Comments Add Comment

राजपुर विस्फोट प्रकरण : भुस झिकेर हेरौं भन्दै आलमका भाइले झम्टिए

Photo Credit : मोहम्मद अफताव आलम

१० कात्तिक, काठमाडौं । १२ वर्षअघि भएको बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा सांसद मोहम्मद अफ्ताब आलम प्रहरी हिरासतमा छन् । उनीमाथि अनुसन्धान गरिरहेको प्रहरी प्रमाण जुटाउन प्रयासरत छ ।

तर सबैजसो प्रमाण नष्ट भइसकेपछि थालिएको अनुसन्धानले के परिणाम हात लाग्छ भन्न गाह्रो छ ।

किनकी प्रहरीसँग भएको सबैभन्दा ठूलो प्रमाण भनेको प्रत्यक्षदर्शी भनिएका समसुल मियाँ हुन् । उनी ओसी अख्तरका ससुरा पनि हुन्, जो त्यसबेला आलमको चुनाव प्रचारमा हिँडेका थिए र त्यही विस्फोटमा मारिएको बताइएको छ ।

तर प्रत्यक्षदर्शीको भनाइकै आधारमा मात्र अभियोजन गर्न गाह्रो भएकाले प्रहरी थप प्रमाण जुटाउने प्रयासमा छ ।

त्यसबेला घटनास्थलको अनुगमनमा गएकाहरुले भने प्रमाण नष्ट गर्न राज्यले सहयोगी भूमिका खेल्दा यो अवस्था आएको बताउँछन् । घटना भएको एक सातापछि अनुगमनमा पुगेको टोलीमा संलग्न एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘१२ वर्ष अगाडि हामीले बोल्दा राज्यले सुनेको भए यो अवस्था आउने थिएन ।’

२७ चैत २०६४ (चुनावको अघिल्लो रात) राजपुर ४ मा बम विस्फोटको खबर आयो । तर थप केही जानकारी आएन । भोलिपल्ट चुनाव भएकाले त्यो घटनाले प्राथमिकता पाए । एक सातापछि पीडित परिवारका केही सदस्य काठमाडौंमा आएर पत्रकार सम्मेलन गरेपछि संयुक्त अनुगमन टोली रौतहट पुगेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल बार एशोसिएसनलगायतले छुट्टै प्रतिनिधि खटाएको भए पनि उनीहरु सँगै रौतहट पुगेका थिए ।उनीहरुले सुरुमा प्रहरी प्रशासनलाई भेटे । तर तत्कालीन एसपी लक्ष्मण न्यौपानले ‘केही भएकै छैन, किन आउन भएको ?’ भन्दै हप्काएको एक सदस्यले बताए ।

उनका अनुसार प्रहरी प्रशासनकै मिलामतोमा घटनामा प्रमाणहरु नष्ट गरेको प्रष्ट देखिन्थ्यो ।

टोली जब घटनास्थल पुग्यो, स्थानीयले बम विस्फोट भएको र ठूलो संख्यामा हताहती भएको सुनाए । घटना लुकाउन घाइतेहरुलाई इँटा भट्टामा हालेर मारेको, क्षतिग्रस्त घर रातारात मर्मृत गरिएको स्थानीयले बताएका थिए ।

टोली बम विस्फोट भएको भनिएको आममका काका शेख इन्द्रिसको खलियान घरमा पुग्दा छानामा केही नयाँ बाँस हालिएको देखिएकोे अनुगमन टोलीका एक सदस्यले सुनाए ।

उनी भन्छन्, ‘टालिएको भित्ता छोप्न भुस राखिएको रहेछ । हामीले भुस झिकेर हेरौं मात्र के भनेका थियौं, आलमका भाइ मोहम्मद सकिल अख्तरले झम्टिहाले ।’ यद्यपि अनुगमन टोलीसँगै गएका एक प्रहरी इन्स्पेक्टरले तत्काल पेस्तोल निकालेर सचेत गराएपछि मात्र अनुगमन टोली कुटिनबाट जोगिएको थियो ।

अहिले भनिएको जस्तै आलमले विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा हालेको कुनै प्रमाण भेटिएको थियो त ? भन्ने प्रश्नमा अनुगमन टोलीका ती सदस्य भन्छन्, ‘बम विस्फोट भएको देखिन्थ्यो । आलमको चुनाव प्रचारमा हिँडेका दुई जना गायब भएका हुन् र परिवारले उनीहरुको विस्फोटमा मृत्यु भएको दाबी गर्दा राज्यले उनीहरु यहाँ जिवित छन् भनेर देखाउन पनि सकेन ।’

‘यस आधारमा दुई जनाको मृत्यु भएको हुनसक्छ । तर विस्फोटमा मरे कि भनिएको जस्तो घाइते भएको अवस्थामा इँटा भट्टामा हालेर मारियो भन्न गाह्रो छ’ उनले अघि भने ।

यद्यपि त्यसबेला राज्यले प्रमाणहरुको संरक्षण गर्दै अनुसन्धान थालेको भए पत्ता लगाउने सकिने उनीहरुको विश्वास छ । तर राज्यकै सहयोगमा सबै प्रमाण नष्ट भयो । अहिले पनि राज्य आफैंले यो घटनाको अनुसन्धानका लागि चासो दिएको पनि होइन ।

मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले परमादेश दिएको थियो र अझै अनुसन्धान नगरे महान्यायाधिवक्ता र प्रहरी प्रमुख नै अदालतको अवहेलना मुद्दामा पर्ने भएपछि आलमलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको त्यसबेला अनुगमनमा संलग्न एक सदस्यले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment