Comments Add Comment
आज एनआरएनए चुनाव :

आज एनआरएनए चुनाव : पन्त र आचार्यको प्यानलमा काे-काे ?

कुन देशमा कति छन् एनआरएनएका मतदाता ?

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो ।

गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ ।

साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरुले विद्युतीय मतदान गर्नेछन् । मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । विद्युतीय मतदान भएकाले आज नै सम्पूर्ण नजिता आइपुग्ने छ ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन् ।
यो पनि पढ्नुहोस एनआरएनएको महासचिवमा कांग्रेस भर्सेस कांग्रेस !

दुबै प्रत्यासीहरुको प्रचार शैली निकै भड्किलो र खर्चिलो भएको भन्दै केही प्रतिनिधिहरुले आलोचनासमेत गरेका छन् । संघको स्थापनाको उद्देश्यविपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सम्मेलनको उदघाटन बहिस्कार गरेका छन् ।

तर, एनआरएनको विधानविपरित दुवै अध्यक्षका प्रत्यासीहरु प्यानल नै बनाएर चुनाव लड्ने भएका छन् । आचार्यले सोमबार दिउँसो नै पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका थिए । पन्तले गोप्यरुपमै आफ्नो प्यानललाई अन्तिम रुप दिएका छन् । बुधबार राति अबेरसम्म छलफल गर्दै पन्तले निर्णय लिएको स्रोतको दाबी छ ।

पन्त समुहमा को– को छन् ?

दुई/दुई पटकसम्म उपाध्यक्षमा बनेका जर्मनी निवासी व्यवसायी कुमार पन्तले यसपटक अध्यक्षको दाबी गरेका छन् । पन्त समूहलाई नेकपा निकटका रुपमा चिनिँदै आएको छ । तर, केही उम्मेदवारहरु प्रजातान्त्रिक विचारधाराका र केही स्वतन्त्ररुपमा चिनिएका छन् ।

पन्त समूहबाट ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् ।

खुल्लातर्फ उपाध्यक्षमा ४ पद रहेकाले श्रेष्ठ र अधिकारीमा कसलाई अघि लैजानेबारे पन्त समूहमा अझै पनि छलफल चलिरहेको कुमार पन्त निकटस्रोतको भनाइ छ । महिला उपाध्यक्षमा पन्त समूहबाट रसिया निवासी सपिलाराज भण्डारीले उम्मेदवारी दिने भएकी छिन् ।
यो पनि पढ्नुहोस भवन भट्टले बोकाएको १५ करोड ऋणको भारी !

पन्त समूहले महासचिवमा बेलायत निवासी प्राध्यापक डा. हेमराज शर्मालाई अघि सारेको छ । सचिवमा अमेरिका निवासी गौरी जोशीबारे निर्णय गरेको भए पनि शिवकुमार बरुवाल (बेल्जियम) र मध्यपूर्वका राजेन्द्र कुमार शर्मा (आरके) मध्ये एकलाई उतार्ने प्रयास भइरहेको बताइन्छ ।

एनआरएनए विधानअनुसार २ जना सचिवमा निर्वाचित हुनेछन् ।

पन्त समूहबाट कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन् । पन्त समूहबाट सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका) ले दाबी गरेका छन् । तर, अन्तिम समयमा आएर दाहाल वा गौतम मध्ये एकलाई अघि बढाउने निर्णयमा पुगेको पन्त निकटस्थहरुको भनाइ छ । यसअघि शेर्पालाई जिताउन पूर्वअध्यक्ष शेष घलेसँग पन्तले सहमति जनाएकोबारे चर्चा चलेको थियो ।

आचार्य समूहमा को–को ?

बेलायत निवासी व्यवसायी कुल आचार्य आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन् । संघका वर्तमान उपाध्यक्ष रहेका आचार्यले अन्तिम समयमा आएर पन्तलाई टक्कर दिएका हुन् । आचार्यको उम्मेदवारीबारे सुरुका दिनमा हल्लाका रुपमा लिइएको भए पनि अन्ततः उनले निर्वाचनको माहोललाई ह्वात्तै तताएका छन् ।

प्रजातान्त्रिक विचारधारका आचार्यको समूहलाई कांग्रेस निकटका रुपमा हेरिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्वद्व एनआरएन प्रतिनिधिहरु आचार्यलाई जिताउन एकतावद्व बनेका छन् ।

आचार्यको समूहबाट पाँच उपाध्यक्षमा डा. केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका) लाई अगाडि सारिएको छ ।

यस्तै आचार्य समूहबाट महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङलाई अघि सारेका छन् । गुरुङ एनआरएनएकी वर्तमान सचिव हुन् ।
यो पनि पढ्नुहोस एनआरएनएका सारथी : यी हुन् ५ उपाध्यक्षका दाबेदार

यस्तै वर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले आचार्य समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अन्य पदका उम्मेदवारहरुलाई भने आफूलाई सघाउने शर्तमा आन्तरिक सहमति भएको आचार्य निकटस्थ स्रोतको दाबी छ ।

अध्यक्षका प्रत्यासी कुमार पन्तलाई नेकपा निकट र कुल आचार्यलाई कांग्रेसनिकट ठानिएकाले अहिलेको निर्वाचनलाई कांग्रेस भर्सेस कम्युनिष्टका रुपमा हेरिएको छ ।

नेपालमा भएका कतिपय संघ संस्थाका चुनावमा नेकपा समर्थित उम्मेद्वार पराजीत बनेको र कांग्रेस निकटले जितेको सन्दर्भ कोट्याउँदै कतिपयले एनआरएनएको आजको निर्वाचनलाई पनि कांग्रेस र कम्युनिष्टको लोकप्रियता जाँच्ने कडीका रुपमा विश्लेषण गर्न खोजेको देखिन्छ ।

यद्यपि एनआरएनएको गैरराजनीतिक चरित्रको रक्षा हुनुपर्ने मत पनि एनआरएनमा बलियोसँग प्रकट भइरहेको छ ।

कुन देशमा कति मतदाता ?

यतिबेला काठमाडौंमा विश्वभरका नेपालीहरुको जमघट छ । गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा सहभागी हुन उनीहरु काठमाडौं ओर्लिएका हुन् । आगामी नेतृत्व चयन गर्ने सम्मेलन भएकाले एनआरएनए गठन भएका सबै देशका प्रतिनिधि र वैकल्पिक प्रतिनिधि सहभागी भएका छन् । राष्ट्रपति विद्या भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन बुधबार नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।

एनआरएनए सचिवालयका अनुसार ८१ देशमा गैरआवासीय नेपालीहरुको उपस्थिति छ । तर, आज हुने चुनावका लागि मतदाता भने एनआरएनएका प्रतितिनिधिहरु ४५ राष्ट्रमा सीमित छन् ।

एनआरएनएको विधान अनुसार ६ वटा क्षेत्रीय समितिहरु छन् । ती क्षेत्रीय समितिमध्ये सबैभन्दा बढी मत युरोप क्षेत्रीय समितिको छ भने सबैभन्दा कम मत अफ्रिका क्षेत्रको छ ।

६ वटै क्षेत्रका एनआरएनका सदस्यहरुको कुल संख्या ७३ हजार ९५१ हुन्छ । यसबाट सम्मेलनमा तीन हजार ५८ जनाले सहभागिता जनाउन पाउँछन् । तथापि आजको सम्मेलनमा करिब २५ सयको हाराहारीमा मात्र सहभागिता रहेको आयोजकहरुको भनाइ छ ।

नवौं सम्मेलनका लागि सबैभन्दा धेरै २८ हजार ७९९ सदस्य रहेको युरोप क्षेत्रका एक हजार १८३ मतदाता छन् ।

त्यसमा पनि १३ हजार ६२९ सदस्य रहेको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बेलायतका मात्रै १७९ जना मतादाता छन् । यसले नयाँ नेतृत्वका लागि हुने चुनावमा समेत महत्वपूर्ण भूमिका खेल्छ । क्षेत्रगत मत आएको खण्डमा युरोप वा बेलायतको प्रतिनिधित्व गर्ने उम्मेदवारलाई सहयोग हुने देखिन्छ ।

युरोपकै अन्य राष्ट्रमा पनि मतदाता संख्या उल्लेख्य छ । दुई हजार १७५ सदस्य रहेको पोर्चुगलका १२७, दुई हजार ३९७ सदस्य रहेको स्पेनका १२५, दुई हजार २७ सदस्य रहेको जर्मनीका १२५, एक हजार ६४ सदस्य रहेको डेनमार्कका १०२, दुई हजार पाँच सदस्य रहेको बेल्जियममा १३० जना प्रतिनिधि छन् ।

एसिया प्यासिफिक र मध्यपूर्व क्षेत्रका मतदाता झण्डै बराबर छन् ।

युरोपपछि ११ हजार २७१ सदस्य रहेको एसिया प्यासिफिक क्षेत्रका मतदाता ६४० जना छन् । यो क्षेत्रमा पर्ने दक्षिण कोरिया, मलेसिया र जापान तीनवटै देशमा १३८÷१३८ जना मतदाता छन् । हङकङमा १००, र मकाउका ७९ जना मतदाता छन् ।

तेस्रो धेरै मतदाता भएको क्षेत्र मध्यपूर्व हो । यहाँको पञ्जीकृत सदस्य संख्या ८ हजार ६१२ छ । ६२० जना यहाँका मतदाता छन् ।

यो क्षेत्रमध्ये सबैभन्दा धेरै कतारका १४८ जना मतदाता छन् । इजराइलका १०६, ओमानका सय, कुवेतका ९८, साउदीका ७१ र बहराइनका ६० जना मतदाता छन् ।

ओसेनियाँ क्षेत्रबाट दुई देशको मात्रै प्रतिनिधित्व छ । अस्ट्रेलिया र न्युजिल्याण्डमा गरी ३०० मतदाता छन् ।

अस्ट्रेलियामा मात्रै ११ हजार ६३८ सदस्य र १७५ मतदाता छन् । न्युजिल्याण्डमा २ हजार २ जना सदस्यबाट १२५ जनाले मतदाता बन्न पाउँछन् ।

पाँचौं नम्बरमा रहेको उत्तर–दक्षिण अमेरिकामा ११ हजार ४४६ जना सदस्य छन् । यस क्षेत्रबाट २९७ ले मतदाता बन्न पाउँछन् । अमेरिकामा ९ हजार ८९ सदस्य र १६८ मतदाता छन् । २ हजार ३५७ पञ्जीकृत सदस्य रहेको क्यानडामा १२९ जना मतदाता रहेका छन् ।

सबैभन्दा कम सदस्य र मतदाता भएको क्षेत्र हो, अफ्रिका । जम्मा ६१ सदस्य र १८ मतदाता भएको यो क्षेत्रमा ६ देश छन् । युगान्डामा ६, नाइजेरियामा ४, घाना र केन्यामा ३/३ गिनीका एकजना मतदाता रहेका छन् ।

गैर आवासीय नेपाली संघको कार्यालयमा रहेको तथ्यांकमा ७३ हजार ९५१ जना पञ्जीकृत सदस्य र ३ हजार मतदाता संख्या देखाइए पनि काठमाडौंमा जारी विश्व सम्मेलनमा सत प्रतिशत मतदाताको उपस्थिति देखिँदैन । यातायात खर्च, विदा लगायतका विविध समस्याका कारण सबै एनआरएनहरु सम्मेलनमा सहभागी हुन सकेका छैनन् ।

कतिपय मतदाताचाहिँ विदेश छाडेर स्वदेशमै आइसकेकाहरु पनि देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment