News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्य उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन्।
- अध्यक्ष केपी शर्मा ओलीको निवासमा बेहोस भएपछि उनलाई प्रारम्भिक उपचारका लागि भक्तपुरको ठिमी अस्पताल लगिएको थियो।
- वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले थपलियाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकीय निगरानीमा रहेको जानकारी दिए।
१९ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन् ।
पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला उनी सोमबार साँझ गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए ।
भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनी मंगलबार अपराह्न थप उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् ।
वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार थपलियालाई मंगलबार अपराह्न करिब ४ बजे वीर अस्पतालको सर्जिकल भवनको तेस्रो तलास्थित क्याबिनमा भर्ना गरिएको हो ।
अस्पताल पुगेपछि उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरिएको छ।
डा. बुढाथोकीका अनुसार हाल थपलियाको रक्तचाप, अक्सिजनको मात्रा लगायत सबै जीवनरक्षक सूचक (भाइटल साइन) सामान्य अवस्थामा रहेका छन् ।
उनलाई सलाइन चढाएर निरन्तर चिकित्सकीय निगरानीमा राखिएको छ ।
अस्पतालका अनुसार थपलिया टाइप–२ मधुमेह (डायबिटिज मेलाइटस) का बिरामी हुन् । सोही अवस्थालाई समेत ध्यानमा राखेर चिकित्सकहरूले नियमित निगरानी गरिरहेका छन् ।
‘उहाँलाई सर्जिकल बिल्डिङको तेस्रो तलाको क्याबिनमा राखेर उपचार भइरहेको छ । सबै भाइटलहरू सामान्य छन्, सलाइन चलिरहेको छ र निरन्तर मोनिटरिङ भइरहेको छ,’ डा. बुढाथोकी भने ।
प्रतिक्रिया 4