Comments Add Comment

राजकीय भोजमा राष्ट्रपति भण्डारी र सीको ‘ग्यान्बे’ !

२५ असोज, काठमाडौं । दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् ।

राष्ट्रपति सी बसेकै होटल सोल्टी क्राउन प्लाजामा राष्ट्रपति भण्डारीले रात्रीभोज आयोजना गरेकी हुन् । सीको सम्मानमा आयोजना गरिएको रात्रीभोजमा केही नेपाली परिकारहरुको पनि व्यवस्था गरिएको थियो ।

रात्रीभोज कार्यक्रमलाई दुवै देशका राष्ट्रपतिले सम्बोधनसमेत गरेका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सुस्वास्थ्यका लागि भन्दै चियर्सको प्रस्ताव गरेपछि राष्ट्रपति सीले त्यसको स्वीकारोक्तिमा ‘ग्यान्बे’ भन्दै चियर्स गरेका थिए ।

रात्रीभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत सहभागी भएका थिए । रात्रीभोजका लागि परराष्ट्र मन्त्रालयले अतिथिहरुलाई ड्रेस कोड तोकेर निम्तो पठाएको थियो ।

औपचारिक भ्रमणका लागि शनिबार अपराह्न करिब ४ः४५ बजे काठमाडौं ओर्लिएका सीले शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्तासमेत गरिसकेका छन् । उनी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

चीनबाट नेपालमा भएको यो २३ वर्ष पछिकै उच्चस्तरीय भ्रमण हो ।

तस्वीर सौजन्यः रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment