News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत सिरहामा निर्माण भइरहेको सडकमा ग्राभेलको सट्टा माटो प्रयोग भएको भन्दै स्थानीयले काम रोकाएका छन्।
- गोलबजार नगरपालिका–१० देखि नरहाको देवीपुरसम्म ४ किलोमिटर ७४५ मिटर सडक निर्माणका लागि ११ करोड ५० लाख ४ हजार ३२५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
- भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रविन्द्र महतोले केही स्थानमा माटो प्रयोग भएको स्वीकार गर्दै त्यसलाई हटाउन र प्रयोगशाला परीक्षण नआएसम्म काम रोक्न निर्देशन दिएका छन्।
१७ कात्तिक, सिरहा । मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत सिरहाको गोलबजारदेखि नरहा हुँदै निर्माण भइरहेको सडकमा ग्राभेलको सट्टा माटो प्रयोग गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। गुणस्तरहीन सामग्री प्रयोग भएको आरोप लगाउँदै स्थानीयले विरोध गरेपछि सडक निर्माण कार्य नै रोकिएको छ ।
गोलबजार नगरपालिका–१० स्थित अशोक गाछीदेखि कदिमाटोल, भाइजीटोल, बल्कवा हुँदै नरहाको देवीपुरसम्म निर्माण भइरहेको सडकमा ठेकेदार कम्पनीले ग्राभेल हाल्नुपर्ने स्थानमा माटो तथा बालुवा प्रयोग गरेको स्थानीयको भनाइ छ।
उक्त सडक निर्माणका लागि २०८२ साल जेठ १४ गते एटलस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि र पवित्र निर्माण सेवा, काठमाडौं नयाँ बजारको संयुक्त उपक्रम (जेभी) सँग ११ करोड ५० लाख ४ हजार ३२५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
कूल ४ किलोमिटर ७४५ मिटर सडक अस्फाल्ट कालोपत्रे गर्ने गरी सम्झौता भएको आयोजनाको निर्माण कार्य २०८३ साल मंसिर १३ गतेभित्र सम्पन्न गर्नु पर्नेछ।
निर्माण सम्पन्न गर्ने समयसीमा नजिकिँदै गर्दा ठेकेदार कम्पनीले काममा हतार गर्दै गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ। उनीहरूका अनुसार रातिको समयमा गाउँलेहरू सुतिसकेपछि ग्राभेलको सट्टा माटो खसाल्ने काम भइरहेको छ।

गोलबजार नगरपालिका–७ कदिमाटोलका इन्द्रदेव यादवले रातिको समयमा माटो खसाल्ने गरिएको बताए। ‘हामी राति सुतिसकेपछि माटो खसाल्ने काम हुँदो रहेछ। बिहान उठ्दा मात्रै थाहा हुन्छ। हिजो राति पनि माटो खसालेको देखेपछि ठेकेदार र प्राविधिकलाई जानकारी गराएका हौँ,’ उनले भने, ‘जता पायो त्यतैबाट उत्खनन् गरी रुखका जराहरूसमेत भएको माटो हालिएको छ ।
स्थानीय श्रवण यादवले सडक निर्माणमा भइरहेको अनियमितता र गुणस्तरहीन कामबारे जनप्रतिनिधि तथा सम्बन्धित कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे।
‘स्थानीयले विरोध गरेपछि मात्रै ठेकेदार र इन्जिनियर साइटमा आएर अनुगमन गर्ने गरेका छन्। अरू दिन सम्बन्धित कार्यालयका प्रतिनिधिको उपस्थिति हुँदैन,’ उनले भने। पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर निर्माण कार्य रोक्नुपरेको उनको भनाइ छ।
यता, निर्माण कम्पनीका साइट इन्चार्ज गोपाल हमालले सडक निर्माणका क्रममा केही स्थानमा माटो खसेको स्वीकार गरेका छन्। उनले भने, ‘सडक निर्माणका लागि खसालेको ग्राभेल नै हो । अब स्थानीयको विरोधपछि प्रयोग गरिएको सामग्री परीक्षणका लागि प्रयोगशालामा पठाइन्छ । त्यसको रिपोर्ट आएपछि मात्रै थप कुरा स्पष्ट हुन्छ ।’
भौतिक पूर्वाधार कार्यालय सिरहाका इन्जिनियर रविन्द्र महतोले स्थानीयको गुनासोपछि आफूले निर्माणस्थलको अनुगमन गरेको जानकारी दिए। अनुगमनका क्रममा केही स्थानमा माटो प्रयोग भएको पाइएको स्वीकार गर्दै उनले उक्त माटो हटाउन निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताए। साथै, प्रयोग गरिएको सामग्रीको प्रयोगशाला परीक्षणको रिपोर्ट नआएसम्म निर्माण कार्य रोक्नसमेत निर्देशन दिइएको उनले बताए ।
करोडौँ रुपैयाँको लागतमा निर्माण भइरहेको सडकमा सुरुदेखि नै गुणस्तर कायम गर्नुपर्नेमा समयसीमा नजिकिँदै गर्दा हतारमा काम गर्ने नाममा मापदण्ड मिचिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्। उनीहरूले प्रयोग गरिएको निर्माण सामग्रीको निष्पक्ष प्रयोगशाला परीक्षण, गुणस्तरअनुसार काम गराउन र सम्बन्धित निकायबाट नियमित अनुगमन गर्न माग गरेका छन्।
प्रतिक्रिया 4