Comments Add Comment

जागरण अभियानमा ५३ हजार सदस्य थपिएको कांग्रेसको दावी

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा थप ५३ हजार ४७९ जनाले पार्टीको सदस्यता लिएको दाबी गरेको छ ।

‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस’ भन्ने नारासहित कांग्रेस पार्टी सुदृढिकरणका लागि राष्ट्रिय जागरण अभियानमा छ । दोस्रो चरणको जागरण अभियान गत भदौ २४ गतेदेखि असोज ७ गते चलेको थियो ।

त्यसक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र अन्य दल परित्याग गरेर ५३ हजार ४ सय ७९ जनाले कांग्रेसको सदस्यता लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पहिलो चरणको अभियानका क्रममा ३१ हजार ६ सय ४२ जनाले कांग्रेसको सदस्यता लिएको जनाइएको छ ।

प्रवक्ता शर्माले प्रथम चरणको तुलनामा दोस्रो चरणको जागरण अभियान थप उत्साहपूर्वक र व्यवस्थित ढंगले सम्पन्न भएको पनि बताए । दोस्रो चरणको अभियानका क्रममा ३३० निर्वाचन क्षेत्रमा कार्यक्रम भएको र सबै क्षेत्रको प्रतिवेदन केन्द्रमा आउने क्रममा रहेको कांग्रेसले जनाएको छ । १५ दिनको अवधिमा वडा, गाउँ–नगर, क्षेत्र र जिल्ला तहमा गरी ८ हजारभन्दा बढी कार्यक्रम भएको पनि जनाइएको छ ।

कांग्रेसले तनहुँमा पार्टीका केन्द्रीय सदस्य मिनेन्द्र रिजालमाथिको भएको आक्रमण प्रयासलाई सत्ता संरक्षित नवमण्डले प्रवृतिको संज्ञा दिएको छ । असोज १२ गते तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यासका लागि गएका कांग्रेस रिजाललाई अवरोध गरेका थिए ।

सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटोमा नेता रिजालमाथि आक्रमणको प्रयास भएको थियो । यस्तै, कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा भदौ तेस्रो साता बाँकेको खजुरा गाउँपालिकामा कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण भएको थियो । त्यसक्रममा जिल्ला सभापति कोइरालाको हातमा मर्का परेको थियो । यी दुबै घटनालाई कांग्रेसले सत्ता संरक्षित नवमण्डले प्रवृत्ति भनेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुबै घटनाको निन्दा गरे ।

‘बाँकेमा कांग्रेस जिल्ला सभापति कोइराला माथिको आक्रमण र तनहुँमा केन्द्रीय सदस्य रिजाल माथिको आक्रमण प्रयास नवमण्डले चरित्रको प्रकट स्वरुप हो’ प्रवक्ता शर्माले भने, ‘फरक विचार प्रस्तुत गरेकै आधारमा चितवनमा एक युवा माथि गरिएको सांघातिक हमला पनि निन्दनीय छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment