Comments Add Comment

‘मृत्युको डर लाग्न छाड्यो’

'कपाल सेताम्य भइसकेको थियो, अहिले कालो कपाल आएको छ'

१२ असोज, काठमाडौं । नेपाली साहित्यका जिउँदा इतिहास हुन् कविवर माधव घिमिरे । उनले गत असोज ७ गते आफ्नो १०१ औं जन्मदिन मनाए । उमेरले दोस्रो शताब्दीमा हिँडिरहेका घिमिरे अहिले पनि मानसिकरुपमा उत्तिकै स्फुर्त छन्, उत्साही छन् । शारीरिकरुपमा भने अवश्य केही गलेका छन् ।

घिमिरेले यो उमेरमा पनि लेख्न छाडेका छैनन् । अहिले उनको एक मात्र ध्येय छ, आफ्नो प्रकाशोन्मूख महाकाव्य ‘ऋतम्भरा’ लाई पूर्णता दिनु । घिमिरे भन्छन्, ‘अब मेरो बाँच्नुको एकमात्र अभिष्ट यही काव्यलाई सम्पन्न गर्नु हो । यदि सकिनँ भने मलाई थकथकी भइरहने छ ।’

अनलाइनखबरसँगको कुराकानीमा घिमिरेले ऋतम्भरका दुईवटा सर्ग पूरा गर्न बाँकी रहेको र आफू त्यसमा लागिपरेको बताए । साहित्यमा लेखनाथको परिस्कारवादी धारा र देवकोटाको स्वच्छन्दतावादी धाराको मिश्रणबाट घिमिरेले आफ्नै फरक शैली विकास गरेका छन् । उनका कवितामा लोक भाकाको सुगन्ध मिसिएको हुन्छ ।

कवि घिमिरेसँग उनको बुढ्यौली जीवन र साहित्य सिर्जनाको सेरोफेरोमा रहेर अनलाइनखबरकर्मी चिरञ्जीवी पौडेल र सुदर्शन अर्यालले गरेको कुराकानी :

दोस्रो शताब्दीको पहिलो जन्मदिन कस्तो रहृयो ?

तपाईंले सोध्नुभएको प्रश्नलाई एक वाक्यमा उत्तर दिने हो भने रमाइलो भयो । तर, त्यसको तपशीलमा जति शीर्षक राखे पनि हुन्छ । विशेष गरी अस्ति (बुधबार) बाट मेरो जन्मको एक सय वर्ष पूरा भएको छ । अब म अर्काे शताब्दीमा प्रवेश गरेको छु । त्यसैले पनि होला मेरो यो जन्मदिन अघिपछिको जस्तो भएन ।

अघिपछिको जन्म दिनमा आफ्नै घरका मानिसहरुको मात्रै उपस्थिति हुने गर्दथ्यो । छोरा-नाति हुन्थे । मेरा शाखा सन्तान अहिले त पौने सय -७० जना) जति पुगिसकेका छन् । उनीहरुसँगै बसेर मनाइन्थ्यो । तर, यो जन्मदिन अरुभन्दा धेरै विशेष भयो ।

जन्मदिनमा आफ्नो स्वास्थ्यलाई वास्ता नगरी दिनभरी नै व्यस्त भएँ । बिहान घरका मानिसहरुसँग नै जन्मदिन मनाएको थिएँ । त्यसपछि नाचघर गएँ । यसपटक मेरो जन्मदिन बनाउनको लागि विभिन्न कमिटीहरु नै गठन भएछन् । राष्ट्रिय नाचघरमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ केक काट्ने व्यवस्था गरिएको रहेछ । सोही संस्थाले सम्मानस्वरुप प्रमाणपत्र पनि दियो ।

दुई बजेतिर त्यहाँबाट घर फर्किएँ । घरमा घिमिरे बन्धुहरुले अर्काे कार्यक्रम राखेका रहेछन् । त्यता सहभागी भएँ । त्यसपछि केही पत्रकारहरुसँग कुराकानी भयो । अँ, हिजो बेलुका पनि हास्यकलाकार (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) हरु आएका थिए । उनीहरु त एक घण्टा कि दुई घण्टासम्म बसेर गए । पत्रकारहरु त आइरहेकै छन् ।

यो कवि-कलाकारहरुको देश हो । तपाईंहरुले देख्नुभएकै छ । कवि-साहित्यकारहरु यहाँ सम्मानित नभएको दिन हुँदैन । विश्वमा सायदै अरु यस्ता देश होलान् । त्यसैले सबै विशेष नै भयो ।

जन्मदिनमा केक काट्ने संस्कृति पछिल्लो समय नेपालमा निकै झांगिएको छ । तपाईंलाई यो चलन कस्तो लाग्छ ?

संस्कृति र सभ्यता दुई फरक कुरा हुन् । सभ्यता जहाँ पनि एक दुई दशकसम्म टिक्छ । एउटा सभ्यता पुरानो भएपछि र अर्काे सभ्यता राम्रो लाग्छ । त्यसको ठीक विपरीत संस्कृति हजारौं वर्षका लागि हुन्छ । उदाहरणका लागि हामीले मनाउने दशैं संस्कृति हो भने जन्मदिनमा केक काट्नु सभ्यता हो ।

अर्काे कुरो, शक्तिशाली देशको सभ्यता कमजोर देशले अवलम्बन गर्ने परिपाटी हुन्छ । आफू पनि उनीहरु जस्तै सभ्य र राम्रो देखिन यस्तो नक्कल गर्ने गरिन्छ । यो केक काट्ने काम पनि नक्कल हो । यो केही समय चल्छ, त्यसपछि हराउँदै जान्छ ।

तपाईं सानो छँदा कसरी मनाइन्थ्यो जन्मदिन ? कि मनाउने चलन नै थिएन ?

पहिले-पहिले पण्डितले मिति हेरेर शुभ मुहूर्तमा जन्मदिन मनाउने गरिन्थ्यो । जन्मदिनमा चाहिँ विशेषतः अष्टचिरञ्जीवीको पूजा गरिथ्यो । त्यसको एउटै कारण हो भावना । उनीहरु जसरी नै हामी पनि लामो आयु बाँच्न सकौं भन्नको लागि यस्तो पूजा गरिएको हो ।

त्यतिबेला उपहार लिनेदिने चलन थिएन । पहिले हुनेखानेहरुले त पण्डितहरुलाई केही दिन्थे । तर, त्यस्ता मानिसहरु पनि एकाध हुन्थे । यी सबै देखावटी मात्रै हुन् । म त भन्छु नेपालमा रहेका सबै जातजातीहरुले आफू अनुसारको परम्परा र चार्डपर्वहरु मनाउनुपर्छ । अरुले त्यसमा रमाउनुपर्छ । यस्तो हुँदा एक किसिमको सदभावना देख्न सकिन्छ । सबैले अरुको संस्कृति अँगालेर हाम्रो संस्कृति कसले संरक्षण गर्ने ?

दशैं पनि आइसक्यो । दशैंलाई हेर्ने दृष्टिकोण के छ यहाँको ?

एउटा कृषि प्रधान मुलुकका लागि सुझबुझपूर्ण रुपमा मान्न थालिएको चाड हो दशैं । यस समयमा किसानहरु फुर्सदमा हुन्छन् । बर्खाले बिदाइ गरिसकेपछि अब के गर्ने त ? लुगा फेर्ने, खाना खाने, नाचगान गर्ने भनेर यस्तो पर्व सुरु गरिएको हो ।

असारको १५ गते कुनै उत्सव मनाउने हो भने के त्यतिबेला घरमा बस्न फुर्सद हुन्छ ? त्यसका लागि खेतमा नै गएर मनाउने उत्सव छ । जब शरद लाग्छ । अनि खेतमा केही काम छैन । यो घमाइलो समयमा घरमा नै बसेर उत्सव मनाउनु राम्रो हुन्छ । त्यसैले यो कृषि सभ्यता अनुसार सुरु भएको पर्व हो ।

तर, अहिले त कृषि मात्र होइन उद्योगको सभ्यता पनि छ । कामको शिलशिलामा टाढा टाढा गएकाहरु पनि दशैंका लागि भनेर घर आउँछन् । कम्पनीहरुले पनि लामो समयको बिदा दिन्छन् । त्यसैले यो कृषि प्रधानबाट उद्योग प्रधान सभ्यताको पर्व पनि भएको छ ।

यही रमाइलो र घमाइलो शरदमा नै मेरो पनि जन्म भएकोमा एकदमै खुशी लाग्ने गर्छ । यही सिर्जनशील समयमा जन्म भएकाले पनि म साहित्यतिर लागेको हुँ कि ? भन्ने जस्तो पनि लाग्छ । साँच्चिकै यो ऋतु र वसन्त ऋतु साहित्य सिर्जनाका लागि एकदमै महत्वपूर्ण छ । मेरा लागि पनि यो समय एकदमै महत्वपूर्ण छ ।

उबेला देवकोटा-लेखनाथको ओझेलमा परेर मेरा कविता पेलिएका थिए । अहिले मूलधारमा आएँ । सबैको दृष्टि मतिरै एकोहोरिएको अनुभव हुन्छ । खुशीले ढक्क फुलेको छु

अहिले हजुरको स्वास्थ्य अवस्था चाहिँ कस्तो छ ?

दुई वर्षअघि बिरामी भएर अस्पताल जाँदा डाक्टरले एक हप्तापछि सबै ठीक हुन्छ, त्यसपछि घर जानहुन्छ भने । त्यो भनेको कति हप्ताहरु बिते-बिते । त्यसपछि म उपचारका लागि दिल्ली जानुपर्‍यो । त्यहाँबाट आएको पनि कति भयो । अहिले म आफैं हिँड्न चाहिँ सक्दिनँ । पछाडि पातो दुख्ने गर्छ । त्यस्तै सामान्य समस्याहरु छन् ।

यी समस्याको पनि दुई कारण छन् । एउटा त रोग नै नलागिरहेको मान्छेलाई रोग भन्ने कुराले समात्यो. । अर्काे चाहिँ बुढ्यौली पनि लागेको हो । जन्मदिनको दिन दुई ठाउँमा भाग लिँदाको थकाइ दुई दिनसम्म पनि मरेको छैन । त्यही हो अरु त । बरु केही कुरा सुधार पनि भएको छ । पहिले स्वर र हात काँप्ने गर्दथ्यो । अहिले त्यो समस्या हराएको छ । यसमा त म आफैं अचम्ममा परेको छु ।

मानिसको उमेर एउटा सीमा कटेपछि पहिले झरेका दाँतहरु फेरि पलाउन थाल्छन् भन्ने पनि सुनिन्छ । के तपाईंको त्यस्तो भएको छ ?
दाँत त होइन, (टोपी फुकाल्दै) यी कपाल हेर्नुस त । पहिले सबै सेताम्य भइसकेको थियो । अहिले फेरि धेरै काला कपालहरु आएका छन् । अचम्मै भएको छ ।

तपाईंको खानपिन कस्तो छ ?

मेरी एउटी छोरी डाक्टर हुन्, हार्वर्ड युनिभर्सिटीमा पढेकी । उनले सिकाए अनुसार खासगरीकन मासुको झोलसँग दाल अलिकति मिसाएर भात खान्छु । धेरै साह्रो चिज खान सक्दिनँ ।

हो, हरेक दिन । बिहान आठ बजेतिर खान्छु । दिउँसो ११/१२ बजेतिर भोजन गर्छु । दिउँसो चियासिया खाइन्छ । बेलुका साढे ७/८ बजेतिर फेरि झोलभात खान्छु ।हरेक दिन त्यही ?

राति कतिबेला सुत्नुहुन्छ ?

मेरो मूल समस्या नै निद्राको छ । यो पनि के समस्या, मजासँग सुते भइहाल्यो नि, भन्नुहोला । तर सुतेर के गर्नु, निद्रै लाग्दैन । दायाँ पल्टियो दायाँ दुख्छ, बायाँ पल्टियो दायाँ दुख्छ । उत्तानो पर्‍यो सबैतिर दुख्छ । म त रातभर माछोजस्तो पल्टिएको पल्टियै हुन्छु । राति निदाउन सक्दिनँ, दिउँसो चाहिँ झुलेको झुल्यै हुन्छु ।

तीन दिनदेखि चाहिँ अचम्म भइरहेको छ । व्यहोरा सप्रेको हो कि के हो, राति ११ बजे नै निद्रा पर्न थालेको छ । बिहान साढे ६ तिर उठ्छु । नत्र त समस्यै भएको थियो । तर, अहिले पनि त्यही डर लाग्छ, पूरै रात जाने हो कि भनेर ।

सपना कस्तो देख्नुहुन्छ ? कति सम्झिनुहुन्छ ?

वास्तविक जीवनमा चाहेर पनि गर्न नसकेका चिजहरु सपनामा देख्छु । काव्य पूरा गरेको सपना देख्छु, ब्यूँझेपछि खिन्नता हुन्छ ।

सय वर्षको यात्रामा तपाईंका लागि सबैभन्दा विशिष्ट अनुभूति के हो ?

मलाई रमाइलो के लाग्छ भने लेखनाथ र लक्ष्मीप्रसाद हुँदा मतिर कसैले पनि ध्यान दिएका थिएनन् । मेरा कविताहरु पेलिएका थिए । म कुनामा परेको थिएँ । त्यतिबेला मैले धेरै रचनाहरु पनि लेखिनँ ।

अहंकार बोल्यो भन्नुहोला, अहिले भने सबैको ध्यान मतिर गएको जस्तो अनुभूति भएको छ । मेरा गीतहरु, मेरा कविताहरु सुन्ने त्यसलाई मनन गर्ने गरेको सुन्दा म त खुशीले धक्क भएको छु । यो कति वर्ष रहला त्यो अर्कै कुरा हो । त्यो फरक मैले देखेको छु ।

अहिले पनि उनीहरुको स्थान छँदैछ । म अहिले उनीहरुभन्दा पनि माथि भएँ भनेको होइन । उनीहरुको स्थान फरक छ, मेरो फरक छ । तर, म त्यतिबेला कुनामा परेको मानिस अहिले मूलधारमा आउँदा बडो रमाइलो लागेको छ ।

अब अलिकति बुढ्यौली जीवनको अनुभव पनि सुनाइदिनुहोस् न । यो उमेरका राम्रा-नराम्रा पक्षहरु के हुन् ?

मृत्युको डर हटिसक्यो । भगवानले यति धेरै आयु दिए भनेपछि अब पनि म मृत्युसँग किन डराउने ? सास जान गाह्रो नहोस्, अब त यत्ति मात्रै सोचाइ हुन्छ

बुढ्यौली उमेर भनेको समाजबाट आफू पछाडि परेको अनुभव हुँदै जाने समय हो । म पनि त्यही अनुभव गरिरहेको छु । अहिले मेरै छोरो सामाजिक रुपमा सक्रिय हुन्छ । सबैतिर उसैको चासो हुन्छ । केही समय अघिको आफ्नो स्थान अहिले छोराले लिएको भान हुन्छ । आफूलाई चाहिँ कसैले वास्ता नगरेजस्तो लाग्छ ।

पहिले बालापनका साथीहरु राम्रो ठाउँमा पुगेपछि आफ्नै साथी बिर्सिन्छन् । तर, बुढेसकाल लागेपछि फेरि पनि उनीहरु आफ्नो बालापनको साथी खोज्दै आउने रहेछन् । त्यसले पनि मलाई आनन्द भर्ने गरेको छ । धेरै बोल्न सक्दिनँ । चाँडै थाक्ने गरेको छु । अहिले पातो पनि दुख्ने गरेको छ । त्यही भएर मात्र हो । होइन भने त मलाई बुढ्यौली समयमा मान्छे भेटिरहन साह्रै आनन्द आउँछ ।

मृत्युका बारेमा कत्तिको चिन्तन गर्नुहुन्छ ? मृत्युसित डर लाग्छ कि लाग्दैन ?

जीवन भएपछि मृत्युको चिन्तन त भइ नै हाल्छ । मैले पहिली श्रीमती (गौरी)लाई जवान उमेरमा नै गुमाउनुपर्‍यो । जवान हुँदा नै घाटमा लगेर जलाउनुपर्‍यो । बच्चाहरु पनि निकै साना थिए । त्यतिबेला म निकै भावुक भएको र डराएको थिएँ । मलाई त्यो घाटको बाटो हिँड्न पनि डर लाग्थ्यो ।

तर, ६० वर्षको उमेरपछि मलाई मृत्युको डर लाग्न छाड्यो । अहिले त विल्कुलै डर लाग्दैन । भगवानले यति धेरै आयु दिए भनेपछि अब पनि म मृत्युसँग किन डराउने ? सास जान गाह्रो नहोस्, अब त यत्ति मात्रै सोचाइ हुन्छ । म त मान्छेहरुको मायाले नै दंग छु ।

तपाईंको ऋतम्भरा महाकाव्यको लेखन कहाँ पुग्यो ?

त्यसको दुई सर्ग लेख्न बाँकी छ । महाकाव्य हो नि, समय लाग्छ । बीचमा बिरामी भएकाले लामो समय मैले लेख्नै सकिनँ । २/३ दिन भयो फेरि लेख्न थालेको छु । आज (शुक्रबार) बिहान कस्सिएर लेख्न थालेको, खाना खाएपछि साह्रै थाकेँ । नसकेपछि त्यसै छाडेको छु ।

कसैकसैले ठान्छन् कि मैले बोलेर अरुलाई लेख्न लगाउँछु होला । तर, म त्यस्तो सक्दिनँ । म त आफैं लेख्छु । कुनै पनि कविता एकपटक लेखेपछि बारम्बार त्यसलाई संशोधन र परिस्कार गरिरहन्छु । त्यसैले पनि समय लाग्छ नै ।

यस महाकाव्यको विषयवस्तुचाहिँ के हो ?

पहिलेका मानिसहरु अध्यात्मलाई मान्थे, जसले गर्दा उनीहरु धेरै संस्कारी हुन्थे । बाबुआमालाई सम्मान गर्नेखालका हुन्थे । तर, अहिले विज्ञानलाई मान्न थाल्दा बाबुआमालाई बृद्धाश्रममा पठाउने अवस्था सिर्जना भएको छ । बाबुआमालाई र गुरुलाई देवता समान मान्ने पुरानो संस्कार हराउँदै गएको छ । यस्तै विषयलाई हृदयपक्ष बनाएर मैले महाकाव्य लेखिरहेको छु । आफ्नो आत्मालाई आफैंले उद्धार गर । आफ्नो आत्मालाई आफैंले ननकार भन्ने कुरा यसको मूल हृदयपक्ष हो ।

ऋतम्भरा कुन धारामा आउँदैछ ?

मेरो स्वाभाव नै आफ्नै मौलिकतावादी धारामा आधारित भएर कविता लेख्ने हो । यो महाकाव्य पनि मैले मौलिक धारामा आधारित भएर लेखेको छु । म गाउँको मान्छे हुँ । गाउँको सद्भावना र प्रेमलाई मैले महाकाव्यमा भुल्न सकेको छैन । अर्काे कुरा गीत भनुँ भनें कविता जस्तो र कविता भनुँ भने गीत जस्तो साहित्य लेख्ने गर्दछु । मौलिकता र विशिष्टताले नै वाल्मीकी रामायण, महाभारत आदि पुस्तकहरु दीर्घजीवी बनेका छन् । त्यसैले मैले पनि मौलिक धारामा नै काव्य लेख्ने गरेको हुँ ।

यो उमेरमा साहित्य सिर्जना गर्न कत्तिको कठिन हुन्छ ? सिर्जनशीलता क्षय भएको महसुस गर्नुभएको छ कि छैन ?

(उमेरले) धेरै प्रभाव पर्दाेरहेछ । अहिले केही लेख्न खोज्दा दर्शन धेरै आउँछ । तर, भावनाचाहिँ कमजोर हुन्छ । एकदमै भावविहृवल भएर आँसु आउँदैन । पहिले प्रेम भनेपछि एक्कासी भक्कानिएर रुन मन लाग्थ्यो । अहिले ‘प्रेेम ? ठीकै छ त !’ भन्ने स्वभाव हुन थालेको छ । स्वभावैले म शब्दलाई पक्रिँदै गएपछि बल्ल त्यसलाई मालामा उनेर कविता लेख्ने कवि हुँ । जस्तो कि :

उनको प्रीति पहिले हो कि, मेरो प्रीति पहिले ?

यसको पहिलो पंक्ति धेरै संघर्षपछि बल्ल बन्यो । त्यो नबनुन्जेलसम्म कस्तो बन्ने हो ? म आफैंलाई थाहा थिएन । बने पनि कस्तो बन्ने हो ? भन्ने थियो ।
त्यसपछि फेरि आउँछ :

जान्दिनँ म एकैचोटि के भो कुन्नि कहिले ?

दोस्रो पंक्ति फेरि धेरै लामो संघर्षपछि फुर्‍यो । अनि बल्ल म दंग परेँ । यसका लागि पनि धेरै दुःख लाग्यो ।

त्यसो त उमेरमा पनि कविता लेख्न मैले धेरै साधना गरेँ । ‘लाग्दछ मलाई रमाइलो’ गीत रचना गर्नका लागि मलाई कैयौं दिन लाग्यो । ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो, हिमाल चुली मन्तिर पानी भर्ने पँधेरो’ तयार पार्नका लागि मात्रै मलाई ४ दिन लाग्यो ।

‘नेपाली हामी रहौंला कहाँ …’ रचना गर्नका लागि कैयौं दिन लाग्यो । अहिले ३५/४० वर्षसम्म पनि यी गीतहरु लोकप्रिय छन् । मैले त्यतिबेलाको दुःखको फल अहिले पाएको अनुभव गरिरहेको छु । तपाईंले सोधेको प्रश्नमा भन्नुपर्दा, म पहिलेजस्तो सिर्जना गर्न सक्दिनँ । दर्शन भने एकदमै फुर्ने गरेको छ ।

आधुनिक कविका कविताहरु कत्तिको पढ्ने गर्नुभएको छ ?

एकाधलाई छाडेर कुरा गर्ने हो भने अहिलेका अधिकांश कविता त कविता जस्ता नै लाग्दैनन् । अहिले छन्दको कविता त धेरै कम भइसक्यो । गद्यमा पनि साधना र परिश्रमबिना नै कविता लेख्ने सिलसिलाले गर्दा ओजपूर्ण कविताहरु सिर्जना हुन सकेका छैनन् । हाम्रो समयमा कवि सम्मेलनहरु निकै धेरै हुन्थे । त्यही सम्मेलनमा गयो, अर्काे कविको वाहवाही गर्‍यो, आफ्नो पनि सुनायो । ती दिनहरु साँच्चिकै रमाइला थिए ।

अहिले ती दिनहरु छैनन् । अरुको सुन्ने कोही छैन । सरर आउँछन् हतार-हतारमा कविता सुनाउँछन् ।

म कवि थिइनँ … तैपनि यिनीहरुले मलाई बोलाए … म आएँ, कविता लेखेँ ….ल सुन्नुस् मेरो कविता … भन्छन् । अब कविता सुरु भयो, होला भन्यो सकिइसक्दोरहेछ ।
हामी (कवि) धेरै राजनीतिबाट प्रभावित भएका छौं । राजनीतिमा धेरै प्रयोग हुने शब्द हो, बलिदान । यो साहित्यमा पनि आवश्यक छ । कवितामा पनि वा साहित्यमा पनि बलिदान गर्न सक्नुपर्छ ।

कवि कलाकारले पनि गम्भीररुपमा लिनुपर्ने कुरालाई हल्कारुपमा लिएको भान मलाई हुन्छ । सबै गैरजिम्मेवार भए भन्न खोजेको भने हैन । केही गम्भीर पनि छन् । हिजोआज गजलहरु पनि गतिला गतिला हुन्छन् । त्योचाहिँ मन पर्छ । म पढ्छु पनि । तर, म गद्य कविताले मलाई तान्दै तान्दैन । त्यसैले म पढ्दै पढ्दिनँ ।

नेपाली साहित्यका त्रिमूर्ति (लेखनाथ, लक्ष्मीप्रसाद र बालकृष्ण) मध्ये को बढी प्रतिभाशाली लाग्छ ?

प्रतिभाको कुरा गर्दा चाहिँ मेरो मूल्यांकनमा देवकोटा नै बढी प्रतिभाशाली हुन् । उनी अरुको भर पर्दैनन् । सिधै जान्छन् र लोकलाई आफूतिर आकर्षित गर्ने गरी साहित्य सिर्जना गर्छन् ।

विषयलाई छाडेर शैलीको कुरा गर्ने हो भने लेखनाथको साह्रै मीठो शैली हुन्छ । विषयवस्तु र भाव देवकोटामा साह्रै धेरै हुन्छ । भव्य हुन्छ । तर, कविता हो या हैन भन्ने शैलीको हुन्छ । लेखनाथको भने सुनेपछि छुट्टै आनन्द आउनेखालको शैली छ ।

जस्तो :
कोइलीको कुहु आज सुन्यो राति जतिजति
उति उति नयाँ लाग्छ यो सारा सृष्टिपद्दति

ल हेर्नुस् त ऋषि बोलेजस्तो छैन ? कति सुमधुर छ ? कति कोमल छ ?

अहिले कविता भन्नेहरु भन्छन् :

छिनाल त्यो जनै भन्ने धागो …

एउटाले त्यो भन्छ, अनि अर्काेले वाह ! वाह ! वाह ! भन्न थाल्छ ।

किन भन्दा त नयाँ कुरा आयो रे । यस्तो पनि नयाँ कुरा हुन्छ ?

फूललाई देखेपछि देवकोटाले फूल नभनेर ईश्वरको हाँसो पाएका फूल भनेर भने । त्योचाहिँ नयाँ कुरा हो ।

अन्त्यमा, यहाँलाई भन्न मनलागेको कुरा केही छ ?

अरु त के भन्ने हो र ? सबैजना आ-आफ्नो किसिमले बाँच्नुहोस् । अरुप्रति लालायित र दुःखी नहुनुहोस् । मान्छे सधैं यहाँ रहँदैन । केही वर्षपछि मान्छे जाने नै हो । तर, केही वर्षपछि जाने हो भन्दैमा अहिलेदेखि नै खुट्टा नकमाउनुहोस् । एउटा कविता छ नि :

नदीमा दिव्य संगीत, चुलीमा ज्योति धपधप
यसमा डुल्नु हो यश  (कीर्ति) यसमा भुल्नु हो तप

त्यसैले डर मान्ने होइन । प्रकृतिसँग बाँचुन्ज्याल प्रीति गाँसेर बाँच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment