Comments Add Comment

स्वयम्भूबाट रन्थनिँदै आएको राँगोलाई न्यूरोडमा गोली हानेर मारियो

७ असोज, काठमाडौं । स्वयम्भूतर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगोलाई गोली हानेको हो ।

केही मानिसहरुलाई राँगोले आक्रमण गरेर घाइतेसमेत बनाएकाले गोली हानेर मार्नु परेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकामा राँगोले बितन्डा मच्चाउँदा दुई जनाको मृत्यु भएको थियो भने प्रहरी हबल्दारसहित ६ जना घाइते भएका थिए ।

यो पनि पढ्नुहोस काठमाडौंमा राँगो आतंक ! मर्निङवाक हिँडेका मानबीरको मृत्यु

राँगोको आक्रमणबाट मानबिर महर्जनको फागुन ११ गते नै मृत्यु भएको थियो भने नायब सुब्बा कान्छा श्रेष्ठको फागुन १४ गते मृत्यु भएको थियो । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ हुँदै दहचोकसम्म लखेटेर प्रहरीले गोली हानेर सो राँगोलाई मारेको थियो ।

यस्तै २०७१ साल मंसिर १५ गते ह्याम्स अस्पतालको तत्कालीन बुद्धनगरस्थित कार्यालयमा पसेर भैंसीले आतंक मचाएको थियो । सो भैंसीलाई पनि प्रहरीले अस्पताल परिसरमै गोली हानेर मारेको थियो ।

यो पनि पढ्नुहोस भैंसीले अस्पतालभित्रै पसेर बितण्डा मच्चाएपछि … (फोटो कथा)

त्यसअघि २०७३ असार ९ गते मानिसहरुलाई आक्रमण गर्दै हिँडेको एक राँगोलाई शहीदगेट क्षेत्रबाट जिउँदै नियन्त्रणमा लिइएको थियो ।

मासुको प्रयोजनका लागि काठमाडौं भित्राइने राँगा र भैंसीले काठमाडौंमा बेला-बेलामा दुःख दिने गरेको स्थानीयबासीको गुनासो छ । अधिकांश वधशालाबाट फुत्किएर आएकाले यसरी दुःख दिने गरेको पाइएको छ ।

यो पनि पढ्नुहोस भागेको राँगोले शहिदगेटमा बितन्डा मच्चायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment