+
+

गरिमा भनेर नक्कली धानको बीउ बेच्नेबाट क्षतिपूर्ति भराइने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ९ गते ७:५२

९ कात्तिक, काठमाडौं । नेपालमा गरिमा भनी बिक्री गरिएको धानको बीउ नक्कली भएको पाइएको छ । नक्कली बीउ किसानलाई बिक्री गर्नेलाई सरकारले क्षतिपूर्ति भराउने भएको छ ।

विक्रम संवत् २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातका वर्णशंकर धान आयात गरेको भन्दै नेपालका विभिन्न क्षेत्रमा बिक्री वितरण गरेको थियो ।

बीउबिजन नियमावली २०५९ को दफा ३६ ले कसैले बिक्री गरेको बीउबिजनको गुणस्तर र गलत सूचनाका कारणले कसैलाई आर्थिक हानिनोक्सानी पुग्न गएको मूल्यांकन समितिले गरेको मूल्यांकन र सिफारिसका आधारमा सम्बन्धित पक्षले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । सोही दफामा बीउबिजन गुणस्तर केन्द्रका प्रमुख संयोजक हुने गरी सम्बन्धित जिल्लाका वरिष्ठ कृषि विकास अधिकृत सदस्य सचिव, नार्कका वैज्ञानिक, बीउबिजन व्यवसायीका प्रतिनिधि र सम्बन्धित नगर, गाउँका प्रतिनिधि सदस्य रहने गरी मूल्यांकन समिति गठन हुने उल्लेख छ ।

सोही समितिलाई राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्यांकन र सिफारिस एक महिनाभित्र मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले जानकारी दिए ।

सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातको भनेर ४० टन धानको बीउ आयात गर्ने अनुमति पाएको थियो । सो कम्पनीले ३४ टन मात्र भित्राएको र त्यसमध्ये २३ टन बिक्री गरेको पाइएको छ

गरिमा भनिएको धान थन्काउनु पर्ने समयमा बालासमेत नलागेपछि किसानहरु मर्कामा परेका छन् । किसानहरुको लगानीमात्र खेर गएको छैन समयमा लगाउनु पर्ने अन्य बाली पनि लगाउन पाएका छैनन् । असोज महिनासम्म पनि धान नपसाएपछि किसानहरुले काटेर फालेका छन् ।

चितवनमा लगाएको धानमा बाला नलागेको गुनासो किसानहरुबाट आएपछि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट गत असोज ६ गते चार सदस्यीय विज्ञ टोलीले केही धानखेतको स्थलगत निरीक्षण गरेको थियो । साथै नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले गरिमा भनिएको धानको नमूना संकलन गरी डिएनए परीक्षण गरेको थियो । उक्त परीक्षणमा गरिमा वर्णशंकर जातको धानसँग डिएनए रिपोर्ट मिलेको छैन ।

यसबाट गरिमा भनेर किसानलाई बिक्री वितरण गरिएको धानको नक्कली भएको पुष्टि भएको छ । त्यसैले किसानलाई क्षतिपूर्ति भराउन र गरिमा वर्णशंकर जातको धान सुचीकृत जातको सुचीबाट हटाउन नेपाल सरकारलाई सिफारिस गरिएको हो । गरिमा जातको धान २०७२ सालमा सूचिकृत भएको थियो ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाका अनुसार सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातको भनेर ४० टन धानको बीउ आयात गर्ने अनुमति पाएको थियो । सो कम्पनीले ३४ टन मात्र भित्राएको र त्यसमध्ये २३ टन बिक्री गरेको पाइएको छ ।

सामान्यतया एक हेक्टर जग्गामा १५ किलो धानको बीउ प्रयोग हुने गर्दछ । यसलाई हेर्दा एक हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिमा धान खेती भएको अनुमान छ ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका सूचना अधिकारी रमेश हुमागाईंका अनुसार सबैभन्दा बढी चितवनमा यो धान लगाइएको छ । चितवनपछि तनहुँको दमौली, नवलपरासीको देवचुली र बाँकेदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लामा यो धानको खेती किसानले गरेका छन् ।

कृषि ज्ञानकेन्द्र भरतपुर चितवनका प्रमुख राजन ढकालका अनुसार हालसम्म चितवनमा ९४० बिघामा यो धान लगाइएको अनुमान गरिएको छ । कति जग्गामा यो धानको खेती भएको छ भनेर तथ्यांक संकलन गर्ने काम जारी रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?