Comments Add Comment

संसद र प्रधानमन्त्री निवासपछि मन्त्री निवास शिलान्यास, यस्तो बन्दैछ संरचना

प्रदेश सरकारका सम्पर्क कार्यालय पनि सोहि ठाउँमा

१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाकै अवधिभित्र तीनवटा ठूला सरकारी संरचनाको शिलान्यास गरे । यी तीनवटा संरचना प्रधानमन्त्री-मन्त्री-सांसदका आवासका लागि हुन् ।

सिंहदरबारमा सांसद भवन र बालुवाटारमा नयाँ प्रधानमन्त्री निवासको शिलान्यास गरेका ओलीले आज पुल्चोकमा नयाँ मन्त्री निवास सिलान्याश गरेका हुन् । अहिले भएको मन्त्री निवास साँघुरो भएको भन्दै ललितपुरको भैसैंपाटीमा सुविधासम्पन्न अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको छ ।

संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालयहरु पनि रहनेछन् । सबै संघीय मन्त्रीहरुको निवास, प्रदेश सरकारको सम्पर्क कार्यालयदेखि प्रदेश सरकारका मूख्य मन्त्री तथा मन्त्रीहरुका लागि आवास निर्माण हुने भनिएको छ ।

भैसेपाटीमा मन्त्री निवास निर्माण गर्ने निर्णय सरकारले १२ मंसिर २०७५ मा निर्णय गरेको थियो । सोही बमोजिम कूल १२५ रोपनी जग्गामा मन्त्री निवास बन्न लागेको हो । यी सबै संरचनाहरुको कूल लागत ९७ करोड ११ लाख २५ हजार ३ सय ६३ रुपैयाँ ५७ पैसा (भ्याटसहित) रहेको छ ।

मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित बजेट व्यवस्थापन प्रयोजनका लागि सम्पूर्ण निर्माण कार्यको लागत करिब १ अर्ब २० करोड ४१ लाख ९५ हजार ४ सय ४९ रुपैयाँ ६३ पैसा हुने अनुमान गरिएको छ । यस योजना निर्माणको ठेक्का केसी-समानान्तर जेभीले पाएको छ ।

कूल लागतभन्दा २४.४३ प्रतिशत कम अर्थात ७३ करोड ३८ लाख ३४ हजार ८ सय ३४ रुपैयाँ ६५ पैसा (भ्याट समेत) मा निर्माण सक्ने कवुल गरेर केसी-समानान्तर जेभीले ठेक्का पाएको हो ।

यस्तो बन्नेछ संरचना

नयाँ संरचनाका लागि सहरी विकास मन्त्रालयले ८७ रोपनी १३ आना क्षेत्रफल रहेको जग्गा छुट्याएको छ । प्रदेश अतिथि सदनका लागि भने १९ रोपनी १० आना क्षेत्रफल छुट्याइएको छ ।

यसैगरी प्रदेश सरकारको सम्पर्क कार्यालयका लागि २७ रोपनी १२ आना र सेवा कार्यालयहरुका लागि १३ रोपनी १५ आना क्षेत्रफल रहेको जग्गा छुट्यायएको छ । यसमा आवश्यक सबै पूर्वाधारहरु निर्माण गरिने मन्त्रालयको तयारी छ ।

मन्त्रालयले भैंसेपाटी आवास क्षेत्रमा मन्त्री निवास मात्रै नभएर प्रदेश सरकारको सम्पर्क कार्यालयसमेत स्थापना गर्ने छ । भैंसेपाटीमा रहेको करिब १५० रोपनी जग्गामा पूर्वाधारहरु निर्माण गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको योजना अनुसार मन्त्री, राष्ट्रिसभा अध्यक्ष, उपाध्यक्ष लगायतको निवास, प्रदेश अतिथि सदन, प्रदेश सरकार सम्पर्क कार्यालय र अन्य सेवा दिने कार्यालयहरु गरी ४ क्षेत्र निर्धारण गरिएको छ । यी चारै क्षेत्रमा फरक-फरक तरिकाले भवन निर्माण हुनेछन् ।

मन्त्रिपरिषदले राष्ट्रियसभा अध्यक्ष, उपध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा भवन निर्माण र प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा अवास तथा सम्पर्क कार्यालय बनाउने निर्णय गरेको थियो ।

हाल ललितपुरको हरिहर भवनमा मन्त्री निवास रहेको छ । मन्त्रीहरुलाई आवासका लागि हरिहर भवनको भन्दा व्यवस्थित र अत्याधुनिक बनाउने गरी मास्टर प्लान तयार पारिएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

कस्ता-कस्ता संरचना बन्नेछन् ?

यस आयोजना अन्तर्गत सातवटै प्रदेशका प्रदेश प्रमुख र मूख्यमन्त्रीका लागि सातवटा ब्लक बनाउने मन्त्रालयका सचिव मधुसुधन अधिकारीले जानकारी दिए । उनका अनुसार प्रत्येक ब्लकमा २ वटा भवन हुनेछन् भने एउटा मूख्यमन्त्री प्रयोजनका लागि र अर्को प्रदेश प्रमुखका लागि १४ वटा भवनहरु सबै आधुनिक सुविधा सम्पन्न निर्माण हुनेछन् ।

ती भवनहरु सबै तीन तल्लाको हुने बतायएको छ । भुइँ तल्लामा प्रतिका कक्ष, सचिवालय, मूख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ ।

पहिलो तल्लामा बैठक कक्ष, ध्यान र योग कोठा, मूख्यमन्त्री तथा प्रदेश प्रमुखकोसुत्ने कोठा सहित तीन कोठा हुने बताइएको छ ।

दोस्रो तल्लामा भने भान्सा कोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पुजा कोठाहरु हुनेछन् ।

यस क्षेत्रमा ५० वटा जति निजी सवारीसाधनहरु पार्किङ गर्न मिल्ने छ । प्रत्येक ब्लकमा रक्षा निकायका लागि छुट्टै आवासको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । २ वर्षभित्र निर्माण सम्पन्न हुने मिति तोकिएकोमा उनले समय नथप्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

सहरी विकासमन्त्री मोहम्द इस्तियाक राईले पनि प्रधानमन्त्रीको निर्देशनअनुसार नै आफूले काम गर्ने बताए । २ वर्षमै निर्माण सम्पन्न हुने भन्दै समय थप नहुने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment