Comments Add Comment

महिला च्याम्पियन्स लिगमा काठमाडौंको पहिलो जित

३० असोज, काठमाडौं । क्याट क्वीन्स काठमाडौंले महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा पोखरा पल्टनलाई पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको महिला च्याम्पियन्स लिग क्रिकेटको आफ्नो दोस्रो खेलमा काठमाडौंले पोखरालाई ८२ रनले पराजित गरेको हो । यसअघि हिजो भएको उद्घाटन खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको काठमाडौंले आफ्नो दोस्रो खेलमा जित दर्ता गर्न सफल भएको हो ।

१५३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखरा पल्टनले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ७० रन मात्रै बनाउन सकेपछि काठमाडौंले सहज जित हात पारेको हो । पोखराको लागि दुई खेलाडीले मात्रै दोहोरो अंक बटुल्न सफल भए ।

कप्तान सीता रानामगरले १७ र विन्दु रावलले १३ रन बनाए पनि अन्य खेलाडी सस्तैमा आउट भए । काठमाडौंका लागि सरस्वती कुमारी र अप्सरी बेगमले समान २-२ विकेट लिए ।

कप्तान रुविनाको अविजित ८३ रन

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५२ रन बनाएको थियो । काठमाडौंको ठूलो स्कोरमा कप्तान रुविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरिन् ।

उनले अविजित ८३ रन बनाइन् । यो क्रममा उनले मात्र ६७ बलको सामना गर्दै १४ चौका र दुई छक्का प्रहार गरिन् । उनकै ठूलो स्कोरमा काठमाडौंले सहज जित निकालेको हो ।

त्यस्तै, काठमाडौंका लागि रोमा थापाले १९ र सोभा आलेले १२ र  ईश्वरी विष्टले १० रन बनाइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment