Comments Add Comment

अष्ट्रेलियाविरुद्ध राम्रो खेल्छौ‌ं : कप्तान किरण चेम्जोङ

१४ असोज, काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सातदोबाटोमा एक कार्यक्रम गरी अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली फुटबल टिमलाई विदाई गरेको हो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले विदाइ गरे ।

नेपाली टिमका कप्तान किरण चेम्जोङले अष्ट्रेलियासँग खेल्न तयारी भएको भन्दै आफुहरु खेल्न तयार भएको बताएका छन् । उनले भने, ‘हामी गोर्खाली हौं । हामी हार मान्दैनौं । अष्ट्रेलियाविरुद्ध खेल्न तयार छौं ।’

खेलाडीलाई विदाइ गर्दै राखेप सदस्यसचिव सिलवालले अष्ट्रेलियाविरुद्ध नेपालले राम्रो नतिजा निकाले नसोचेको पुरस्कार दिने घोषणा गरे । उनले भने, ‘अष्ट्रेलियाविरुद्ध राम्रो खेल्न खेलाडीलाई म शुभकामना दिन्छु । तपाईहरुले राम्रो नतिजा ल्याउनु भयो भने एन्फालाई र सरकारलाई पुरस्कार दिन म आफै पहल गर्छु । तपाईहरुले नसोचेको पुरस्कार पाउनु हुनेछ ।’

प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध उसैको भूमिमा खेल्ने २३ सदस्यीय नेपाली टिमको आजै घोषणा गरेका छन् । नेपालले यही असोज २३ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ भने असोज २८ गते जोर्डनसँग उसैको भूमिमा खेल्दैछ । नेपाली टिम भोलि अष्ट्रेलिया प्रस्थान गर्दैछ ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० गोलको हार ब्यहोरेको थियो । तर दोस्रो खेलमा भने उत्कृष्ट पुनरामगन गर्दै चाइनिज ताइपेलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

नेपाली टिम

गोलकिपर :  किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ रञ्जित धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द

फरवार्ड : विमल घर्तिमगर, अविशेक रिजाल र नवयुग श्रेष्ठ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment