Comments Add Comment

रुम पार्टनर छान्दा हतार नगरौं, पर्न सक्छ समस्या

आफ्नो घरभन्दा टाढा गएर अध्ययन वा जागिरको लागि एक्लै भाडामा बस्नु परेमा हामीहरु रुम पार्टनरको खोजी गर्ने गर्दछौं । पैसाको बचत, सुरक्षा र दैनिक घरायसी काममा सहज हुने बाहानामा हामीले खोज्ने रुम पार्टनरसँग हाम्रो मन मिल्न सकेन भने त्यो आफैंमा टाउको दुखाईको विषय हुने गर्दछ ।

विशेषगरी काठमाडौं जस्तो व्यस्त शहरहरुमा त सजिलै कोठा समेत नपाएर पनि रुम पार्टनर खोज्ने गरिन्छ । तर, रुम पार्टनर खोज्दा हतार गरेर वा केही कुरामा ध्यान नदिई एउटै कोठामा बस्दा यसले गम्भीर समस्या समेत सिर्जना गराउँछ । अफिस होस् या त क्याम्पसबाट फर्किँदा शरीरले शान्त वातावरणमा आराम आवश्यकता महसुस गर्दछ । तर, यही समयमा रुम पार्टनरसँग झगडा गरेर समय खर्च गर्नु पर्‍यो भने त्यसले मानसिक रुपमा समेत गम्भीर समस्या निम्त्याउने सम्भावना हुन्छ । त्यसैले रुम पार्टनर खोज्दा केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

रुम पार्टनरको खोजी गर्दा नै केही विषयमा ध्यान दिने हो भने यसले पछि कुनैपनि समस्याबिना नै हाम्रो दिनचर्या चल्नसक्छ । त्यसको लागि तल केही टिप्सहरु दिईएको छ ।

लापरबाहीबाट बचौं

रुम पार्टनरहरुको बीचमा दैनिक खाना पकाउने र अन्य घरायसी कामको विषयमा धेरै विवाद हुने गर्छ । एकले अर्को को बीचमा आफूले ज्यादा काम गरेको भनेर धेरै विवाद गर्ने गरेको पाईन्छ । यस्तो विवाद मात्रै होइन साथीको वा आफ्नो लापरवाही पनि कहिलेकाहीँ भारी पर्ने गरेको छ । जस्तो कि बाहिर जाने समयमा ताला नलगाउनु, ग्यास या लाईट समयमा बन्द नगरिदिनु, फोनमा राती अबेरसम्म कुरा गरिरहनु आदि लापरवाहपूर्ण व्यवहारले पनि रुपमेटसँग झगडा हुने गर्दछ । त्यसैले रुममेट छान्ने बेलामा नै मान्छेको व्यवहार हेरेर छान्नुपर्छ । बरु केही समय लागोस् ।

रुममेट छान्दा स्वाद र व्यवहार हेरेर छानौं

कुनै समय रुममेटसँग खानाको स्वादकोलागि पनि विवाद वा झगडा हुने गर्दछ । दुईबीच खानाको रोजाई भिन्न-भिन्न हुुनेभयो भने खाना पकाउने बेलामा कसको स्वाद अनुसारको खाना पकाउने ? भन्ने बारेमा विवाद हुने गर्छ । त्यसैले कुनैपनि रुममेट छान्दा व्यवहार र स्वाद आफूसँग मिल्दो जुल्दो खालको छान्नु पर्दछ । जसका कारण कोठामा शान्ति पनि हुन्छ । मनमा शान्ति हुँदा यसले दुबै रुम पार्टनरको व्यक्तिगत र व्यवसायिक जीवनमा समेत सकारात्मक प्रभाव पार्दछ ।

सँगै पढ्ने साथीलाई चुनौं रुममेट

रुममेट चुन्दा सबैभन्दा सजिलो सँगै पढ्ने साथीलाई छान्नुपर्दछ । सँगै पढ्ने साथीको सबै किसिमको व्यवहारहरु जानेको हुने भएकोले विवाद र असमझदारी कम हुने गर्छ । सबै व्यवहारहरु बुझेको व्यक्तिलाई छान्दा मात्रै उसको स्वभाव अनुसारको व्यवहार हुने गर्छ । जसले असमझदारीलाई धेरै हदसम्म कम गराउन मद्दत गर्छ ।

चित्त नबुझेको कुरा स्पष्ट भनौं

कतिपय कुराहरु चित्त नबुझेको कुरालाई मनमा लुकाएर राख्दा पनि विवाद र असमझदारी बढ्ने गर्दछ । यो कुरा जीवनसाथी छान्ने बेलामा होस् या त डेराको साथी खोज्ने बेलामा पनि लागू गर्नुपर्छ । त्यसैले कामको विषयमा, खानाको विषयमा या अरु जुनसुकै विषयमा पनि आफूलाई चित्त नबुझेको कुराहरु स्पष्टसँग भन्नुपर्छ । त्यो भयो भने मात्रै सम्बन्ध लामो समयसम्म अघि बढ्न सक्छ ।

यसका अलावा यस्ता व्यवहारहरु रुम पार्टनरको अघि कहिलै पनि नगरौं 

–कोठामा चुरोट वा मदिरा सेवन नगरौं

–आफ्ना निकटस्थ साथीहरुको आउजाउ धेरै नगराऔं

–रुममेट भन्दा भिन्न साथीहरुसँग पार्टीको आयोजना नगरौं

–रुममेटलाई मन नपर्ने काम आवश्यकताभन्दा अरु समयमा नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment