
१७ असार, काठमाडौं । पछिल्लो केही वर्षदेखि काठमाडौं उपत्यका मात्र नभई पर्यटन राजधानी पोखरादेखि अन्य ठूला तथा साना सहरका प्रत्येक होटल, रिसोर्ट र रेस्टुरेन्टका मेनुमा एउटा परिकार अनिवार्य समेटिएको हुन्छ ।
त्यो के परिकार होला, जुन हरेकको मेनुमा समेटिएको हुन्छ । सायद धेरैलाई अनुमान भइसक्यो, त्यो हो– ‘मुस्ताङ आलु’ ।
ठूला–ठूला लाम्चो आकारका चाना बनाएर मरमसलामा मोलेर बनाइने मुस्ताङ आलुको बजारमा छुट्टै ‘डिमान्ड’ छ । नहोस् पनि किन, हिमाली जिल्ला मुस्ताङमा फल्ने आलुको स्वाद जो कसैको जिब्रोमा झुन्डिने गर्छ । त्यही भएर पनि होटल, रिसोर्ट, रेस्टुरेन्टका मेनुमा मुस्ताङ आलुको ‘चार्म’ भिन्नै हुने गर्छ ।
हरेक सहरका होटल, रिसोर्ट, रेस्टुरेन्टका मेनुमा भेटिने मुस्ताङ आलुको स्वादमा ग्राहक किन यसरी झुत्तिन्छन् ? एउटा सामान्य आलुलाई किन यतिविधि महँगो तिरेर स्वाद लिइरहेका छन् ?
केही वर्षयता सानादेखि ठूला तारे होटल, रिसोर्ट, महँगा रेस्टुरेन्ट हुँदै ठिक्क खालका रेस्टुरेन्टका मेनुुमा किन समेटियो मुस्ताङ आलु भन्ने प्रश्नको एउटै उत्तर हो– ग्राहकको आकर्षण । यो परिकार केटाकेटीदेखि बुढाबुढीसम्मको रोजाइमा पर्ने गरेको छ ।
जिराको धुलो, मरिच, टिमुर लगायत मसला राखेर बनाइने हुँदा पनि यो परिकारको स्वादले धेरैलाई तानेको हो ।
होटल तथा रेस्टुरेन्टमा ३ सय ६५ दिन नै ग्राहकले अर्डर गरे अनुसार पाइने र महँगो तिरेर खानुपर्ने मुस्ताङ आलु बनाउन मुस्ताङमै उत्पादन भएको आलु प्रयोग गरिएको हुन्छ त ? यो चाहिँ स्वाद पारखी र सामान्य ग्राहकलाई जान्नैपर्ने विषय हो ।
मुस्ताङमै उत्पादन भएको आलुको स्वाद चाखेकाहरूलाई त अवश्य पनि यसको स्वाद छुट्याउन गाह्रो नपर्ला ।
‘मुस्ताङ आलु मुस्ताङको होइन, मेनु ब्रान्डमात्र हो’
होटल तथा रेस्टुरेन्ट व्यवसायी र सेफहरू नै मुस्ताङको आलु साँच्चै मुस्ताङकै नभएर ‘मेनु ब्रान्ड’ मात्रै भएको स्वीकार्छन्् ।
काठमाडौं नयाँ बानेश्वरस्थित एउटा रेस्टुरेन्टमा कार्यरत एक सेफ प्रत्येक होटल तथा रेस्टुरेन्टले मुस्ताङ आलुको नाममा ब्रान्ड मात्रै बेचेको हाकाहाकी बताउँछन् ।
उनका अनुसार मुस्ताङ आलु परिकार बनाउनका लागि स्थानीय बजारबाट नै ठुल्ठूला आलु किनेर ल्याइन्छ ।
‘मुस्ताङको आलु भनेर बेचिने त ब्रान्ड मात्रै हो, त्यसमा स्वाद मात्रै हामीले थप्ने हो,’ ती सेफले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अनलाइनखबरसँग भने, ‘स्थानीय बजारकै ठूला आलु प्रयोग गरेर बनाइन्छ । त्यो परिकार बनाइने तरिका मसला भने एकै हुन् ।’
उनले भने अनुसार आफू काम गर्ने रेस्टुरेन्टले मुस्ताङ आलु परिकार बनाउनकै लागि दैनिक २० देखि २५ किलो आलु खपत गर्छ । दैनिक खपत हुने परिमाणका लागि मुस्ताङको आलु ल्याउन सम्भव नै नभएको उनको भनाइ छ ।
‘हामीले दैनिक खपत गर्ने आलु यतैको हो,’ उनी भन्छन्, ‘मैले यहाँ काम गर्न लागेको र यो परिकार बनाउन लागेको साढे दुई वर्ष भयो । मैले थाहा पाएसम्म यो रेस्टुरेन्टमा अहिलेसम्म मुस्ताङबाट आलु आएको थाहा छैन ।’
होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूका अनुसार मुस्ताङ आलुको सिजनका बेला मात्रै काठमाडौं उपत्यकाका केही नगन्य होटलमा मात्रै उक्त आलुको परिकार बन्ने गर्छ । उनीहरूका अनुसार दैनिक खान पाइने मुस्ताङ आलु स्थानीय रातो तथा सिन्धुपाल्चोक मुडेका आलु नै हुन् ।
मुस्ताङ आलु परिकारको भाउ कति ?
उपभोक्ताहरूले अत्यधिक रुचाएको र लोकप्रिय बनेको मुस्ताङ आलु ब्रान्ड नै बनिसकेको छ । होटल सञ्चालकहरूले भने स्थानीय उत्पादन तथा बजारमा पाइने सामान्य आलुलाई आफ्नै स्वादमा बनाइ मुस्ताङ आलुका नाममा महँगोमा बेच्दै आएका छन् ।
मुस्ताङ आलुको पनि प्रत्येक होटल र रेस्टुरेन्टपिच्छे फरक–फरक मूल्य तोकिएको पाइन्छ । मुस्ताङ आलुलाई एक प्लेटको न्यूनतम २ सय ५० देखि अधिकतम ५ सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।
‘मुस्ताङ आलु होइन, हिमालयन आलु’
नेपालकै पहिलो पाँचतारे होटल सोल्टी काठमाडौंका एक्जिक्युटिभ सुसेफ आरबी बुढाथोकी मुस्ताङ आलु भनेर खास हिमालयन आलु अर्थात् चिसो ठाउँमा फलेको आलु प्रयोग गर्नुपर्ने बताउँछन् । तर, काठमाडौं उपत्यकाका सबै होटल तथा रेस्टुरेन्टमा बेचिने आलु मुस्ताङकै उत्पादन भने होइनन् ।
उनका अनुसार मुस्ताङ आलुको परिकार तयार गर्दा पहाडी आलुको तरिकाले गर्नुपर्ने हुन्छ । तराईको आलुबाट खासै राम्रो स्वाद नआउने उनी बताउँछन् ।
‘चिसो ठाउँमा उत्पादन भएको आलु भयो भने धेरै राम्रो र स्वादिलो हुन्छ, त्यसमा पनि रातो अझै धेरै उपयुक्त हुन्छ,’ उनी भन्छन्, ‘धेरै ठूलो साइजको आलु पनि राम्रो हुँदैन । मिडियम अथवा सानो आलु भयो भने मुस्ताङ आलु अथवा टिमुरे आलुको परिकार बनाउन राम्रो हुन्छ ।’
उनका अनुसार यो परिकार बनाउनका लागि मुडेको आलु पनि राम्रो हुन्छ । काठमाडौंकै छेउछाउमा उत्पादन भएको आलुलाई पनि यस परिकारका लागि राम्रो मानिन्छ ।
कसरी तयार पारिन्छ मुस्ताङ आलु ?
सुसेफ बुढाथोकीको रेसिपी अनुसार मुस्ताङ आलु बनाउँदा आलुलाई बोक्रा नफाली १ देखि ४ टुक्रा गरेर काटिन्छ । त्यसपछि आधा घण्टा नुन र पानीमा भिजाएर राखेर सोही पानीमा नुन, बेसार र टिमुरको दाना राखेर उमालिन्छ । त्यो आलु ७० देखि ८० प्रतिशत पाकेपछि त्यसलाई छानेर ओभानो पारेपछि तातो तेलमा फ्राई गर्नुपर्छ । त्यसपछि मसला बनाउने काम हुन्छ ।
चप गरेको अदुवा, लसुनलाई घिउमा ब्राउन हुने गरी फ्राई गर्ने, थोरै नुन, खुर्सानीको धुलो, टिमुरको धुलो राखेर सुक्खा मसला तयार पारेपछि फ्राई गरेको आलुलाई सोही मसलामा राम्रोसँग मोलेपछि स्वादिष्ट आलुको परिकार तयार हुन्छ । यसलाई नै मुस्ताङको आलु भनेर होटल तथा रेस्टुरेन्टमा बेचिन्छ ।
काठमाडौंमा कति आइपुग्छ मुस्ताङको आलु ?
यो वर्ष मुस्ताङमा ४ सय ७८ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको छ । यो वर्ष ९ हजार ४८ टन आलु उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख राजेश गुरुङ बताउँछन् ।
स्थानीय स्वादका पारखीहरूले मुस्ताङको आलु पहिले नै मगाउँछन् । ‘यहाँ उत्पादन हुने आलुमध्ये ६० प्रतिशत जिल्ला बाहिर जान्छ, ३० प्रतिशत जिल्लाभित्रै घरायसी तथा होटल प्रायोजनमा खर्च हुन्छ,’ कार्यालय प्रमुख गुरुङले अनलाइनखबरसँग भने, ‘बाँकी १० प्रतिशत आलु बीउका लागि राखिन्छ ।’
बाहिर जिल्ला जाने आलुमा पनि पोखरा लगायत बजारमा नै खपत हुने गर्छ । काठमाडौं उपत्यकामा पनि एकदमै थोरै मात्र मुस्ताङको आलु जाने गरेको कार्यालय प्रमुख गुरुङले बताए ।
कति हुन्छ मुस्ताङमा आलु उत्पादन ?
हिमाली जिल्ला मुस्ताङमा हुने आलु उत्पादनको तथ्यांक केलाउँदा काठमाडौं उपत्यकाका ठूला तारे होटलदेखि साना होटल तथा रेस्टुरेन्टमा दैनिक ठूलो परिमाणमा बिक्री भइरहेको आलु पाउन असम्भव देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा ४ सय ५९ हेक्टरमा आलु खेती गर्दा ७ हजार ३१ टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङको तथ्यांकमा उल्लेख छ ।
आव २०७७/७८ मा मुस्ताङमा ९ हजार १ सय ३८ टन आलु उत्पादन भएको थियो ।
प्रतिक्रिया 4