Comments Add Comment

प्रचण्डसँग दूरी बढेको छैन, तपाईंको गणित मिलेन : प्रधानमन्त्री ओली

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आएका छन् । तर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले भने त्यसलाई अस्वीकार गरे ।

असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीमा दुई अध्यक्षबीच दूरी बढेको हो भन्ने प्रश्न सोधिएको थियो । जवाफमा उनले भने, ‘रमाइलो कुरा गर्नुभयो । काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो ।’

यो भन्दाबाहेक दूरी नबढेको भन्दै उनले अघि भने, तपाईहरुको गणित मिलेन । दूरीको अवस्था पनि छैन, सम्भावना पनि छैन ।’

प्रचण्डले आफूलाई मदन भण्डारीसँग तुलना गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले प्रचण्डले के भन्नुभयो भन्ने आफूले नसुनेको बताए । उनले भने, ‘मदन भण्डारीको विचारलाई लिएर सम्मानपूर्वक पार्टीलाई अगाडि बढाउन चाहन्छु भन्नुभएको होला ।’

यसअघि शुक्रबार मोरङमा भएको एक कार्यक्रममा नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफूलाई मदन भण्डारीसँग तुलना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment