
३० असोज, काठमाडौं । विदेशमा बस्ने नेपालीहरुले त्यहाँको उदाहरण दिँदै नेपालभित्रको बेथिति र अनुशासनहीनताबारे सामाजिक सञ्जालमा गुनासो र आक्रोश व्यक्त गरिरहन्छन् । तर, उनीहरु आफैंले चाहिँ विदेशमा बसेर के सिके त ? यसपालिको गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं विश्व सम्मेलनका क्रममा आएका प्रतिनिधिहरुले देखाएको तमासा हेर्दा लाजमर्दो स्थिति देखिएको छ ।
तीन दिनदेखि काठमाडौंको हायात होटलमा एनआरएन सम्मेलन चलिरहेको छ । निर्धारित कार्यक्रम अनुसार बुधबार नै एनआरएनले नयाँ नेतृत्व पाइसक्नु पर्ने थियो ।तर, प्राविधिक गडबडी र आन्तरिक विवादले अहिलेसम्म मतदान नै हुन सकेको छैन । करिब २ हजार प्रतिनिधिहरुको बसाई लम्बिएको छ ।
यसपालि एनआरएनहरुको तमासा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु भयो । नेपाली भूमिमा पाइला टेकेदेखि बालुवाटार हुँदै हायात होटल चावहिलसम्म उनीहरुले जात्रा देखाइरहेका छन् ।
घटना १
सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापाले विमानस्थलमा बितन्डा गरेका थिए । उनलाई सहयोग गर्ने अर्की एनआरएन थिइन् उषाकिरण वरिया ।
उनीहरुसहित पाँच जना अष्ट्रेलियाबाट एकसाथ नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । अष्ट्रेलियाको नागरिक बनिसकेका उनीहरु नेपालको भिसा लिएर आएको र एनआरएनको कुनै परिचयपत्र नभएकाले विदेशीहरुसँगै लाइनमा उभिनुपरेको थियो । तर, लामो लाइनमा बस्नु परेको भन्दै उनीहरुले विमानस्थलभित्रै वितण्डा मच्चाए ।
विमानस्थलको सिस्टम राम्रो नभएको र दुःख पाइएको भन्दै थापाले कर्मचारीसँग झगडा गरेका थिए । डेस्कको सीसा समेत उनले फुटाएपछि अध्ययागमनले नियन्त्रणमा लिएको थियो । थापासँगै रहेकी उषाकिरण भने त्यहाँबाट बाहिरिन सफल भइन् ।
यद्यपि, दुबैजनालाई अध्यागमनले कारबाही गरिसकेको छ । तोडफोडमा उत्रिएका थापालाई ५० हजार रुपैयाँ धरौटी लिएर छाडिएको छ भने उषाकिरणलाई २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
रिहाइ गर्न एनआरएन नेताको दबाबका बीच उनीविरुद्ध विभागले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ बमोजिम कारबाही गरेको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलेले थापालाई जरिवाना तिराइएको जानकारी दिएका छन् ।
घटना २
एनआरएनको ‘नेपाली पारा’ सचिवालयको भवनमा आयोजित पत्रकार सम्मेलनमा पनि देखियो । यो पत्रकार सम्मेलन अति अव्यवस्थित र भद्रगोल थियो । साथै कार्यालय परिसरको वातावरण पनि अस्तव्यस्त थियो ।
पत्रकार सम्मेलनमा अध्ययक्षसहितका बहुमत पदाधिकारी अनुपस्थित थिए । पत्रकारको कुर्सी एनआरएन प्रतिनिधिहरुले ओगटेका थिए । प्रश्न पनि उनीहरुले नै धेरै सोधे । पत्रकारहरुको अगाडि आफ्नै नेतृत्वको आलोचना गरे ।
पत्रकार सम्मेलन सकिएपछि अध्यक्ष भवन भट्ट टृुप्लुक्क आइपुगे । आफूलाई नराखी किन पत्रकार सम्मेलन गरेको भन्दै रिसाए । अनि पुनः पत्रकार सम्मेलन दोहोर्याए । तर, उनको पत्रकार सम्मेलनमा ४–५ जना पत्रकार मात्र थिए ।
घटना ३
मंगलबार विश्व सम्मेलनको उद्घाटन कार्यक्रममा पनि खराब व्यवस्थापनको नमूना देखियो । मिडिया व्यवस्थापनमा बेवास्ता गरेका कारण रिपोर्टिङका लागि पुगेका धेरै पत्रकारहरु सम्मेलनमा स्थलमा प्रवेश गर्न पाएनन् । सम्मेलन उद्घाटन सत्र चल्दै गर्दा उम्मेदवारहरु भने भोट माग्नमै व्यस्त थिए ।
उद्घाटन सत्र सकिएपछि अर्थमन्त्रीको सभापतित्वमा एउटा प्यानल डिस्कसन थियो । त्यहाँ वक्ताको रुपमा एनआरएन उपाध्यक्ष कुमार पन्तसमेत थिए । उनको बोल्ने पालो आएपछि कार्यक्रम सञ्चालनको जिम्मा पाएका प्रतीक प्रधानले पन्तलाई बोलाए । तर उनी त्यसबेला आसन छाडेर भोट माग्न दौडिसकेका थिए ।
अझ लफडा त सम्मेलनको दोस्रो दिन बुधबार देखियो । सम्मेलनस्थल हायात होटलमा दुई पक्षका प्रतिनिधिहरुले हुलदंगा मच्चाउन खोजे । नाराजुलुस गरे । केहीले कुर्सी भाच्नसमेत भ्याए ।
अपरान्ह ५ बजेका लागि मतदान प्रक्रिया हुने कार्यतालिका निर्वाचन समितिले दिउँसै सार्वजनिक गरेको थियो । सम्मेलनमा आय–व्ययको विषयमा बिवादहरु भए । त्यो विवाद सेलाउन नपाउँदै एउटा पक्षले नक्कली प्रतिनिधिहरु आएको भन्दै होहल्ला गर्यो ।
त्यसपछि अझै अस्तव्यस्त बन्यो होटल हायात । विवाद मिल्न लामै समय लाग्यो । ५ बजे भनिएको मतदान ८ बजे पनि शुरु हुन सकेन । मतदान शुरु गर्न ढिलाई भएको भन्दै फेरी अर्को पक्षले नारावाजी शुरु गर्यो ।
तनाव बढेपछि प्रहरीले सुरक्षा व्यवस्था बढायो । टाउकोमा हेलमेट लगाएर हातमा ढाल र लौरो बोकेका प्रहरी थपिए । प्रहरीको सुरक्षा हेर्दा ठूलै आन्दोलन चर्किन लागेको अनुभुति हुन्थ्यो । लफडै लफडाकाबीच करिब १० बजे मतदान शुरु भयो तर एक सय मत पनि खस्न नपाउदै राति ११ बजेतिर स्थगन भयो । त्यसपछि पनि एउटा सानो समूह नारा लगाउदै हायात होटलबाट बाहिरिए ।
बुधबार स्थगन भएको मतदान बिहीबार विहान १० बजेदेखि हुने बताइएको थियो । बिहीबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सुरक्षा कडा बनाइएको छ । बिहानै हो–हल्ला र तोडफोड गरे प्रहरीले तत्काल नियन्त्रणमा लिने भन्दै सचिवालयका कर्मचारीहरुले प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । यसपछि भने बिहीबार केही शान्त देखियो । तर, यो समाचार लेख्दासम्म मतदान सुरु हुन सकेको छैन ।
नसुध्रिएको ‘नेपाली पारा’
एनआरएनले विमान स्थलदेखि नै हो–हल्ला मच्चाएपछि यति सर्वत्र आलोचना भएको छ । जंगली प्रवृति देखाएको भन्दै एनआरएनविरुद्ध सामाजिक सञ्जालमा समेत चर्को आलोचना गर्न थालिएको छ ।
एनआरएनएका महासचिव बद्री केसीले एनआरएनको पुरानो बानी सुधार अझै नभएको बताए ।
‘विदेशमा जति वर्ष वसे पनि नेपालीहरुको बानी व्यहोरा उस्तै देखियो,’ उनले भने ।
सम्मेलन स्थलमा हुलदंगा भइरहदा पनि केही एनआरएनहरु आफूहरुको बद्नाम भएको भन्दै दुखेसो गरिरहेका थिए ।
‘केही व्यक्ति र प्रवृतिका कारण सबैको बदनामी हुने खतरा छ,’ अष्ट्रेलियाबाट आएका भैरव ढकालले भने, ‘हिजो नेपालमा हुँदा जस्तो थियो, त्यो बानी अझै गएको छैन, यो राम्रो होइन ।’
प्रतिक्रिया 4