Comments Add Comment

नेपालकी बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा

२९ असोज, काठमाडौं । नेपाली चेली बोनीता शर्मा विश्वका प्रेरणादायक र प्रभावशाली १०० महिलाको सूचीमा पर्न सफल भएकी छन् ।

बीबीसीले सन् २०१३ देखि हरेक वर्ष विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक महिलाको सूची सार्वजनिक गर्दै आइरहेको छ । महिलाको अनुकरणीय काम विश्वभर फैलाउने उद्देश्यका साथ प्रकाशित गर्ने गरेको सूचीमा श्रृंगार सामग्री  उद्यमी बाँबी ब्राउन, संयुक्त राष्ट्रसंघकी ड्युटी सेक्रेटरी जनरल अमीना मोहम्मदसँगै सामाजिक कार्यकर्ता मलाला युसुफजलगायत परिसकेका छन् । विगत वर्षझैं यस वर्ष पनि बीबीसीले सूची सार्वजनिक गरेको छ, जसमा विभिन्न देशका महिलासँगै शर्मा पनि समेटिएकी छन् ।

शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स संस्थाकी संस्थापक हुन् । उनी नेतृत्वको संस्थाले महिला सशक्तीकरणसँगै पोषण क्षेत्रमा काम गर्दै आइरहेको छ ।

बीबीसीले महिला सशक्तिकरणसँगै पोषण क्षेत्रमा शर्माले पुर्‍याएको योगदानको कदर गर्दै विश्वका १०० प्रभावशाली महिलाको सूचीमा उनलाई पनि समेटिएको जनाएको छ ।

बीबीसीका अनुसार, शर्मा निकै संघर्षका साथ सामाजिक सेवामा आएकी हुन् । आमाको प्रेरणाले डिग्री हासिल गरेकी उनले महिला शिक्षा र तिनको सशक्तीकरणका लागि भूमिका खेलेको बीबीसीमा उल्लेख छ ।

महिला शिक्षाका लागि उनका परियोजनाले खेलेको भूमिकाको सम्मान गर्दै युनेस्को मलाला कोषबाट उनको संस्था पुरस्कृतसमेत भएको छ ।

उनको संस्थाले ‘सोचाइ पोषणका लागि युवा कार्यक्रम’लगायतका अभियान अगाडि बढाउँदै आएकाे छ ।  कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न उनले न्युट्रबिड्स डिजाइन गरेको बीबीसीमा उल्लेख गरेको छ । त्यस्तै, आफ्ना बच्चाहरूलाई कसरी पोषणयुक्त खाना खुवाउन सकिन्छ भनेर उनले फलाएको जागरणलाई पनि बीबीसीले उदाहरणीय भनेको छ ।

सूचीमा भारतका मात्रै ७

बोनीतासँगै विश्वका विभिन्न क्षेत्र तथा पेसामा रहेका अन्य देशका ९९ सय महिलालाई पनि बीबीसीले प्रभावशालीको सूचीमा राखेको छ । प्रभाशाली विश्वको पहिलो नम्बरमा प्रिसियस आडम्स परेकी छन् । अमेरिकाकी उनलाई कला क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै पहिलो नम्बरमा राखिएको हो ।

आइरन लेडी अफ काश्मीरको उपमा पाएकी भारतीय मानव अधिकारवादी परवीना अहंगर दोस्रो नम्बरमा छिन् । त्यस्तै, तेस्रो र चौथोमा क्रमशः इटालीकी राजनीतिक पियरा अइलो र क्रिकेटर जस्मिन अक्तर परेका छन् । महिला सशक्तीकरणमा पछि परेको ठानिएको साउदी अरेबियाकी कलाकार मनल अलदोवयन पाँचौमा परेकी छन् ।

सूचीमा भारतका मात्रै सात महिला परेका छन् । दोस्रो पंक्तिमा रहेकी मानव अधिकारवादी परवीना अहंगरसँगै पर्यावरणविद् वंदना शिवा, योग विशेषज्ञ नताशा नोएल र चिकित्सक प्रगति सिंह पनि प्रेरणादायीको सूचीमा छन् । त्यस्तै, लैंगिक समानताको पक्षमा आवाज उठाउँदै आइरहेकी सुभालक्ष्मी नंदी पनि विश्वका सय अनुकरणीय महिलाको सूचीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment