछिल्लो एक वर्षमा थामिएको छ । अल्पकालीन रुपमा उतारचढाव आए पनि एक वर्षको अन्तरालमा नेप्से ६२ अंकले माथि उक्लियो ।

बजार निरन्तर ओरालो लागेर निराश बनेका लगानीकताहरुलाई यो थोरै राहतको खबर हो । तर, यसमा सन्तोष मान्न सक्ने अवस्था भने छैन । किनकि पछिल्लो चार वर्षमा लगानीकर्ताहरुले धेरै रकम गुमाइसकेका छन् ।

सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि सेयर बजारका लगानीकर्ताहरुलाई सहज हुने किसिमका केही व्यवस्थाहरु गरे पनि बजारमा ठोस सुधार हुन सकेको छैन । यद्यपि, वर्षभरिको तुलना गर्ने हो भने अघिल्लो आर्थिक वर्ष ०७४/७५ भन्दा गत आर्थिक वर्ष ०७५/७६ राम्रै रह्यो ।

सेयर बजारमा एक समय १९ खर्ब रुपैयाँभन्दा माथि पुँजीकरण पुगेको थियो । त्यसयता लगातार ओरालो लागेको सेयर बजारको पुँजीकरण १३ खर्ब रुपैयाँको हाराहारीमा झर्यो । सेयर बजारको पुँजीकरणमा पहिरो जाँदा लगानीकर्ताहरु निरुत्साहित बन्दै गएका थिए ।

तर गत वर्ष भने सुधार भएको छ । नेप्से परिसूचक एक वर्षको अवधिमा ६२ अंक माथि उक्लयो । ०७५ असार मसान्तसम्म १२१२.४ अंकमा सीमित नेप्से परिसूचक ०७६ को साउन १ सम्म आइपुग्दा १२७४.८६ अंकमा पुगेको छ । ०७४ असार मसान्तमा उक्त सूचकांक ७.९ प्रतिशतले ह्रास भई १५८२.७ विन्दु कायम भएको थियो । त्यसपछि भने बजार सुधारको दिशामा छ ।

सेयर कारोबारमापक नेप्से परिसूचकसँगै बजार पुँजीकरणमा समेत राम्रो सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार एक वर्षको अवधिमा १ खर्ब ५२ अर्ब २० करोड रुपैयाँले बजार पुँजीकरण बढेको छ ।

२०७५ को असार मसान्तसम्म १४ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ रहेको सेयर बजारको पुँजीकरण ०७६ को साउन १ गतेसम्म आइपुग्दा १५ खर्ब ८७ अर्ब ३४ करोड १७ लाख रुपैयाँ पुगेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

२०७६ को साउन १४ सम्म भने यो तथ्यांक घटेको छ । नेप्से परिसूचक १२५९.३७ मा आइपुगेको छ भने बजार पुँजीकरण १५ खर्ब ६८ अर्ब ७८ करोड रुपैयाँमा झरेको छ ।

अनलाइन प्रणाली कार्यान्वयनमा

आर्थिक वर्ष ०७५/७६ मा बहुप्रतिक्षित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएको छ । यो प्रणाली लागू भएपछि सेयर बजार माथि उठ्ने अपेक्षा गरेका थिए लगानीकर्ताले । तर, उनीहरुको उत्साह धेरै टिकेन, किनभने कार्यान्वयन लगत्तै अनलाइन प्रणालीमै खराबी आयो ।

प्रणालीमा आएको खराबीका कारण कतिपय दिनहरुमा कारोबार हुनै सकेन भने कहिलेकाहीँ समय अगाडि नै बन्द हुने गरेको थियो । कारोबार प्रणालीमा समस्या आउँदा नेपाल स्टक एक्सचेञ्जले राति ६ः३० सम्म कारोबार खुलाउन समेत बाध्य भएको थियो । सामान्यतया सेयर कारोबार हुने समय बिहान ११ बजेदेखि मध्याह्न ३ बजेसम्म हो ।

बजारमा आएका विभिन्न समस्याका कारण लगानीकर्ताहरु आन्दोलनमा होमिन बाध्य भए । शेयर लगानीकर्ता दबाव समूह अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदलगायतको राजीनमा माग गर्दै आमरण अनसनसमेत बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment