Comments Add Comment

‘छ माया छपक्कै’ दशैंमा रिलिज गर्न हल व्यवसायीको आग्रह

यसपटकको दशैंको बिदा हल संचालकहरुका लागि खल्लो हुँदैछ । कारण, यो बर्षको दशैंमा कुनै पनि ठूलो नेपाली चलचित्र रिलिज नहुने पक्का छ । केही नेपाली चलचित्रले फूलपातिलाई प्रदर्शन मिति तय गरेका छन् । आशा गरौ, ती चलचित्रले खल्लो बन्ने संकेत देखिएको नेपाली चलचित्रको व्यापारलाई जगाउनेछन् ।

तर, यो बर्षको दशैंमा ठूलो ब्यानरका र दर्शकले प्रतिक्षा गर्ने चलचित्र छैनन् । दशैंमा राम्रो व्यापार गर्दै आएको ‘छक्का पन्जा’ टिमले यसपटक दशैंको टिकापछि मात्र चलचित्र ‘छ माया छपक्कै’ रिलिज गर्दैछ ।

चलचित्र ‘रातो टिका निधारमा’ले दशैंमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो । तर, सुरुवाती दिनमा चलचित्रका लागि दर्शक नआएपछि हल व्यवसायीहरुको दशैंको बिदामा राम्रो कमाई गर्ने आशा निराशामा बदलिएको छ । हिन्दी चलचित्र ‘वार’ले सबै हलमा मान्छे तान्ने संभावना छैन । किनकी, यो चलचित्र काठमाण्डौ र देशका केही मल्टिप्लेक्समा सुखद चल्न सक्छ ।

हुनपनि दशैंको बिदामा दर्शक नेपाली चलचित्र नै हेर्न चाहन्छन् । सिंगल हलमा त हिन्दी चलचित्रको व्यापार धेरै कमजोर बनिसकेको छ । यसैले पनि सिंगल हलका कर्मचारी राम्रो नेपाली चलचित्र आएको खण्डमा दशैंमा तलब मात्र होइन, बोनस नै खाने दाउमा समेत हुन्छन् ।

यसपटक भने यो अवस्था नदेखिने भएको छ । यसैले, पनि केही हल संचालकहरुले असोज २४ गते रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’लाई एक साता अगाडि सार्न यसको निर्माणपक्षसँग आग्रह गरेका छन् ।

निर्माता रोहित अधिकारी भन्छन्–‘हो, हामीलाई विशेषगरि मोफसलका हल संचालकहरुले फोन गरेर एक साता अगाडि चलचित्र रिलिज गर्न आग्रह गर्नुभएको छ । तर, अब यो संभव छैन ।’

चलचित्रका अर्का निर्माता दीपकराज गिरीले पनि चलचित्रलाई दशैंको बिदामा रिलिज गर्न हलहरुले आग्रह गरेको बताए । उनले भने–‘धेरै हल संचालकहरुले हामीलाई यो आग्रह गर्नुभएको छ । तर, हामीले प्रचार नै असोज २४ भनेर गरिसकेका छौ । अगाडि आउन संभव छैन ।’

नेपाली चलचित्र क्षेत्रमा दर्शक हलसम्म तान्दै आएका व्यानर र निर्मातालाई बचाउने भन्दा पनि लडाउने खेल ज्यादा चल्छ । कोही चलिहाल्यो भने उसलाई कसरी असफल बनाउने भन्ने खेल पर्दा पछाडि खुबै हुन्छन् । दर्शकले पत्याएका केही ब्यानरलाई बचाउन सके त्यसले चलचित्र क्षेत्रलाई पनि फाइदा गर्छ । तर, पर्दा भित्र हुने फोहोरी राजनीतिले यस्तो हुन सकेको छैन । जसले राम्रा मेकर पछिपछि भाग्नु पर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment