+
+
Shares

इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलको संसदीय निर्वाचनमा ५३ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५५ सिटसहित अघि देखिएको छ ।
  • विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ५० सिट पाउने अनुमान गरिएको छ, र सरकार गठन गर्न ६१ सिट आवश्यक पर्छ ।
  • एक्जिट पोलमा दुवै गठबन्धनले ५१–५१ सिट जित्ने वा नेतान्याहुको गठबन्धनले ५२ सिट ल्याउने अनुमान सार्वजनिक भएको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहुको अग्रताको श्रेय आफूलाई दिँदै सामाजिक सन्जालमार्फत् निर्वाचनको माहोल परिवर्तन भएको दाबी गरेका छन् ।

११ कात्तिक, काठमाडौं । इजरायलको संसदीय निर्वाचनको ५३ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५५ सिटसहित अगाडि देखिएको छ । विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ५० सिट पाउने अनुमान गरिएको छ ।

इजरायली संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ ।

निर्वाचनअघि सार्वजनिक भएका मत सर्वेक्षणहरूले नेतान्याहुको हार हुन सक्ने अनुमान गरेका थिए । तर मतगणनाको प्रारम्भिक परिणाममा उनको गठबन्धनले अग्रता कायम राखेको छ ।

इजरायली समाचार संस्था कान ११ र च्यानल १३ ले सार्वजनिक गरेका पछिल्ला एक्जिट पोलअनुसार दुवै गठबन्धनले ५१–५१ सिट जित्ने अनुमान गरिएको छ । च्यानल १२ को एक्जिट पोलमा भने आइजेन्कोट नेतृत्वको गठबन्धनले ५० र नेतान्याहुको गठबन्धनले ५२ सिट जित्ने अनुमान छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहुको अग्रताको श्रेय आफूलाई दिएका छन् ।

आफ्नो समर्थनपछि निर्वाचनको माहोल परिवर्तन भएको दाबी उनले सामाजिक सन्जालमार्फत् गरेका छन् ।

ट्रम्पका अनुसार, सुरुमा नेतान्याहुको हारको अनुमान गरिएको भए पनि अहिले प्रतिस्पर्धा बराबरीको अवस्थामा पुगेको छ ।

सुरुमा ६५ सिटको अग्रता, अहिले घटेर ५५ मा

मतगणनाको सुरुवाती चरणमा नेतान्याहु नेतृत्वको लिकुड पार्टी नेतृत्वको गठबन्धनले ६५ सिटमा अग्रता लिएको थियो । तर पछिल्लो गणनामा उसको अनुमानित सिट संख्या घटेर ५५ मा झरेको छ ।

त्यस्तै, आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनको अनुमानित सिट संख्या सुरुवातमा ४२ रहेकोमा बढेर ५० पुगेको छ । हाल दुवै गठबन्धनबीच पाँच सिटको अन्तर देखिएको छ ।

यद्यपि, अन्तिम परिणाम सार्वजनिक नभइसकेकाले संसदमा कुन गठबन्धनको कति सिट हुन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

इजरायलमा मतदाताले प्रत्यक्ष रूपमा प्रधानमन्त्री चयन गर्दैनन् । उनीहरूले राजनीतिक दललाई मतदान गर्छन् र दलहरूले प्राप्त गरेको मतका आधारमा संसद् अर्थात् नेसेटमा सिट बाँडफाँट हुन्छ ।

संसद्‍मा सिट पाउन कुनै दलले कुल सदर मतको कम्तीमा ३.२५ प्रतिशत प्राप्त गर्नुपर्छ । यो थ्रेसहोल्ड पार गर्ने दलहरूले प्राप्त गरेको मतअनुसार सिट पाउँछन् ।

दलहरूले निर्वाचनअघि उम्मेदवारहरूको सूची सार्वजनिक गर्छन् । प्राप्त सिट संख्याका आधारमा उक्त सूचीमा रहेका उम्मेदवार सांसद् बन्छन् ।

अरब दलको समर्थन आवश्यक पर्ने संकेत

नेतान्याहु र आइजेनकोट गठबन्धनले बहुमत पुर्‍याउन नसके निर्वाचनमा अरब राजनीतिक दलहरूको समर्थन सरकार गठनका लागि आवश्यक पर्नसक्ने अनुमान छ ।

अरब दलहरू नेतान्याहुको विरोधमा रहेकाले उनीहरुको सहयोग विपक्षी नेता आइजेनकोटलाई हुनसक्ने विश्लेषण भइरहेको छ । यद्यपि आइजेनकोटले पनि यसअघि अरब दलहरूसँग मिलेर सरकार गठन गर्ने विषयमा असहमति जनाउँदै आएका थिए ।

तर बहुमत नपुग्ने अवस्थामा आइजेनकोटले अरब दलको सहयोग लिनसक्ने अनुमान कतिपयको छ ।

विश्लेषक लोवेनस्टीनले अल जजिरासँग कुरा गर्दै अरब दलको समर्थनमा सरकार गठन सम्भव भए पनि त्यस्तो गठबन्धन लामो समयसम्म टिक्ने सम्भावनाबारे अहिले नै निष्कर्ष निकाल्न कठिन छ ।

तेस्रो स्थानमा जोइन्ट लिस्ट

मतगणनाको विवरणअनुसार, जोइन्ट लिस्टले १२ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । यो इजरायलका अरब नागरिकको अधिकारका पक्षमा आवाज उठाउने राजनीतिक गठबन्धन हो । यसमा अरब नेताहरूसँगै यहूदी नेता पनि सहभागी छन् ।

जोइन्ट लिस्टसँग सम्बन्धित प्रमुख राजनीतिक धारमा हदाश, ताआल र बलद दलहरु रहेका छन् ।

हदाश वामपन्थी राजनीतिक दल हो । यसले अरब र यहूदी नागरिकबीच समानता, श्रमिक अधिकार तथा प्यालेस्टाइनसँग शान्तिको पक्षमा वकालत गर्छ ।

ताआल दल अहमद तिबी नेतृत्वमा छ । यो दलले अरब नागरिकका समान अधिकार, शिक्षा तथा रोजगारीका अवसर र प्यालेस्टिनी राज्य स्थापनाको समर्थन गर्छ ।

यसैगरी बलद धर्मनिरपेक्ष अरब राष्ट्रवादी दल हो । यसले इजरायलमा सबै नागरिकलाई समान अधिकार प्रदान गरिनुपर्ने धारणा राख्छ ।

अहिले मतगणना जारी रहेकाले अन्तिम सिट संख्या परिवर्तन हुन सक्नेछ । सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत जुटाउन दलहरूबीच हुने सम्भावित गठबन्धन र सहकार्यले निर्वाचनपछिको राजनीतिक दिशा निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?