Comments Add Comment

डा. केसी २६ वर्ष काम गरेको अस्पतालबाट बिदा भएको दिन

'शिक्षण अस्पताल र राज्यले धेरै दियो तर, मैले केही दिन सकिनँ'

शून्य ठाउँमा
एउटा बाटो बनाएँ
बाटो न हो,
त्यसलाई कुल्चेँ
हिडेँ,
गन्तव्यमा
म पुगेँ कि पुगिनँ
कुन्नि,
म आफैं नै बाटो भइसकेको पाएँ ।
– सुलोचना मानन्धर

फोटो फ्रेमभित्र सेतो कागजमा काला अक्षरले लेखिएका शब्दहरु कोठाको एउटा कुनामा लडिरहेका छन् । फोटो फ्रेमजस्तै कोठामा अन्य सामानहरु यत्रतत्र छरिएका छन् । सामानहरुको अवस्था देख्दा बसाइँ सराइको तयारी हुँदैछ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।

हो, यहाँ तिनै व्यक्तिको बसाइँ सराइकै तयारी भइरहेको छ, जसको ‘जीवनचक्र’ माथिको कविताका पङ्तिले व्याख्या गरेझैं छ । उनी अर्थात प्राध्यापक डाक्टर गोविन्द केसी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको २६ वर्षे लामो बसाइ अन्त्य गर्ने तयारी गर्दैछन् ।

अस्पतालको गणेशमान सिंह भवननजिकैको आवासीय भवनको एउटा क्वार्टरभित्र अहिले असामान्य चहल पहल छ । केही निराश, केही जिज्ञासु र केही भावुक अनुहारहरुले डा. केसीलाई घेरिरहेका छन् ।

केसीले क्वार्ट‍रमा छिर्नुअघि पत्रकार सम्मेलन गर्दै आफ्नो माग पूरा गर्न सरकारलाई कात्तिक ८ गतेसम्मको ‘अल्टिमेटम’ दिएका थिए । पत्रकार सम्मेलनलगत्तै उनले आफ्नो कार्यकक्षको चाबी अस्पताललाई बुझाए । कार्यकक्षबाट निस्किँदै गर्दा प्रश्न तेर्सियो, ‘२६ वर्ष काम गरेको अस्पतालले बिदाई कार्यक्रम आयोजना गरेन ?’

प्रश्न सुनेर डा. केसी हाँसे । अनि दुईचार पाइला अघि बढेपछि भने, ‘मलाई यस्ता औपचारिकता मन पर्दैन । फूलमाला अबीर लगाउन मन लाग्दैन । साथीभाइ, सहकर्मीहरूसँग बिदा मागेर हिँडेको हुँ ।’

डा. केसी त्यहाँबाट सिधै क्वार्टरतिर लागे ।

क्वार्टरमा सामानहरुको पोकापन्तरो बाँध्ने काम भइरहेको छ । केही डाक्टरी किताब छन् । केही डायरीहरु । बिछ्यौनाको गुण्टा । अनि केही भाँडाहरु । र्‍याकमा शुभचिन्तकहरुले उपहार दिएका भगवान बुद्धका सानाठूला मूर्ति सजिएका छन् ।

डा. केसीका ‘स्केच’हरु पनि यत्रतत्र छरिएका छन् ।

यी सबै सामानहरु ‘प्याकिङ’ हुने क्रममा छन् ।

कस्तो संयोग ! २६ वर्षे सेवा अवधिको अन्तिम दिन उनको जन्मदिन परेको रहेछ ।

६३ पूरा गरेर ६४ वर्ष लागेको दिन अस्पतालबाट विदा लिन लागेका डा. केसीलाई सधैं नमस्कार भनेर सम्बोधन गर्ने सहकर्मी कर्मचारीहरुले ‘ह्याप्पी बर्थ डे डाक्टर साब !’ भनिरहेका छन् ।

उनी मुस्कुराउँदै ‘धन्यवाद’ फर्काइरहेका छन् ।

यही मेसोमा हामीले डा केसीलाई सोध्यौं , ‘२६ वर्ष बसेको ठाउँ छाड्दैहुनुहुन्छ… ?’

प्रश्न सकिन नपाउँदै उनी बोले, ‘हो, दु:ख लागिरहेको छ । मलाई यो अस्पताल र राज्यले धेरै दियो । तर, मैले राज्यका लागि केही दिन सकिनँ ।’

सात वर्षमा १६ वटा अनसन र त्यसको बलमा चिकित्सा शिक्षामा अनगिन्ती सुधारहरू सबैले बुझेका छन् । तर, उनी भन्दैछन्, ‘मैले राज्यलाई ठूलो योगदान दिन सकिनँ ।’

फेरि सोध्यौँ, ‘एउटा सामान्य चिकित्सकले यो भन्दा कति योगदान दिन सक्छ त ?’

उनी मुस्कुराए । केही क्षण सोचेझैँ गरेर भने, ‘तपाईंहरु आफैँ भन्नुस् त, अहिले यही उपलब्धीमा रमाउने बेला छ त ? माफियाहरु सल्बलाइरहेका छन्, मसँग गरिएका सम्झौता कार्यान्वयन गर्ने छाँटकाँट छैन, अनि कसरी रमाऊँ ?’

****

हिजोसम्म उनी त्रिवि शिक्षण अस्पतालको क्वार्टरमा बस्थे । अस्पतालमा बिरामीको उपचार गर्थे । आजबाट अस्पताल छाडेका उनी केही दिन आफन्त भाइको घरमा  बस्नेछन् । त्यसपछि कता जाने कुनै योजना छैन ।

(रामेछाप) गाउँको घर भत्किएकाले त्यता जाने सम्भवना लगभग छैन । कुनै विकट जिल्लामा गएर बिरामीको सेवा गर्ने सोच बनाएका छन् । तर, ठोस योजना बनिसकेको छैन ।

त्यसअघि सरकारलाई कात्तिक ८ गतेसम्म आफ्ना माग पूरा गर्ने ‘अल्टिमेटम’ दिएका उनी माग पूरा नभए १३ गतेबाट अनसन बस्ने योजनामा छन् । उनकै शब्दमा भन्नुपर्दा त्यो उनको निर्णायक अनसन हुनेछ ।

‘डु अर डाई हो यो अनसन’, मुस्कुराउँदै भन्छन्, ‘जिन्दगीको प्राथमिकता नै शिक्षा र स्वास्थ्य क्षेत्रभित्रको विकृति अन्त्य गर्ने रहेको छ । अब मर्न किन डराउने ?’

अब सरकारी कर्मचारीको रुपमा १०-५ को ड्युटी गर्नुनपर्ने भएकाले स्वतन्त्र महसुस गरेको सुनाउँछन् उनी । आफ्नो अभियान सफल पार्न झनै सजिलो हुने बताउँछन् । नागरिकको हैसियतले अभियान चलाउने योजना छ ।

राजनीतिमा जाने कुनै सम्भावना नरहेको बताउँदै भन्छन्, ‘राजनीति मेरो चासोको विषय होइन । देशका लागि योगदान दिन राजनीति नै गर्नुपर्दैन ।’

कुराकानीका क्रममा उनी बेलाबेला कोठामा भइरहेको सामान प्याकिङतिर पनि आँखा लगाउथेँ । शायद लामो समयसम्म बसेको बासस्थान छोड्दै गर्नु परेर होला, एक प्रकारको बैचैनी  मुहारमा देखिन्थ्यो । तर, हाँसो हराएको थिएन ।

फेरि उनलाई सोधियो, ‘स्वास्थ्य र शिक्षाका कुरालाई एकछिन बिर्सिएर तपाईंको व्याक्तिगत जीवनबारे कुरा गरौँ न ।’

प्रश्न नसकिँदै उनी मुस्कुराए । अनि भने, ‘म खुल्ला किताबजस्तै हुँ । मेरोबारे भन्न बाँकी केही छैन । मेरो ‘पर्सनल लाइफ’ नै छैन ।’

अधिकांश पत्रकार सम्मेलनमा डा. केसी कडा रूपमा प्रस्तुत हुन्छन् । पटकपटक सहमति गरेर धोका दिएकोमा राज्य विरुद्ध आक्रोश पोखिरहेको अवस्थामा यस्ता अनौपचारिक प्रश्न सोध्ने वातावरण हुन्न । कसैले सोधिहाले उनी बोल्दैनन् । तर, आज जे सोधे पनि हाँस्दै बोलिरहेका छन् । रीस र आक्रोश उनको मुहारमा देखिन्न ।

****

केसीले स्कुल पढ्दा डाक्टर बन्ने सोचेकै थिएनन् । सामान्य विद्यार्थी उनलाई धेरै पढ्नुपर्छ भन्ने मात्र ज्ञान थियो । डाक्टर बनेपछि निरन्तर यसमा लागिरहे । अबको दिनमा के गर्ने योजना बनिसकेको छैन ।

उनलाई सुन्दा लाग्छ, शिक्षा र स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध लड्नुबाहेक जिन्दगीमा अर्को योजना छैन । व्याक्तिगत इच्छा र सपना छैन। भन्छन्, ‘म कर्णालीमा पनि बस्न सक्छु, रोल्पा, डोल्पा अथवा पूर्वी इलाम नै पुगे पनि मेरो उद्देश्य बदलिँदैन । सास रहुञ्जेल बिरामीको सेवा गर्न र शिक्षा र स्वास्थ्यका बेतिथिविरुद्ध लड्न छाड्दिनँ ।’

****

उनले सुनाए अनुसार उनलाई आफ्नै घर, गाडी र परिवार होस् भन्ने कहिल्यै लागेन । व्याक्तिगत लोभ, मोह पनि जागेन । आमाले बेलाबेला यस्तो विषयमा सम्झाउने गरेको सुनाउँदै उनले भने, ‘यस्ता कुरालाई मैले ‘सिरियसली’ लिइनँ । बिहे भएको भए त मेरो नातिको बिहे गर्ने बेला भइसक्थ्यो होला..।’

नेपालका सबै जिल्ला कम्तिमा तीन पटक सेवा दिन पुगेका उनी त्यस्ता परोपकारी भ्रमणलाई निरन्तरता दिन चाहन्छन् । देश र शिक्षण अस्पतालबाट जीवनभरि आभारी रहने बताउँदै भन्छन्, ‘राज्यले लगाएको गुन तिर्न म जीवनभर लागिरहनेछु ।’

किनकि उनी आफ्नो कामबाट सन्तुष्ट छैनन् । गर्नुपर्ने कामको सूची लामो र समय थोरै भएको अनुभूति हुन थालेको छ । शिक्षा स्वास्थ्य क्षेत्रका मागहरु पूरा भए सन्तोषको सास फेर्दै मर्न सक्ने बताउँदै भन्छन्, ‘म मर्नुअघि नै राज्यले स्वास्थ्य र शिक्षा क्षेत्रमा कायापलट गरे ढुक्कले मर्न पाउथेँ ।’

यसो भन्दै गर्दा उनी भावुक देखिए । यताउति हेर्दै मौन भए । अनि भने, ‘तर मैले अझै हार खाएको छैन । अन्तिम सास रहुञ्जलेलसम्म शिक्षा र स्वास्थ्य क्षेत्रका वेथितिविरुद्ध लडिरहन्छु । कसैसँग सम्झौता गर्दिनँ ।’

त्यही बेला उनको मोबाइलको ‘रिंगटोन’ बज्यो । अनि उनी स्वास्थ्य मन्त्रालय जानुपर्ने भन्दै त्यहाँबाट बिदा भए ।

उनको कोठाका सामानहरु बोकेर मारूती भ्यान पनि गुड्यो ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment