Comments Add Comment

सडक निर्माणमा तदारुकता, भदौभित्रै ठेक्का सक्ने तयारी

२५ भदौ, काठमाडौं । हरेक आर्थिक वर्षको अन्त्यतिर आएर मात्रै सडक-निर्माणका कामहरुले तीव्रता पाउने नेपालको पुरानै रोग हो । यसरी ढिलाइ हुनुमा समयमै टेन्डर गरेर ठेकेदार छनोट गर्न नसक्नु एउटा कारण रहेको जानकारहरुले औंल्याउने गरेका छन् । यस वर्ष भने पुरानो परिपाटीमा सुधार आउन सक्ने संकेत देखिएको छ ।

सडक विभागका अनुसार यो वर्ष भदौमा नै सडकमार्ग र पुलहरुको ठेक्काका लागि धेरै सूचना निस्किँदैछन् । अहिले विभाग अन्तर्गतका आयोजना र सडक डिभिजन कार्यालयहरुले बोलपत्र आह्वान गर्ने क्रम क्रम तीव्र पारेका छन् । विभागले भदौभित्र सबै सडकको ठेक्का लगाइसक्न निर्देशन दिएको छ ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरी सापकोटा दशैंपछि आयोजनाहरु कार्यान्वयनमा लैजान सकिने गरी टेन्डर गरिसक्न निर्देशन दिइएको बताउँछन् । उनका अनुसार कम्तीमा दशैंअघि सबै डिभिजन र आयोजनाले आफूले यस वर्ष गर्नुपर्ने कामको ठेक्का आह्वान गरिसक्नेछन् । यसो भए चाडपर्वलगत्तै विकासको काम तीव्र गतिमा अघि बढाउन सकिने विभागको विश्वास छ ।

‘यो वर्ष विभागसँग बजेट गत वर्षको भन्दा धेरै छ । यसको खर्च समयमै गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘विकास बजेटको कार्यान्वयनलाई प्रभावकारी बनाउन समयमै ठेक्का लगाइसक्ने योजना बनाएका छौं ।’

यो वर्षको बजेटमा सरकारले ठूला सडक आयोजनामा अधिकतम बजेट विनियोजन गरेको छ । भौगोलिक आवद्धता कायम गर्न, कृषि तथा उद्योग-व्यवसायको विकास गर्न र उच्च आर्थिक वृद्धि हासिल गर्न भन्दै सरकारले सडकमा पुँजीगत खर्च गर्ने गरी १ खर्ब २९ अर्ब बजेट छुट्याएको छ ।

विभागका सूचना अधिकारी अर्जुन सुवाल भन्छन्, ‘तयारी नपुगेर वर्षमै काम गर्नुपर्ने अवस्था अन्त्य गर्न यो तयारी सहयोगी बन्छ ।’

के गरिँदैछ यो वर्ष ?

पूर्वपश्चिम राजमार्गलाई डेटिकेटेड चार लेनको सुरक्षित गतियुक्त सडकका रुपमा विस्तार गर्ने काम यसै वर्षबाट सुरु हुँदैछ । बुटवल-नारायणगढ खण्ड र कमला-कन्चनपुर खण्डको विस्तारलाई तिब्रता दिने योजना छ ।

बाँकी खण्डमा भने विस्तृत सम्भाब्यता अध्ययन गरिनेछ । पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि नै सरकारले १९ अर्ब १८ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

यस्तै मध्यपहाडी पुष्पलाल राजमार्गको ४३५ किलोमिटर कालोपत्रे गरिसक्ने सरकारको लक्ष्य छ । यसका लागि १२ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याइएको छ । तराईका जिल्लाहरु जोड्ने हुलाकी राजमार्गमा पनि आगामी आवमा ३५० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । यो आयोजनाका लागि १३ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

निर्माणाधिन करिडोरमा आयोजनालाई पनि सरकारले बजेट छुट्याएको छ । मेची, कोशी, कालिगण्डकी र कर्णाली करिडोरको निर्माणमा तीव्रता दिन ५ अर्ब ६ करोड बजेट विनियोजन भएको छ । चुरे तथा भित्री मधेशका क्षेत्र जोडेर बनाउन थालिएको मदन भण्डारी राजमार्गमा ४ अर्ब ८२ करोड छुट्याइएको छ ।

‘मुख्य राजमार्गहरुमा यस अघिदेखि नै ठेक्का लाग्दै आएका छन् । बाँकी ठेक्का पनि फटाफट लगाएर काम थाल्दैछौं,’ प्रवक्ता सापकोटाले भने, ‘यो वर्ष सडक आयोजनाको काम वर्षा अगावै गरिसक्ने गरी तयारी गरेका छौं ।’
सरकारले डोल्पा र हुम्ला सदरमुकामसम्म सडक पुर्‍याएर सबै जिल्लालाई राष्ट्रिय सडक संजालमा जोड्ने घोषणा गर्ने तयारी गरेको छ । पूर्वपश्चिम राजमार्गसँग सबै प्रदेशको राजधानी जोड्ने सडकलाई चार लेनमा विस्तार गर्ने क्रममा कोहोलपुर-सुर्खेत राजमार्ग र सिद्धार्थ राजमार्ग स्तरोन्नति पनि गरिँदैछ । यी दुई आयोजनाका लागि सरकारले २ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ ।

औद्योगिक करिडोर बनाएर दक्षिणतर्फका व्यापारिक सीमालाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने आयोजनाका लागि पनि सरकारले ५ अर्ब ४ करोड रुपैयाँ छुट्याएको छ । गल्छी-त्रिशुली-बेत्रावती-मैलुङ सडकलाई दुई लेन बनाइँदैछ । यसैवर्ष मैलुंग-स्याफ्रुवेसी सडक खण्डको कालोपत्रे गर्ने पनि लक्ष्य छ । दुई आयोजनाले १ अर्ब ५८ करोड बजेट पाएका छन् ।

यस्तै वीपी राजमार्गको सुधारमा पनि ९६ करोड बजेट छुट्याइएको छ । सुर्खेत-दैलेख-नाग्मा-गमगढी-नाक्चेलाग्ना, जाजरकोट-दुनै-मरिमपास-तिन्जेधो, घोराही-धवाङ-मुसिकोट शहीद मार्गमा पनि सुधारको काम हुनेछ । यस वर्ष डुम्रे-बेसिसहर-चामे, चतरा-लेगुवा-अरुण कोरिडोर, कक्रहवा-लुम्बिनी-रामापुर, दाङ-चिसापानी, मालढुंगा-वेनी, खुटिया-दिपायल-चैनपुर-उरै र गमगढी-रारा सडकले पनि रुप फेर्नेछन् ।

काठमाडौंको चक्रपथ सडक विस्तार गर्न १ अर्ब ८१ करोड तथा कान्तिपथका लागि ६१ करोड रुपैयाँ खर्च गरिँदैछ । नागढुंगामा बन्ने सुरुङ मार्गका लागि मात्र ६ अर्ब २७ करोड खर्च गर्ने तयारी छ ।

यसवर्ष देशभर २ सय सडक पुल निर्माण गर्न र निर्माणाधीन तथा नयाँ पुलका लागि ७ अर्ब ४७ करोड रुपैयाँ खर्च हुनेछ । सडक मर्मतमा सडक बोर्डले आगामी आवमा ८ अर्ब पाएको छ । यसमार्फत सडक मर्मत सुधारको काम भइरहेको विभाग बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment