Comments Add Comment

मुस्लिम मन्त्रीको निधारमा दशैँ–तिहारको टीका

मिति– २०७६ कात्तिक ८ गते ।

स्थान– शहरी विकास मन्त्रालय ।

मन्त्री महम्मद इश्तियाक राई हतार मुद्रामा छन् । कामको चाङ बोकेर कर्मचारी, सांसद उनीसँग आइरहेका छन् । १२ बजिसक्यो । अझै बिहानको खाना खाइसकेका छैनन् । आजै नेपालगञ्ज पुग्नुपर्नेछ । त्यसअघि १ बजे नमाज पढ्नका लागि घण्टाघरको मस्जिद पुग्नु छ ।

मन्त्रीले कार्यकक्षमै खाना मगाए । अब खाँदै, काम गर्दै । इश्तियाकले सहयोगीलाई भने, ‘कागजपत्र लगेर गाडीमा राखिदिनू ।’

कपडाले बेरिएको कागजपत्र बोकेर सहयोगी पार्किङतर्फ लागे ।

इश्तियाक आजै घर जानुको कारण, राजनीतिक मात्र होइन । अर्को कारण हो, अर्को दिनदेखि शुरु हुँदै गरेको हिन्दुहरुको दोस्रो महान पर्व तिहार ।

तर, तिहार उनको पुर्ख्यौली चाड होइन । उनको चाड त इद उल अजहा (बकर इद) हो । यसर्थ इश्तियाक निर्वाचन क्षेत्र फर्कनुपर्ने कुनै कारण देखिँदैन ।

इश्तियाकलाई सुन्दा भने अर्कै लाग्छ । सुनौँ उनलाई, ‘पौराणिक कालदेखि हामसँग आपसी सहिष्णुताको इतिहास छ । हामी उहाँहरुको र उहाँहरु हाम्रो आस्थाका विषयमा सहभागी भएर खुशी साटासाट गर्छौँ ।’

यतिसम्म त ठीक छ । तर, मन्त्री इश्तियाकले रक्षा बन्धनमा राखी बाँध्छन् । दशैँमा निधारमा टीका र कानमा जमरा लगाएर आशिर्वाद थाप्छन् । अब तिहारमा टीका लगाउनेछन् । एउटा मुस्लिम परिवारमा जम्मिएर हिन्दूको पर्वमा यसरी उत्सव मनाउनु साँच्चिकै कठिन छ । सन्देश भने त्यत्तिकै बलियो ।

यी गतिविधिलाई इश्तियाकले धर्मभन्दा माथि राखेर हेर्छन् । उनलाई लाग्छ, एक धर्मको आस्थालाई अर्को धर्मले सम्मान गर्नुपर्छ । तर, धर्मको सम्मान भन्दै राजनीतिक आस्थाका आधारमा मुस्लिमले मन्दिरमा गएर पूजा, आरती गर्नु र हिन्दुले मदरसामा गएर नमाज पढ्नुलाई चाहिँ ढोंग ठान्छन् इश्तियाक ।

०००

इश्तियाकले टीका लगाउन थालेको आज होइन । १० वर्ष भइसक्यो । नेपालगञ्जको ओम शान्ति ब्रम्हकुमारी पुगेर माताको हातबाट टीका थाप्ने गर्छन् । मातालाई नै दिदी मान्छन् । किनकी इश्तियाककी दिदी बहिनीको पर्व होइन यो । टीका ग्रहण गर्नुलाई राजनीतिभन्दा पनि पर राखेर हेर्छन्, मन्त्री इश्तियाक ।

दशैंको टीका लगाएपछि मन्त्री राई ।

बाँके, जहाँ उनी जन्मिए । जहाँ हिन्दू र मुस्लिमको मिश्रित बसोवास छ । यसै पनि नेपाल बहुजाती, बहुभाषी र बहु धार्मिक र भौगोलिक विविधतामा फैलिएको मुलुक हो ।

इश्तियाकले चेतना खुलेपछि निरन्तर देख्दै आएको कुरा हो, चाडपर्वका बेला एकअर्का धार्मिक समुदायबीचको सौहार्दता । एक डेढ दशकअघि तराईमा दशैँलाई त्यति ठूलो पर्वका रुपमा लिइने थिएन । तर, तिहार जसलाई दिपावलीका रुपमा सबैले उत्सव मनाउँथे । उसै गरी इद, छट, फागु सेलिब्रेट गर्थे ।

तिहारका बेला हिन्दूहरुको मात्र होइन, उनका घरमा पनि गुजियो र नम्किन पाकेको याद छ इश्तियाकलाई । घरमै खुवाबाट मिठाइ तयार पार्दा उनी पनि खुब रमाएका थिए । यस्ता परिकार एक अर्काले बाँधेर खाने गर्थे । दिपावलीमा हिन्दू साथीहरुसँगै खुब रस मानी मानी पटका पड्काउँथे । देउसी खेल्थे । रमाउथे ।

‘हाम्रो इदमा उहाँहरु आएर गला मिलाउनुहुन्थ्यो, इद मुवारक भन्नुहुन्थ्यो’, इश्तियाक हतारमै सम्झना साट्छन्, ‘हिन्दुहरुको पर्वमा हामीलाई बोलाउनुुहुन्थ्यो, खुवाउनुहुन्थ्यो । हामी शुभकामना दिन्थ्यौँ ।’ यसलाई मन्त्री इश्तियाक विविधता, सहिष्णुता र एकताको प्रतीकका रुपमा हेर्छन् । ‘यो धर्मको अंगीकार होइन’, इश्तियाक भ्रम चिर्ने प्रयास गर्छन् ।

यस वर्षको तिहारमा गृहजिल्ला बाँकेमा देउसी भैलो खेल्दै मन्त्री राई ।

टीका ग्रहणपछि सामाजिक विरोधको त्यति ठूलो अनुभव छैन उनीसँग । तर, राजनीतिक प्रतिशोधका कारण उनका विरोध भने नभएका होइनन् । जब धर्मलाई राजनीतिकरण गरिन्छ, त्यहीँबाट शुरु हुन्छ समस्या । त्यहीँबाट विखण्डित हुन पुग्छ मुलुक ।

इश्तियाक समाजवादी पार्टी (संघीय समाजवादी फोरम) को राजनीतिमा छन् । यही दलबाट ३९ वर्षकै उमेरमा मन्त्रीको कुर्सीमा पुगेका छन् । यसै पनि मधेशी मुस्लिम समुदायबाट राजनीतिमा निकै कम छन् । शैक्षिक र आर्थिक रुपमा पछाडि छन् ।

०००

विश्वमा धर्मकै नाममा ठूला–ठूला लडाइँ भएका छन् । धार्मिक कट्टरताले लडाकु सेना खडा भएका छन् । बम पड्किरहेका छन् । चर्च, मस्जिदमा आत्मघाती हमलाका खबर आइरहन्छन् । तर, मन्त्री इश्तियाकले भने सौहार्दताको सन्देश दिइरहेका छन् । अझ यसो भनौँ नेपालले नै विश्वमा सहिष्णुताको सन्देश दिएको छ ।

हामीसँग मुक्तिनाथ जस्तो मन्दिर छ, जहाँ हिन्दु र बौद्ध धर्मावलाम्वीले एक साथ पूजा गर्छन् । ‘तिहारको टीका लगाउँदैमा मुस्लिम हिन्दु हुँदैन । यो त नियतमा भर पर्ने कुरा हो । एउटी दिदी बहिनीले कसैलाई सम्मान स्वरुप टीका लगाउन आग्रह गर्छ भने ग्रहण गर्नु सम्मान हो’, मन्त्री इश्तियाकको तर्क छ, ‘यसलाई धार्मिक विधिअनुसार आत्मसाथ गर्नुभयो भने हाम्रो कानूनले बर्जित गरेको छ, त्यसलाई धर्म परिवर्तन मानिन्छ ।’

यति बोलेपछि मन्त्री इश्तियाक नमाज पढ्न हिँडे ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment