Comments Add Comment

भूकम्प पीडितको पैसा गैरभूकम्प पीडितले पाएपछि…

२९ असोज, गोरखा । २०७२ सालको भूकम्पले उनको घर सग्लो राखेन । प्रवलिकरणमा नाम निस्कियो तर घर टालटुल गरेर बस्न मिल्ने अवस्थामा छैन । पूर्ण लाभग्राही सूचीमा नपरेपछि गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका सिताराम सार्कीले गुनासो फारम पनि भरे । तर सम्बोधन भएको छैन ।

वडाध्यक्ष मार्फत सम्झौताको समयावधी सकिन लागेको जानकारी पाएका उनी मन नहुँदा नहुँदै पनि प्रवलिकरणका लागी सम्झौता गर्न बाध्य भए । गत असार १५ मा सम्झौता गरेर साउन महिनामा पहिलो किस्ता लिन उनी नविल बैंक पुगे । तर आफ्नो नामको पैसा अन्य व्यक्तिले लगिसकेको थाहा पाएपछि उनी रनभुलमा परे । ‘मेरो नामको पैसा डण्डिडाँडाका सिताराम रोका सार्कीलाई दिएछन्,’ उनले भने, ‘बैंकले भवन कार्यालय जानुस् भनेर पठाइदियो ।’ वडाध्यक्षले एउटै नम्वरमा दुई व्यक्तिको सम्झौता गराएपछि समस्या भएको हो । आफूले पाउने रकम नपाउँदा घर बनाउन नसकेको उनले गुनासो गरे ।

डण्डिडाँडाका सिताराम रोकाको घर भूकम्पले भत्किएपनि उनी लाभग्राही सूचीमा परेका छैनन् । प्रवलिकरण पनि उनको नाम छैन । तर सिताराम सार्कीको नाममा आएको पहिलो किस्ता वापतको ५० हजार रकम बैंकले उनलाई दिएर पठाएको छ ।

सम्झौता नम्वर र नाम एउटै भएकाले रकम दिएको नविल बैंक गोरखा शाखाले जनाएको छ । ‘एउटाको नाम सिताराम रोका अर्काेको सिताराम सार्की रहेछ, फेरि सम्झौता नम्वर एउटै अनि हामी पनि झुक्कियौं,’ नविल बैंक गोरखा शाखाले भन्यो ।

गैर लाभग्राही सिताराम रोकाले लिएको पैसा फिर्ता गर्न भनिसकेको वडाध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले बताए । ‘नाम एउटै भएर झुक्कियौं, पैसा फिर्ता गर्न भनिसकेका छौं, फिर्ता गर्छु भन्नुभएको छ,’ उनले भने । रकम फिर्ता नगरे सामाजिक सुरक्षा भत्ता रोकिदिने चेतावनी दिएको उनले जानकारी दिए ।

वडाध्यक्षले दुई जना (लाभग्राही र गैरलाभग्राही) लाई सम्झौता गराएकाले समस्या भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । ‘भूकम्पपीडितको पैसा बैंकले गैरलाभग्राहीलाई दिएछ, अब उसले त्यो पैसा बैंकमा फिर्ता गरेपछि मात्र भूकम्पपीडित सितारामले पैसा पाउनुहुन्छ,’ जिमालीका राजकुमार ढकालले  भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment