+
+
Shares

प्रतिनिधिकै टुंगो नलाग्दा बिथोलियो रास्वपा महाधिवेशन कार्यतालिका, विवादको चुरो के ?

प्रतिनिधिको टुंगो नलगाई महाधिवेशन गर्दा जटिलता आएको निष्कर्ष रास्वपा नेताहरूको छ । सोमबारको कार्यतालिका प्रभावित भएपछि नेताहरू प्रतिनिधि विवाद सुल्झाउन लागिपरेका छन् ।

लिलु डुम्रे दिनेश गौतम लिलु डुम्रे, दिनेश गौतम
२०८३ असार ८ गते २२:३४

८ असार चितवन । चितवनमा रास्वपा महाधिवेशन जारी छ । आजबाट बन्द सत्र सुरु गर्ने र भोलिसम्ममा महाधिवेशन सक्ने रास्वपाको तयारी थियो ।

सोही अनुसार, बिहानैबाट बन्द सत्रस्थलमा प्रतिनिधिहरू पुगेका थिए । उखरमाउलो गर्मी खेपेर दिनभर बन्द सत्र सुरु हुने आशामा बसेका प्रतिनिधिहरू अन्तत: निराश हुँदै फर्किएका छन् ।

गर्मी छल्न केहीले डीडीसा प्रोडक्टको साहरा लिएको भेटिन्थे भने कोही बन्द सत्रकै हलमा असरल्ल पल्टिरहेका थिए । केही चाहिँ नाचगानमा व्यस्त देखिन्थे ।

बन्द सत्र सुरु हुन नसकेको मौका छोपेर प्रतिनिधिसँग आकांक्षीले मत पनि मागे ।

करिब ९ घण्टासम्म बन्द सत्र सुरु नभएपछि साँझ प्रवक्ता मनिष झाले पत्रकार सम्मेलन गरे । उनले क्षमा माग्दै भने, ‘समयमा बन्द सत्र सुरु हुन सकेन । क्षमाप्रार्थी छौं । धैर्य गर्न अनुरोध गर्छौं ।’

यसैबीच केही प्रतिनिधिहरू रुष्ट देखिए । केहीले सञ्जालबाटै आक्रोश पनि पोखे । एक प्रतिनिधिले आक्रोशित भावमा अनलाइनखबरसँग भने, ‘हिजो वरिष्ठ नेता (बालेन) ले एक्सप्रेस गतिमा चल्छौं भन्नुभएको थियो । आजै ब्रेक पो लाग्यो ।’

आजै सभापतिले बन्दसत्र प्रारम्भ गर्ने कार्यतालिका थियो ।

त्यसपछि क्रमश: अनुशासन समितिको प्रतिवेदन, पार्टीको प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान अनुमोदन, अर्थ राजनीति प्रस्तावना, सभापतिको राजनीतिक प्रतिवेदन, अन्तरिम व्यवस्थापन समिति गठन गर्ने कार्यतालिका थियो ।

विवादको चुरो के हो ?

महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लगाउनुप अनिवार्य शर्त हो । प्रतिनिधि यकिन नभई महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुँदैन । दिनभर प्रतिनिधिको टुंगो लगाउने प्रयास भए पनि निर्वाचन आयोगले सकेन । प्रतिनिधिको टुंगो नलगाई महाधिवेशन गर्दा जटिलता आएको निष्कर्ष रास्वपा नेताहरूको छ ।

पार्टी, समूह, अभियन्ता लगायतलाई एकता र  समायोजन गराउँदै आएको रास्वपाले द्रुत गतिको कार्यतालिका बनाएर महाधिवेशन गर्ने निर्णय लिएको थियो । महाधिवेशन प्रतिनिधि टुंगो लगाउन नसक्दा महाधिवेशन लम्बिने भएको छ ।

रास्वपाले अघिल्लो सातासम्म प्रतिनिधि  ३ हजारको हारहारीमा हुने बताउँदै आएको थियो । तर महाधिवेशन प्रारम्भ भएपछि  प्रतिनिधिको संख्या बढेको जानकारी गराइयो । निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्मको अवस्था अनुसार करिब ४ जार ३ सय प्रतिनिधि हुने भएका छन् ।

प्रतिनिधि निश्चित भएपछि मात्र कार्ड वितरण गर्ने योजना अनुसार टुंगो लागिसकेका प्रतिनिधिले समेत कार्ड प्राप्त गर्न सकेनन् ।

रास्वपाका एक नेताका अनुसार प्रतिनिधि चयन भएकाहरूमध्ये पाँच सय बढी विवादित छन् । प्रतिनिधिमा टुंगो लगाउन रास्वपालाई प्रमुख समस्या मधेशमा देखिएको छ ।

हालसम्म पनि मधेशका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छैन ।

एक प्रतिनिधिले आक्रोशित भावमा अनलाइनखबरसँग भने, ‘हिजो वरिष्ठ नेता (बालेन) ले एक्सप्रेस गतिमा चल्छौं भन्नुभएको थियो । आजै ब्रेक पो लाग्यो ।’

मधेशमा ५ सय ९२ जनाको नाम प्रतिनिधि चयन भएको जानकारी गराइएको थियो । तर, ९६ जनाको थप नाम समावेश समावेश गर्नुपर्ने माग मधेशका नेताहरूको रह्यो ।

विशेषगरी मधेशका प्रतिनिधिको संख्या यकिन हुन नसक्दा निर्धारित कार्यतालिका नै अवरुद्ध बन्न पुगेको हो । समायोजनबाट आएका, सभापतिले मनोनीत गर्ने र महामन्त्रीलाई टुंगो लगाउन जिम्मा दिइएका प्रतिनिधिबारे विवाद रहेको पनि नेताहरू बताउँछन् ।

प्रथम महाधिवेशन भएको र सिक्ने क्रममै रहेको हुनाले कार्यतालिका समय अनुसार हुन नसकेको प्रवक्ता मनिष झाले स्वीकारे ।

‘समय बरु अर्को तय गर्‍यौं तर प्रतिनिधि नछुटुन् भनेर आजका लागि स्थगित गरेका हौं,’ प्रवक्ता झाले भने, ‘जसोतसो बन्द सत्र गर्न सकिन्थ्यो । तर, त्यो प्रतिउत्पादक हुन्थ्यो ।’

रास्वपाको अनुशासन समितिले कारबाहीको सिफारिस गरेका १६ जनालाई समेत प्रतिनिधि बनाएकोप्रति पार्टीमा प्रश्न उठेको छ ।

फितलो व्यवस्थापन

रास्वपा निर्वाचन आयोगका अनुसार आजसम्म तीन हजार कार्ड छपाइ भएका छन् । छापिएका कार्डहरू अहिले साँझ ७ बजेबाट बाँड्न सुरु गरिएको छ ।

बाँकी प्रतिनिधिको छपाइ गरेर भोलि बिहान ७ बजेदेखि वितरण गरेर बन्द सत्र सुरु गर्ने कार्यतालिका छ ।

‘प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा सोचेभन्दा बढी समय लागेको छ,’ प्रवक्ता झाले भने, ‘कार्ड वितरण आज साँझ ७ बजेबाट सुरु हुने र प्रक्रियामा रहेको कार्ड भोलि बिहान ७ बजेबाट वितरण गरिने र सो पश्चात् बन्द सत्रको कार्यक्रम सुरु हुन्छ ।’

महाधिवेशनको व्यवस्थापन फितलो देखिएको छ । रास्वपाले व्यवस्थापनमा कमजोर भएको स्वीकार गरेको छ । पहिलो पटक महाधिवेशन गर्न लागेकाले सिक्ने क्रममा रहेको तर्क रास्वपाको छ ।

‘पहिलो महाधिवेशन हो । कतिपय कुरा यस्तो हुन्छ भनेर हामीले पहिले नै आकलन गरिसकेका थिएर्नौ,’ झाले भने, ‘हामीले गरेको कमजोरी नकार्न सकिँदैन ।’

समय लम्बिँदा चिन्तित प्रतिनिधि

बन्दसत्र सुरु गर्न नै समय लागेपछि महाधिवेशन लम्बिने निश्चित भएको छ ।

यसको असर देशभर तथा देशबाहिरबाट आएका प्रतिनिधिलाई परेको छ । चितवनको होटल होटलमा प्रतिनिधि बसेका छन् । तर महाधिवेशन लम्बिने भएपछि चिन्तित छन्, प्रतिनिधिहरू ।

महाधिवेशनको अवधि लम्बिएपछि प्रतिनिधिको खर्च समेत थपिने भएको छ । कतिपय कार्यकर्ता प्रतिनिधि हुने विश्वासमा चितवन आएका छन् ।

तर, उम्मेदवार दर्ता र निर्वाचन प्रक्रियामा जाँदा पनि कार्यतालिका यसै गरी प्रभावित भयो भने प्रतिनिधिको बसाईं थप लम्बिने छ ।

कार्यतालिका अनुसार कार्य नहुँदा त्यसबाट प्रतिनिधिको खर्च बढ्ने र त्यसबाट उनीहरूलाई पर्ने असरबारे सोधिएको प्रश्नमा प्रवक्ता झाले ‘वैकल्पिक व्यवस्था गरेर टाढाबाट आएका प्रतिनिधिका लागि खर्चको जोहो गरिने’ आश्वासन दिए । महाधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था बन्दसत्र स्थलमै गरिएको छ । प्रतिनिधिहरूलाई बिहान खसीको मासु र भात खुवाइने छ । बेलुका भने मिक्स भेज तरकारी खुवाइनेछ । बिहान ७ बजेदेखि ब्रेक फास्ट, दिउँसो १ बजेदेखि २.३० बजेसम्म खाना, दिउँसो ३ बजेदेखि ५ बजेसम्म हाइटी र बेलुका ६ बजेदेखि ९ बजेसम्म खानाको व्यवस्था गर्ने तालिका रहेको छ ।

आइतबार गेस्ट हाउस चौरमा उद्घाटन भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।

संशोधित रास्वपाको विधान अनुसार १५१ जनाको केन्द्रीय समिति हुनेछ । महाधिवेशनबाट ९९ जना निर्वाचित केन्द्रीय सदस्य आउने छन् भने सभापतिलाई मनोनित गर्ने अधिकार ५१ जना छुट्याइएको छ ।

विधानमा १९ पदाधिकारीको व्यवस्था गरिएको छ । सभापति, उपसभापति ३, महामन्त्री २, सहमहामन्त्री ५, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना पदाधिकारी हुनेछन् । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र एक उपसभापतिमा डा. स्वर्णिम वाग्ले सर्वसम्मत चयन हुनेछन् ।

रास्वपाका नेताहरूका अनुसार पदाधिकारीका अन्य पदमा पनि सर्वसम्मत बनाउने प्रयत्न भइरहेको छ । सर्वसम्मत हुने अवस्था बन्न नसके उपसभापति १, महामन्त्री १, सहमहामन्त्री ३ जनामा निर्वाचन हुनेछ ।

रास्वपाको विधान अनुसार पहिलो चरणमा सभापति र निर्वाचनबाट आउने केन्द्रीय सदस्यका लागि मतदान गर्नुपर्दछ । दोस्रो चरणमा पदाधिकारीका लागि मतदान हुनेछ । केन्द्रीय सदस्यमा निर्वाचित भएर पदाधिकारीमा प्रतिस्पर्धा गर्न नेताहरूले मत माग्ने कार्यलाई तीव्रता दिएका छन् ।

तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?