Comments Add Comment

कस्तो हुनुपर्छ पारिवारिक तालमेल ?

प्रमिला आफ्ना छोराले १२ कक्षा पास गरेकामा अत्यन्त खुशी थिइन् । उनको छोरा चेतनले उत्कृष्ट नम्बर ल्याएर १२ कक्षा पास गरेको थियो । उनले राम्रो कलेजमा पढ्न पाउने कारणले पनि प्रमिलाको खुशी बढेको थियो ।

तर, चेतनको कलेज खुलेसँगै आमा–छोराबीचको दूरी पनि बढ्न थाल्यो । चेतन आफ्नो पढाई र क्याम्पसमा व्यस्त रहन थाल्यो । बाँकी रहेको समयमा चेतन कि साथीभाइसँग कुरा गथ्र्यो कि टेलिभिजनमा ब्यस्त हुन्थ्यो । घरमा उनकी आमा पनि छिन् भन्ने कुरा उसले बिर्सिन थाल्यो । पहिला प्रमिला दिनभरी नै चेतनको काममा ब्यस्त रहन्थिन्, तर हिजोआज उनी खाली बस्ने गर्छिन् । चेतन घरमा भएर पनि उनी एक्लो जस्तो हुन थालिन् । उनी केही कुरा गर्नको लागि चेतनको कोठामा जाँदा चेतनले ममी अहिले म अलिक बिजी छु, एकछिनमा तपाईंसँग कुरा गर्छु भन्ने जवाफ दिन थाल्यो ।

चेतनको कुरा सुनेर प्रमिला पहिलाको दिन सम्झिन थालिन् । उनले चेतनका लागि बिहान सबेरै उठेर उसको लागि टिफिन तयार गर्थिन्, उनलाई स्कूल जान ढिला नहोस् भनेर उनको कपडा, खाना समयभन्दा अगाडि नै तयार गर्थिन् ।

तातो र मीठो खान पाओस् भनेर प्रमिलाले चेतन स्कूलबाट आउनु अगाडि नै उनका लागि खाना तयार गर्थिन् । दुबै सँगै खाना खान्थ्ये, कुरा गर्थे तर अब समयसँगै सबै कुरा परिर्वतन भएको छ ।

आमाबुबाको बढ्दो एक्लोपन

आज प्रमिला जस्ता धेरै आमा–बुबा एक्लोपनको स्थितिमा रहेका छन् । आज इन्टरनेट, मोबाइल र सामाजिक सञ्जालका कारण युवा–पीढीको जीवनशैलीलाई यति व्यस्त बनाइदिएको छ, उनीहरुसँग आफ्ना आमा–बुबाको लागि समय नै छैन । उनीहरु आफ्नो जीवनयापन र साथीभाइमा यति व्यस्त हुन थालेका छन्, उनीहरुलाई आफ्ना आमा–बुबाको एक्लोपनको कुनै वास्ता नै छैन । यस्तो स्थितिमा आमा–बुबाको जीवनमा खालीपना आउन शुरु हुन्छ ।

अहिलेका युवाहरु आमासँग त आफ्नो आवश्यकताको लागि केहि कुरा गरेपनि बुबासँग भने कुराकानी नै ठप्प जस्तो हुन्छ । स्कूल जाने समयमा आफ्नो आमा–बुबाबिना एकछिन नरहने बच्चा जब कलेज जान थाल्छ, आमा–बुबाबाट दिन–दिनै टाढा हुँदै जान्छ । उससँग आमा–बुबाको लागि समय हुँदैन । कलेजका साथीभाइ, ल्यापटप र फोनमा नै व्यस्त हुन्छन् । बाँकीसमय आफ्ना साथीभाइसँग घुम्न जाने गर्छन् । बिदाको समयमा आमा–बुबा आफ्नो सन्तानसँगै खाना खान र समय बिताउन चाहन्छन् । तर, बिदाको समयमा बच्चाहरु अबेरसम्म सुत्ने, कतै घुम्न जाउँभन्दा नमान्ने जस्ता व्यवहार देखाउँछन् । जसले आमाबुबाको मन टुट्ने गरेको छ ।

छोराछोरी टाढा हुने कारण बढ्दो प्रविधिको प्रयोग

हिजोआज हामी फेस टू फेस कुरा गर्न रुचाउँदैनौं । फेसबुकमा ट्याग, पोस्ट र लाइक हाम्रो रुचिको विषय बनेको छ । नयाँ प्रविधिहरुले हामीलाई सहज बनाए पनि हामीलाई आफन्तबाट टाढा पनि गराएको छ ।

आमा–बुबासँग कुरा गर्ने समय हामीसँग हुँदैन किनभने हामी दिनरात फोनमा व्यस्त रहन्छौं । अहिले त बच्चाहरु भाइबर, ह्वाट्सएप अथवा फेसबुक म्यासेन्जरको माध्यमबाट आफ्ना आमा–बुबासँग कुराकानी गर्छन् । यति मात्र नभएर खाना पनि ल्यापटप र मोबाइल हेर्र्दै खान मनपराउँछन् । जसलेसँगै बसेर खानाखाने परम्परालाई पनि विस्थापित गर्न थालेको छ । यदि तपाईंले आफ्ना बच्चालाई गाली गरेर आफुसँगै खाना खान भन्नुभयो भने ऊ दुःखी हुँदै खाना खान थाल्छ । उनीहरुको यस्तो अवस्था देखेर आमा–बुबालाई उसले चाहेजस्तोगरी खाना खाओस् भन्न बाध्य हुन्छन् ।

आमाको कुरा झर्को मान्नु

जब बच्चा स्कूलबाट कलेज जान थाल्छन्, उनीहरुलाई आमाका कुराहरु झर्को लाग्न थाल्छ । आमाको छनोट राम्रो लाग्न छोड्छ । आमाले घरमा बनाएको खाजा दिँदा उनीहरु रिसाउन थाल्छन् । उनीहरु हरेक कुरामा आधुनिक जमानाको कुरा गर्न थाल्छन् । आमालाई आजको जमानाको बारेमा केही थाहा नभए जस्तो सिकाउन खोज्छन् । आमालाई ‘‘आफ्नो राय–सुझाव आफैसँग राख्नु’’ भन्न समेत पछि पर्दैनन् ।

जब आफ्नो उमेरको मानिसको साथ मन पर्न थाल्छ

प्रायः युवा पीढीलाई आफ्नो उमेरको मानिस मनपर्छ । उसले लगाएको, खाएको र कुरा गरेको मन पर्न थाल्छ । उनीहरुलाई उसैको साथ राम्रो लाग्छ, उसँग नै व्यस्त रहन थाल्छन् र आमा–बुबालाई बिर्सन थाल्छन् । घर आएपछि पनि साथीसँग नै फोनमा व्यस्त रहन थाल्छन् । उसको बारेमा नै सोच्न थाल्छन् ।

साथीहरुको लागि समय छ, आमाबुबाको लागि छैन

दिनभरी साथीहरुसँग हुँदा पनि घरमा आएर बुबा–आमासँग कुरा गर्नुभन्दा साथीहरुसँग नै फोनमा व्यस्त रहन्छन् । अबेर रातसम्म पनि साथीहरुसँग च्याटमा व्यस्त रहन्छन्, बिहान ढिला उठ्छन् र छिट्टो –छिट्टो तयार भएर कलेज जान्छन् । यदि यो अवस्थामा आमाले केही भनिन् भने ‘‘अहिले समय छैन, पछि कुरा गरौंला’’ भन्ने जवाफ दिन थाल्छन् ।

आमा–बुबा एक्लो हुनुमा केवल युवा मात्र जिम्मवार छैनन्, त्यसमा आमा–बुबाको पनि कतै न कतै केही गल्ति गरेका हुन्छन् । हामी बच्चाहरुको नजिक जानको लागि उनीहरु जस्तै व्यवहार गर्नुपर्छ र उनीहरुलाई बुझ्नु आवश्यक छ ।

तुलना गर्नु हुँदैन

प्रायः आमा–बुबा छोरा–छोरीको तुलना आफूसँग गर्छन् । यसो गर्नु गलत कुरा हो किनभने तपाईंको समय भिन्दै थियो भने आजको समय अलग छ । यसरी तुलना गर्दा बच्चा तपाईंबाट टाढा हुन्छन् । उनीहरुले तपाईंको कुरा सुन्न छाड्छन्, हरेक समय आफूमा नै व्यस्त रहन थाल्छन् । उनीहरुको यस्तो व्यवहारले  एक्लोपन महसुस गर्न थाल्नुहुन्छ ।

प्रतिक्रियाले कुरा बिग्रन्छ

बच्चाले केही गल्ती गर्नासाथ आमा–बुबाहरु तुरुन्त प्रतिक्रिया जनाउने गर्दछन् । उनीहरुलाई गाली गर्न थाल्छन् तर त्यसो गर्नु गलत हो । उनीहरुलाई मायाले सम्झाउनुपर्छ । यदि तपाईं उनीहरुसँग कडा व्यवहार गर्न थाल्नुभयो भने उनीहरु टाढा हुन थाल्छन् ।

केही स्वतन्त्रता दिनुहोस्

प्रायः आमा–बुबा बच्चालाई स्वतन्त्रता दियो भने बच्चा बिग्रन्छ भन्ने धारणा राख्छन् । तर तपाईंले आफ्ना बच्चालाई जति नियन्त्रणमा राख्नुहुन्छ उनीहरु त्यति नै तपाईबाट टाढा हुँदै जान्छन् ।

आफूलाई पनि बदल्नुहोस्

अहिले हरेक कुरा तीव्रगतिमा बदल्न थालेको छ, त्यसैले तपाईंले पनि स्वयंलाई परिर्वतन गर्नुहोस् । तपाईंको बच्चाले तपाईंलाई जुन कुरामा सुधार गर्नु भन्ने गर्छन्, त्यो कुरामा केही भए पनि परिर्वतन गर्नुहोस्, त्यसले बच्चा खुशी हुन्छन् ।

यदि तपाईंको बच्चाले घरमा साथीभाई बोलाएको छ भने आफ्नो बच्चाको साथीभाइको अगाडि राम्रो लुगा लगाएर जाने र राम्रो व्यवहार गर्नुपर्छ । यसले तपाईको बच्चाको साथीभाइको अगाडि मान प्रतिष्ठा बढ्छ ।

बच्चाको भूमिका कस्तो हुनुपर्छ ?

यदि तपाईं पढाईको क्रममा घर अथवा शहरबाहिर हुुनुुहुन्छ भने आफ्नो र आफ्ना आमा–बुबाबीच दुरी बढ्न दिनु हुँदैन । तपाईं उनीहरुबाट टाढा भएपनि फोनको माध्यमबाट जोडिरहन सक्नुहुन्छ । आमा–बुबाको फोनको जवाफ दिने गर्नुपर्छ । धेरै युवाहरु आफ्नो करियरको टेन्सनमा आफ्ना आमा–बुबासँगको लगाव कम भएको पनि सुनिन्छ । तर करियर र आफन्तको स्थान फरक–फरक हुन् भन्ने कुरा तपाईंले बुझ्न आवश्यक छ ।

प्रायः बच्चाहरु छुट्टिको समयमा घर आउँदा पनि आफ्ना साथीहरुसँग नै व्यस्त हुनेगर्छन् । जुन गलत हो । तपाईं धेरैभन्दा धेरै समय आफ्ना आमा–बुबासँग समय बिताउनुपर्छ । उनीहरुसँग कुरा गर्नुपर्छ, सपिङमा जानुपर्छ र उनीहरुको लागि सरप्राइजको योजना बनाउनुपर्छ ।

यदि तपाईं घरमा नै आफ्ना आमा–बुबासँग हुनुहुन्छ भने आफ्नो पढाई, साथीभाइ र कलेजबाट केही समय निकालर आफ्नो परिवारसँग बिताउनुपर्छ । कलेजमा हुनुहुन्छ भने एक पटक फोन गरेर आफ्ना आमा–बुबाको हालखबर बुझ्नुहोस् । कहिलेकाहीँ आफ्ना आमा–बुबालाई मनपर्ने फिल्महरु पनि सँगै बसेर हेर्नुपर्छ । त्यसरी आमा–बुबा र बच्चाबीचको दुरी कम हुन्छ र सम्बन्ध पनि सुमधुर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment