News Summary
Generated by OK AI. Editorially reviewed.- अक्टोबर २७ मा भएको इजरायली आम चुनावमा नेतान्याहुको लिकुड पार्टी प्रारम्भिक मतगणनामा अगाडि छ।
- एक्जिट पोलअनुसार नेतान्याहु र आइजेनकोट नेतृत्वका गठबन्धनले समान सिट वा ५२–५० सिटको नतिजा पाउने अनुमान छ।
- इजरायलमा १२० सिटमध्ये सरकार बनाउन ६१ सिट चाहिन्छ, र बहुमत नआए राष्ट्रपति हर्जोगले सरकार बनाउन नेता छान्नेछन्।
११ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर ७, २०२३ मा हमासको नेतृत्वमा भएका आक्रमणहरू पछि अक्टोबर २७ मा पहिलो पटक आम चुनाव भएको छ ।
यसपटकको चुनावमा कुनै पनि पक्षलाई एकल बहुमत नमिल्ने अनुमान धेरैजसो विश्लेषकहरूले गरिरहेका थिए । एक्जिट पोलबाट पनि त्यस्ता संकेतहरु देखिएका छन् ।
इजरायली समाचार संस्था कान ११ र च्यानल १३ ले सार्वजनिक गरेका पछिल्ला एक्जिट पोलअनुसार दुवै गठबन्धनले ५१–५१ सिट जित्ने अनुमान गरिएको छ । च्यानल १२ को संशोधित एक्जिट पोलमा भने नेतान्याहुको गठबन्धनले ५२ र आइजेन्कोट नेतृत्वको गठबन्धनले ५० सिट जित्ने अनुमान छ ।
अहिले जारी मगणनाको प्रारम्भिक रुझानमा भने नेतान्याहुको लिकुड पार्टी अगाडि छ । यो अग्रता कायम रहे इजरायली संसदमा सबैभन्दा ठूलो दल लिकुड नै हुनेछ ।
इजरायली संसदमा सिट कसरी बाँडिन्छ ?
इजरायलको संसदमा कुल १२० सिट छन् । बहुमतको सरकार बनाउन कम्तीमा ६१ सिट आवश्यक पर्छ ।
इजरायलमा मतदाताले प्रत्यक्ष रूपमा प्रधानमन्त्री चयन गर्दैनन् । उनीहरूले राजनीतिक दललाई मतदान गर्छन् र दलहरूले प्राप्त गरेको मतका आधारमा संसद् अर्थात् नेसेटमा सिट बाँडफाँट हुन्छ ।
संसदमा सिट पाउन कुनै दलले कुल सदर मतको कम्तीमा ३.२५ प्रतिशत प्राप्त गर्नुपर्छ । यो थ्रेसहोल्ड पार गर्ने दलहरूले प्राप्त गरेको मतअनुसार सिट पाउँछन् ।
दलहरूले निर्वाचनअघि उम्मेदवारहरूको सूची सार्वजनिक गरेका हुन्छन् । प्राप्त सिट संख्याका आधारमा उक्त सूचीमा रहेका उम्मेदवार सांसद् बन्छन् ।

के बेन्जामिन नेतान्याहुले सरकार बनाउन सक्लान् ?
यदि कुनै दलले स्पष्ट बहुमत नपाएमा राष्ट्रपति इसाक हर्जोगले राजनीतिक दलहरूका नेताहरूसँग छलफल गर्नेछन् र उनले बहुमत जुटाउन सक्ने नेतालाई सरकार बनाउनका लागि आमन्त्रित गर्छन् ।
सामान्यतया राष्ट्रपतिले नेसेटमा सबैभन्दा धेरै सिट प्राप्त गरेको दललाई नै सरकार बनाउनका लागि आमन्त्रित गर्दछन् । यद्यपि, त्यसो गर्नु अनिवार्य भने छैन । उदाहरणका लागि, सन् २००९ को चुनाव पछि तत्कालीन राष्ट्रपति शिमोन पेरेजले सबैभन्दा पहिले नेतान्याहुलाई सरकार बनाउन आमन्त्रित गरेका थिए । जबकि उनको पार्टी लिकुड, प्रतिद्वन्द्वी पार्टी कदीमाभन्दा पछाडि रहेको थियो ।
राष्ट्रपतिका पहिलो रोजाइका नेतालाई सरकार बनाउनका लागि अधिकतम ४२ दिन दिइन्छ । यदि यो अवधिमा बहुमत सावित गर्न नसकेमा दोस्रो दलका नेतालाई यो मौका दिने गरिन्छ ।
यदि कुनै पनि पार्टीले बहुमत हासिल गर्न सक्दैन, भने अल्पमत सरकार सत्तामा आउने सम्भावना पनि हुन्छ । यदि त्यसो पनि हुन नसकेमा नयाँ चुनाव गराउन सकिन्छ । तबसम्म नेतान्याहु नै अन्तरिम प्रधानमन्त्री भइरहनेछन् ।

कुन राजनीतिक दलहरूको बीचमा प्रतिस्पर्धा छ ?
नेतान्याहुको लिकुड पार्टी वा आइज़ेनकोटको याशर पार्टी इजरायली संसदमा सबैभन्दा ठूला पार्टीहरू बन्ने अनुमान गरिएको छ । तर उनीहरुले बहुमत हासिल गर्न नसकेमा अर्को पार्टीको समर्थनको आवश्यकता पर्नेछ ।
बहुमत नपुगेको अवस्थामा अरब पार्टीहरू निर्णायक हुनसक्ने सम्भावना पनि छ । प्रारम्भिक मतगणनामा अरब पार्टीहरु आठ सिटमा अगाडि देखिएका छन् । तर, नेतान्याहुले अरब पार्टीहरूको समर्थनमा सरकार बनाउने सम्भावनाको विरोध गरेका छन् ।
नेतान्याहुले दक्षिणपन्थी र धार्मिक दलहरूको गठबन्धनको नेतृत्व गरिरहेका छन् ।
उनी पहिलो पटक सन् १९९६ मा सत्तामा आएका थिए । यित्जाक राबिनको हत्या पछि भएको मध्यावधि निर्वाचन पछि उनी इजरायलका पहिलो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनेका थिए । विगत तीन दशकको धेरैजसो समयमा उनी सत्तामा रहेका छन् ।
नेतान्याहुका प्रतिस्पर्धी आइजेनकोटले विपक्षी दलहरूको गठबन्धनको नेतृत्व गरिरहेका छन् । विपक्षी गठबन्धमा मध्य–दक्षिणपन्थी र वामपन्थी झुकाव भएका पार्टीहरू सामेल छन् । यी पार्टीहरूको मुख्य साझा उद्देश्य नेतान्याहुलाई सत्ताबाट हटाउनु हो ।
विपक्षी गठबन्धनमा पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट नेतृत्वको पार्टी बी’याखाद पनि सामेल छ ।
चुनावको नतिजा कहिलेसम्म आउला ?
शुरुआती नतिजाहरू आज अक्टोबर २८ देखि आउन सुरु भइसकेको छ । आधिकारिक नतिजाहरू भने नोभेम्बर ४ मा आउने छ ।
एकल बहुमत नआएको अवस्थामा गठबन्धन बनाउने प्रयासमा धेरै साता वा महिना पनि लाग्न सक्ने बताइएको छ ।
सन् २०२१ मा मार्चमा भएको चुनाव पछि जुन महिनामा मात्र नयाँ सरकार बन्न सकेको थियो । त्यतिबेला नेफ्ताली बेनेट र याइर लापिडको बीचमा सत्ता सहकार्यको सम्झौता भएको थियो ।
त्यस समय नेतान्याहुलाई सरकार बनाउने पहिलो मौका दिइएको थियो, तर उनी गठबन्धन बनाउनमा असफल भएपछि बेनेट र लापिड गठबन्धनको सरकार बनेको थियो । अहिले बेनेट र लापिड दुवै नेतान्याहु विरोधी गठबन्धनमा छन् ।
प्रतिक्रिया 4